काठमाडौं, ८ साउन । अर्घाखाँची र झापामा भएका दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । बुटवलबाट अर्घाखाँचीको सन्धिखर्क गइरहेको फोर्स गाडी अर्घाखाँचीको नरेपानी–५, दहखोलामा आइतबार साँझ सडकबाट ५० मिटर तल खस्दा १५ जनाको मृत्यु भएको छ ।
बुटवलबाट सन्धिखर्कका २० जना यात्रु लिएर छुटेको बा २ च ७९४८ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परेकामध्ये १४ को घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका पाँचलाई थप उपचारका लागि बुटवल ल्याइएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा गाडीधनी अर्घाखाँची, बाँगीका नारायणप्रसाद पन्थी, गुल्मीका मेघराज खनाल, वाङ्लाकी सीता बस्नेत, चालक राजेन्द्र चौधरी र कपिलवस्तुका कृष्ण चौधरीको मात्र परिचय खुलेको छ । मृत्यु हुनेमा ६ महिला र नौ पुरुष छन् भने घाइतेमध्ये दुई बालबालिका छन् । घुम्तीमा तथा चिप्लो बाटो भएका कारण गाडी दुर्घटना भएको प्रहरीको प्रारम्भिक भनाइ छ । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।
यस्तै, झापाको घैलाडुब्बा, लक्ष्मीपुरमा मलामी सवार बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । स्थानीय कुलडा राजवंशीको मलामी गएर फर्कँदै गरेका निर्मल राजवंशी, धर्म चौधरी, बिरु राजवंशी र बरुवा राजवंशीको मृत्यु भएको हो । उनीहरू को १ ख ८९२ नम्बरको बसमा सवार थिए । दुर्घटनामा घाइते भएका १८ जनाको बिर्तामोडस्थित कन्काई अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया