अखिल क्रान्तिकारी र नेविसंघवीच झडप

काठमाडौं, १० साउन । भक्तपुरको सानो ठिमीस्थित शिक्षा क्याम्पसमा आज एमाओवादी समर्थक अनेरास्ववियु क्रान्तिकारी र नेविसंघका कार्यकर्तावीच झडप भएको छ ।
झडपमा नेविसंघका आधा दर्जन कार्यकर्ता घाईते भएका छन् । घाईते हुनेमा नेविसंघका एञ्जल कार्की, सन्तोष बस्नेत, साजन श्रेष्ठ, सचिन श्रेष्ठ, रामचन्द्र खत्री, शिव श्रेष्ठलगायत घाईते भएका छन् ।
नेविसंघले क्याम्पसमा भएको अनियमितताको विरोध गर्ने क्रममा अखिल क्रान्तिकारीका समर्थकले आक्रमण गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । आफ्ना कार्यकर्ता माथि आक्रमण हुँदा नजिकै रहेको प्रहरीले बचाउ कुनै हस्तक्षेप नगरेको नेविसंघले आरोप लगाएको छ ।
अखिल क्रान्तिकारीले नेविसंघका कार्यकर्ताबाट आफूहरु माथि पनि आक्रमण गरेको दाबी गरेको छ ।
अखिल क्रान्तिकारीको आक्रमणको विरोधमा नेविसंघले बिहीबार ठिमीमा एक घण्टा चक्का जाम समेत गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया