वीरगन्ज, १२ साउन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकले संस्थापक अध्यक्ष जयप्रकाश प्रसाद गुप्तासित पार्टीको सम्बन्ध नरहेको घोषणा गरेको छ । वीरगन्जमा दुई दिनसम्म चलेको फोरम गणतान्त्रिकको विस्तारित बैठकले गुप्ताले नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएकाले उनीसित पार्टीको सम्बन्ध नराख्ने निर्णय गरेको हो । विस्तारित बैठकको निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष राजकिशोर यादवले ‘गुप्ताले नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएकाले सम्बन्ध नराख्ने निर्णय गरिएको हो ।’
गुप्ताले नन्दनकुमार दत्त नेतृत्वको कार्यसमितिलाई साथ दिएपछि यादव गुप्तासँग चिढिएका हुन् । पार्टीमा एकलौटी गरेको भन्दै केही दिनअघि दत्तसहितका बहुमत केन्द्रीय सदस्यले यादवलाई कार्यवाहक अध्यक्षबाट निष्कासन गरेका थिए । त्यो निर्णयमा हाल भ्रष्टाचार मुद्दामा जेलमा रहेका गुप्ताले पनि साथ दिएका थिए । पत्रकार सम्मेलनमा यादवले पाँचबुँदे वीरगन्ज घोषणापत्र जारी गर्दै बैठक सकिएको जानकारीसमेत दिएका थिए ।
विस्तारित बैठकले तत्कालीन महासचिव आत्माराम प्रसाद साह, केन्द्रीय सदस्य नन्दनकुमार दत्त, सुरिताकुमारी साह र राजीव झालाई पार्टीबाट निष्कासन गर्ने निर्णय पनि अनुमोदन गरेको छ । ‘बैठकले नन्दनकुमार, आत्माराम, सुरिताकुमारी र राजीवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको छ,’ पत्रकार सम्मेलनमा यादवले भने, ‘उनीहरूलाई पार्टीको राष्ट्रिय महाधिवेशनमा उजुर गर्न मौका दिइनेछ ।’
बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध नरहेका मधेसवादी पार्टीलाई मोर्चामा सहभागी गराएर आगामी संविधानसभाको चुनावमा सामूहिक रूपमा जाने निर्णय गरेको छ । मधेसको मुद्दामा कुनै किसिमको गलत सम्झौता गरेर पार्टी सत्तामा नबस्ने निर्णय पनि बैठकले गरेको छ । एकदिने केन्द्रीय कार्यसमिति बैठक र त्यसलत्तगै दुई दिनसम्म चलेको विस्तारित बैठकमा सहभागी अधिकांश कार्यकर्ताले धारणा व्यक्त गर्ने क्रममा मधेसका मुद्दालाई ओझेलमा पार्दै पार्टी नेतृत्व सत्तामोहमा फसेको आरोप लगाएका थिए ।
बैठकले राजनीतिक शक्तिबीच सहमतिको विकल्प नरहे पनि सत्तालाई सर्त बनाउनु नहुनेमा जोड दिएको छ । दुईदिने विस्तारित बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, अनुशासन समिति, केन्द्रीय सल्लाहकार समिति तथा विभिन्न १७ जिल्लाका अध्यक्ष, पदाधिकारी, जिल्ला प्रतिनिधि र भ्रातृसंगठन प्रतिनिधि सहभागी थिए । विस्तारित बैठकपछि फोरम गणतान्त्रिकले बिहीबार साँझ होटल मकालुमा रात्रिभोज आयोजना गरेको थियो ।
यता, पार्टीका महासचिव आत्माराम प्रसाद साहले यादवले वीरगन्जमा गराएको विस्तारित बैठक अवैधानिक रहेको बताएका छन् । बिहीबार सौर्यसँग उनले पार्टीको विधानमै विस्तारित बैठकको प्रावधान नरहेको जिकिर गरे । ‘विस्तारित बैठक बोलाउने प्रावधान पार्टीको विधानमै छैन,’ साहले भने, ‘यादवले बोलाएको कथित विस्तारित बैठकले गरेका निर्णयको कुनै तुक छैन, ती सबै अवैधानिक निर्णय हुन् ।’
‘राजनीतिक दलसम्बन्धी ऐन–०५८ अनुसार कुनै पनि अभियोगमा दुई वर्ष वा सोभन्दा बढी कैद सजाय पाएको व्यक्ति कुनै पनि दलको सदस्य बन्न वञ्चित गरिएको छ,’ साहले भने, ‘तर अध्यक्ष गुप्ताले डेढ वर्ष मात्र कैद सजाय पाएकाले उहाँलाई हटाउने निर्णय कानुनको बर्खिलापमा छ ।’
पार्टीमा एकलौटी गरेको भन्दै १२ असारमा महासचिव आत्माराम प्रसाद साह, नन्दनकुमार दत्तसहित बहुमत केन्द्रीय सदस्यले यादवलाई कार्यवाहक अध्यक्षबाट निष्कासन गरेका थिए । महासचिव साहले २४ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १४ जना आफूतिर र नौ मात्रै यादवतिर रहेको जिकिर गरे । फोरम गणतान्त्रिकको पार्टी कार्यालय बिहीबारदेखि नयाँ बानेश्वरको बिजुलीबजारनजिकै सारिएको साहले बताए ।
प्रतिक्रिया