सिडिओले गैरकानुनी रूपमा कर संकलन रोके

वीरगन्ज, १० साउन । पर्साका सिडिओ शम्भु कोइरालाले वीरगन्ज उपमहानगरपालिका कार्यालयको पटके सवारी कर संकलनमा रोक लगाएका छन् ।

सिडिओ कोइरालाको मौखिक निर्देशनमा आइतबारदेखि सशस्त्र प्रहरीले कर संकलनमा रोक लगाएको हो । सिडिओ कोइरालाले वीरगन्ज भन्सार क्षेत्रमा रहेको शंकराचार्य प्रवेशद्वार र गण्डक चोकबाट भइरहेको कर संकलनमा रोक लगाएका छन् । सशस्त्र प्रहरीका डिएसपी राजेन्द्र थापाले आइतबार बिहान शंकराचार्य प्रवेशद्वारमा पुगेर सिडिओको आदेश भन्दै ठेकेदारका कर्मचारीलाई सवारी कर असुल्न रोक लगाएका थिए ।
तीन दिनदेखि कर संकलन नहुँदा झन्डै पाँच लाख रुपियाँ बराबरको नोक्सानी भएको कर संकलनको ठेक्का पाएका सुशीलकुमार साहले बताए । वीरगन्ज उपमहानगरपालिका कार्यालयले ३१ असारमा आर्थिक वर्ष ०६९/०७० का लागि तीन करोड २५ लाख ५१ रुपियाँमा सवारी कर संकलनको ठेक्का लगाएको थियो । वीरगन्ज भन्सार क्षेत्र निषेधित क्षेत्र भएकाले कर संकलनमा रोक लगाइएको सिडिओ कोइरालाको भनाइ उद्धृत गर्दै प्रशासन स्रोतले बतायो । तर, सिडिओ कोइरालाले औपचारिक रूपमा कर संकलन रोक्नुको कारण बताएका छैनन् ।
१४ जेठअघि भएको आन्दोलनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगन्ज भन्सार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । तर, सवारी करको ठेक्का सकारेका ठेकेदार साहले भने सिडिओले नियमविपरीत कर संकलनमा रोक लगाएको जिकिर गरे । ठेक्कामा साझेदार रहेका अर्का एकले प्रशासनले पैसा खानका लागि सिडिओले बाहना बनाएको बताए ।
‘असुरक्षा र निषेधित क्षेत्र बहानामा मात्र हुन्,’ उनले थपे, ‘ठेकेदारबाट पैसा झार्नका लागि सिडिओ साहेबले तिकडमबाजी गरेका हुन् ।’ उपमहानगरपालिका कार्यालयले शंकराचार्य प्रवेशद्वार, गण्डक चोकसहित नगरका विभिन्न आठ ठाउँमा पटके सवारी कर संकलनका लागि इजाजत दिएको थियो । ‘सबैभन्दा बढी कर उठ्ने शंकराचार्य प्रवेशद्वार र गण्डक चोक नै हुन्,’ ठेकेदार साहले भने, ‘त्यही ठाउँमा कर संकलनमा रोक लगाइएपछि लगानी नै डुब्ने खतरा छ ।’ उनका अनुसार शंकराचार्य प्रवेशद्वार क्षेत्रबाट दैनिक ९५ हजार रुपियाँ र गण्डक चोकबाट ३५ हजार रुपियाँ कर संकलन हुने गरेको छ ।
उपमहानगरपालिका कार्यालयले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको टोली गठन गरेर स्थलगत निरीक्षण गरेपछि सवारी कर असुलीका लागि शंकराचार्य प्रवेशद्वार र गण्डक चोकलाई समेत समेटेर चालु आर्थिक वर्षका लागि ठेक्का लगाएको थियो । ठेक्का स्वीकृत भएपछि उपमहानगरपालिका कार्यालयले ३१ असारकै दिन यसको लिखित जानकारी पनि प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई गराएको थियो । ‘१ साउनदेखि नै सुरु भएको कर संकलनमा सात दिनसम्म कुनै अवरोध भएन,’ ठेकेदार साहले भने, ‘एकाएक असुरक्षाको कारण देखाएर अत्तो थाप्दा कतै पैसाकै लागि नै हो कि भन्ने शंका लाग्न थालेको छ ।’ उपमहानगरपालिका कार्यालयले स्थानीय स्वायत्त शासन ऐन– ०२५ को परिच्छेद ८ दफा १३९ र १४४ अनुसार पटके सवारी कर संकलनको ठेक्का लगाएको हो ।
‘कानुनअनुसार नै ठेक्का लगाइएको हो,’ वीरगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शान्तबहादुर बस्नेतले भने, ‘सिडिओ कार्यालयबाट रोक लगाइएको गुनासो ठेकेदारले गरेका छन्, हामी सिडिओसँग छलफल गर्ने प्रयासमा छौँ ।’ उनले स्थानीय प्रशासनकै सहमतिमा कर संकलनको ठेक्का लगाएको जिकिर गरे । आइतबारदेखि कर संकलनमा रोक लगाइएपछि ठेकेदार साहसहितका युवाले सोमबार उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत बस्नेत र राजस्व अधिकृत शम्भु गुप्तालाई कार्यकक्षमै घेराउ गरेका थिए । ठेकेदार समूहले घेराउ गरेपछि निमित्त कार्यकारी अधिकृत बस्नेतले सिडिओ कोइरालासँग छलफल गर्ने बताएका थिए ।
छलफलका लागि सिडिओ कोइरालाले सोमबार साँझ बस्नेत, राजस्व अधिकृत गुप्ता र ठेकेदार समूहलाई सरकारी निवासमा बोलाए पनि उनीहरू पुग्दा सिडिओ नभेटिएको ठेकेदार साहले बताए । ‘अब हामी सिडिओकहाँ जान्नौँ,’ ठेकेदार साहले भने, ‘हामीलाई ठेक्का दिएको नगरपालिकाले हो, नगरपालिकाका हाकिमले नै मुद्दा टुंगो लगाउँछन् ।’
पछिल्लोपटक पर्साका सिडिओ कोइराला सञ्चारसँग सम्पर्क विच्छेद गरेर बसेका छन् । कार्यकक्षमै भेट्न जाँदा पनि उनले सञ्चारकर्मीसँग भेट्न मानेनन् ।

प्रतिक्रिया