सर्वकालिन ऐना

राजनीतिमा राजेश्वर देवकोटालाई सफल मान्ने धेरै नहोलान् । तर, उनी सिद्धहस्त साहित्यकार हुन् भन्नेमा विमति राख्ने सायदै कोही होलान् † उत्सर्ग, आवर्तनजस्ता कालजयी साहित्यिक कृतिमार्फत पुरस्कार र लोकप्रियता आर्जन गरेका उनी जीवनको उत्तराद्र्धमा ‘महाराजको भूत’ नामक उपन्यासका साथ प्रकट भएका छन् ।
‘महाराजको भूत’ उपन्यास हो भनेर किताबमा कहीँ लेखिएको छैन । देवकोटा स्वयंले यसलाई ‘कथा यात्रा’ को संज्ञा दिएका छन् । तर, किताबमा वर्णित घटनाको बुनोट कला, पात्र चयन र आख्यानले ओगटेको समयको विराटताका आधारमा यसलाई कसैले उपन्यास भन्छ भने यसमा आपत्ति जनाउनुपर्ने कारण देखिँदैन । देवकोटाको राजनीतिक विचार ‘प्रतिगममुखी’ भएको चर्चा बजारमा सुनिन्छ । कथावस्तु चयन गर्ने उनको शैली पनि बजारी हल्लासँग मेल खाने खालकै छ । ०७ सालको क्रान्ति पूर्वको सामन्ती राणाशासनकालीन समयमा काठमाडौंका ठहिँटी, इन्द्रचोक, ठमेल लगायतका स्थानको जनजीवनलाई उपन्यासमा उतारेर उनले अतितर्फको मोहलाई प्रस्ट्याएका छन् । तर, कथाको धागो शान्ति प्रक्रियाको आरम्भसँगै माओवादीको मूलप्रवाहीकरणसम्म जोडिएको प्रसंगले भने अतीत र वर्तमान दुबैप्रति उनले न्याय गरेको ठहरिएको छ । किताबको प्रकाशकीयमा उल्लेख गरिएको ‘नियालेर हेर्नेले आफ्नो र आफ्नो कालको अनुहार देख्न सकोस्’ वाक्यांशले किताबका विषयवस्तुलाई सारांशमा अभिव्यक्त गर्ने जमर्को गरेको छ ।
टुहुरी बूढीकन्या भतिजीको सम्पत्ति हडप्ने काकाको कुटिल योजनालाई विफल तुल्याउँदै भतिजी (शान्ति)ले सन्ते नामको पठ्ठोसँग विवाह गरेपछि काकाले यसविरूद्ध षड्यन्त्र गरेको प्रसंगलाई उपन्यासको आरम्भमा उठान गरिएको छ । काकाको षड्यन्त्र निष्फल तुल्याउन छरछिमेकले खेलेको भूमिका संगठित बन्दै जाँदा यसले राणाहरूको जहानियाँ शासनलाई चुनौति दिन पुग्छ । काठमाडौंका रैथानेको ‘राज्यद्रोह’ले ‘व्यास्टाइ फल’ को पुनरावृत्ति गराउने किताबको प्रसंगले तात्कालीन राणा शासकहरू फ्रान्सेली क्रान्तिकारीको हातबाट राजारानीको टाउका काटिएको प्रसंगबारे जानकार रहेको र यसबाट भयभीत भएको बुझ्न सकिन्छ ।
राणाहरूको पतन, १७ साल, ४६ साल हुँदै दोस्रो जनआन्दोलनपछि नेपाली समाजमा छाएको माओवादको राप र ताप ‘महाराजको भूत’
(सामन्तवादको अवशेष) बाट कसरी धमिलिन्छ र माओवादीको वर्गोन्नति हुँदै कम्युनिस्ट आदर्शको भ्रष्टीकरण कसरी हुन्छ भन्ने किताबमा देखाइएको छ । कम्युनिस्टहरू आरम्भमा सामन्तहरूको ‘मेहमान’ भएर न्यानो ‘मेहमानी’मा रत्तिन थालेपछि कम्युनिस्टसँग झुट र आडम्बर मात्रै बाँकी रहन्छ, सिद्धान्त होइन । ‘महाराजको भूत’ले समाजको यही ‘अकाट्य’ सत्यलाई उजिल्याएको छ । भूतले आफ्नी छोरी र बहिनीलाई वृत्तासुर र ऊजस्ता तथाकथित कम्युनिस्टको सिद्धान्त भंग गर्न प्रयोग गर्छ । कम्युनिस्टको आडम्बर, ढोंग, सिद्धान्तको आवरणमा उनीहरूले मच्चाउने लुट र अपराधलाई किताबमा बडो कलात्मक पारामा अभिव्यक्त गरिएको छ । ‘हजुर पहिले नेपाली, पछि कम्युनिस्ट कि पहिले कम्युनिस्ट पछि नेपाली ?’ भनी एक खुंखार क्रान्तिकारी नेतासँग प्रश्न सोधिँदा उनले ‘यो त हाम्रो पार्टीमा छलफल भएकै रहेनछ,’ भन्दै अनभिज्ञता प्रकट गरेको प्रसंगले कम्युनिस्टको सैद्धान्तिक जडता र वैद्धिक खोक्रोपनलाई उदांगो पारिदिएको छ ।
‘ऊ किञ्चित् दिग्विजयबाट फर्केकी जस्ती अनुहारमा गर्वधारण गरेकी, किञ्चित् नवविवाहिता दुलही जस्ती लजावती,’ यस्ता वाक्यांश राखेर देवकोटाले आफूलाई सौन्दर्यको पारखी देखाउन खोजेका छन् । देवकोटाको दर्शनप्रेम पनि ‘महाराजको भूत’ मा पोखिएको छ– ‘व्यथा कसले बताइरहनु पर्छ, सबै त अनुहारमा नै झल्किन्छ’, ‘मान्छे के ढुंगाको मुर्ति हो ? मान्छे बदलिरहन्छ’, ‘बेलाबेला सपना नदेखे त्यसले (मान्छेले) विपना भोग्न सक्दैन’, आदि वाक्यमार्फत । ‘यहाँ नेवार कहाँ छ ? त्यो तेल बेच्ने खोकनाको मानन्धर हो, त्यो कपडा तन्काई गज नाप्ने श्रेष्ठ हो । त्यो तमाखुले खोक्दै सुन बेच्ने बाँडा हो । टाउकामा चाँद टल्काई हिँड्ने प्रधान हो,’ यस्तो प्रसंग कोट्याएर देवकोटाले उपत्यकाको नेवारी समाजको जटिल संरचना र यहाँको ‘सोसल स्ट्राटिफिकेशन’लाई बुझाउन खोजेका छन् । काठमाडौं खाल्डोमा बजारको तीव्र अतिक्रमण र यसले काठमाडौंबासीको जीवनमा ल्याएको कायापलट, इन्द्रचोकमा महाजनहरूको उदयले ठमेल र ठहिँटीका सागपसलको अस्तित्वमाथि बोलेको धावा, ‘महाराजको भूत’ (सामन्त) र कम्युनिस्ट नेता (क्रान्तिकारी) सँग महाजनहरूले राखेको गुप्त सम्बन्ध आदिलाई पनि किताबमा समेटिएको छ । सञ्चारमाध्यममा ‘सिन्डिकेट प्रथा’ लागू गरी ठूला भइटोपलेका अहिलेका चलनचल्तीका साहित्यकारका रचनाभन्दा देवकोटाको ‘महाराजको भूत’ हरहिसाबले अब्बल छ । कथावस्तुको चयन, प्रस्तुति र विचार– यी तीनै पक्षमा सबल देखिएको ‘महाराजको भूत’ नवपाठकका लागि भन्दा पढ्ने बानी परेका पाठकका लागि बढी रुचिकर हुनसक्छ । किताब खरिद गर्न चाहनेले यसपट्टि ध्यान पुर्‍याउँनु वाञ्छनीय हुन्छ ।
ककक

प्रतिक्रिया