गणेशमान स्मृति बास्केटबल

काठमाडौं : नेपाल विद्यार्थी संघ, काठमाडौं जिल्ला क्षेत्र नं. ४ को आयोजनामा शनिबार सुरु भएको प्रथम वीर गणेशमान स्मृति अन्तरकलेज (प्लस २) बास्केटबल प्रतियोगितामा काठमाडौं युनिफाइड कलेज र निम्सले जित हात पारेका छन् । गल्फुटारस्थित कोर्टमा भएको पहिलो खेलमा युनिफाइडले साइपाल एकेडेमीलाई ३५–२७ ले पराजित गर्‍यो । विजयी टिमका सुशान्त गुरुङले १२ तथा साइपालका कृशव गुरुङले ८ अंक जोडे । तेस्रो क्वार्टरमा ४–५ को झिनो अन्तरले पछि परेको युनिफाइड अन्त्यमा भने अगाडि रह्यो । उसले पहिलोमा ९–५, दोस्रोमा १०–६ तथा चौथोमा १२–११ अंक जोड्यो ।
निम्सले टेक्सासको चुनौती ४१–२५ ले पन्छायो । निम्सको जितमा जीवन भट्टराईले १८ अंक योगदान गरे । सुरुको क्वार्टरमा निम्स ५–९ ले पछि पर्‍यो । त्यसपछिको खेलमा फर्केको निम्सले दोस्रोमा ७–४, तेस्रोमा १८–५ र चौथोमा ११–७ को अग्रता लिँदै जित हासिल गर्‍यो ।
शनिबारै भएको अन्य खेलमा टिआइएले पनि सफलता पायो । टिआइएले रेडनमाथि ३४–२९ को जित निकाल्यो । पहिलो क्वार्टरमा टिआइएले १०–७ को अग्रता लियो । दोस्रोमा रेडनले १३–४ को अग्रता लिँदै मध्यान्तरसम्म समग्रमा ६ अंकले अगाडि रह्यो । तेस्रो क्वार्टर टिआइएले १२–५ ले कब्जा गर्दै खेल आºनो पक्षमा २६–२५ को स्थितिमा पुर्‍यायो । चौथो एवं निर्णायक क्वार्टरमा ८–४ को प्रदर्शन गर्दै टिआइएले जित सुनिश्चित गर्‍यो । टिआइएका प्रकाश सिग्देलले ८ अंक जोडे । नेसनलले सेन्ट लरेन्सबाट वाक ओभर पाएर अगाडि बढ्ने अवसर पाएको छ । (सौस)

प्रतिक्रिया