एन्टिगुआ, ९ साउन । वेस्ट इन्डिजका महान् क्रिकेटर क्रिस गेल करिब १८ महिनापछि टेस्ट क्रिकेटमा फर्किएका छन् । न्युजिल्यान्डविरुद्ध हुन लागेको शृंखलाको पहिलो म्याचका लागि गेल टोलीमा समावेश भएका हुन् । सन ०१० को डिसेम्बरमा श्रीलंकाविरुद्ध खेलेयता गेल टेस्ट म्याच खेलेका छैनन् ।
वेस्ट इन्डिज क्रिकेट बोर्डसँगको झगडाका कारण एक वर्षभन्दा वढी समय अन्तर्राष्ट्रिय क्रिकेटबाट बेपत्ता भएका गेल केही समय अघि इंग्ल्यान्डविरुद्ध एकदिवशीय शंखला खेल्दै राष्ट्रिय टोलीमा फिर्ता भएका थिए ।
गेलको आगमनले टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको प्रर्दशन सुधार हुने अनुमान गरिएको छ । उनको स्तरीय प्रर्दशनपछि वेस्ट इन्डिज भर्खरै न्युजिल्यान्डविरुद्ध एकदिवशीय म्याचको शृंखला जित्न सफल भएको थियो । चोटका कारण केही समय टिमबाहिर रहेका शिवनारायण चन्द्रपल पनि सोमवार घोषित १३ सदस्यीय टोलीमा समावेश भए । इंग्ल्यान्डविरुद्ध केही समयअघि भएको टेस्ट शृंखलाको अन्तिम म्याचमा घाइते भएपछि चन्द्रपल त्यसयता टिमबाहिर रहेका थिए ।
गत वर्ष टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका तर्फबाट दोस्रो सर्वाधिक रन जोड्ने खेलाडीका रूपमा सूचीबद्ध अलराउन्डर ड्वायन ब्राभो पनि टिममा स्थान बनाउन असफल भए । पछिल्ला पाँच टेस्ट म्याचमा अर्धशतकसमेत बनाउन नसकेका ड्वायन यसै कारण टोलीमा नरहेका हुन् । उनले अन्तिमपटक अर्धशतक गत अप्रिलमा अस्ट्रेलियाविरुद्ध खेलिएको टेस्ट शृंखलामा बनाएका थिए ।
पछिल्लोपटक इंग्ल्यान्डविरुद्ध भएको टेस्ट शृंखलाको अन्तिम म्याचबाट टेस्ट डेब्यु गरेका असद फुदादिन टोलीमा समावेश भएपछि तीव्र गतिका बलर फिडेल एड्वाडर्सले स्थान बनाउन सकेनन् । स्पिन स्पेस्लिस्टका रूपमा सुनिल नारायन मात्र वेस्ट इन्डिज टोलीमा रहेका छन् । न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच बुधबारदेखि सुरु हुने टेस्ट शृंखला दुई म्याचको हुने छ । एजेन्सी
प्रतिक्रिया