काठमाडौं, ७ साउन । राजनीतिक भागबन्डा नमिल्दा त्रिभुवन विश्वविद्यालयमा परीक्षा सहनियन्त्रकको नियुक्तिले अझै पूर्णता पाउन सकेको छैन । भागबन्डा नमिलेपछि लामो समयसम्म खाली भएका पाँच सहनियन्त्रकमा बल्लतल्ल केही दिनअघि दुईजनाले मात्र नियुक्ति पाएका छन् । राजनीतिक दलबीच र दलभित्रकै गुटबीचमै विवाद हुँदा लाखाँै विद्यार्थीसँग सरोकार राख्ने परीक्षा सहनियन्त्रक पदमा नियुक्ति हुन नसकेको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)अन्तर्गत करिब दुई महिनादेखि सहनियन्त्रकका पाँच पद खाली थिए । बल्लतल्ल केही दिनअघि मात्र महेन्द्र शर्मा र दावा शेर्पा दुईजनालाई केन्द्रका लागि सहनियन्त्रक नियुक्त गरिएको छ । क्षेत्रीय कार्यालयमा रहने तीन सहनियन्त्रकको पद भने खाली नै छ । शर्माले एमाओवादी र शेर्पाले एमालेका तर्फबाट नियुक्ति पाएका हुन् । कांग्रेसका तर्फबाट भने कसैले पनि अवसर पाएका छैनन् । सुदूरपश्चिम क्षेत्रका परीक्षा सहनियन्त्रक केन्द्रीय कार्यालय बल्खुमा बसेर तलब–भत्ता पचाइरहेका छन् ।
पनिका केन्द्रमा तीन र क्षेत्रीय कार्यालयमा एक/एक गरी आठ सहनियन्त्रकको दरबन्दी छ । सुदूरपश्चिमाञ्चलको कोटाका कृष्ण आचार्य केन्द्रीय कार्यालयमै छन् । उनीसहित केन्द्रमा परीक्षा सहनियन्त्रकको संख्या अहिले चार पुगेको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्जमा परीक्षा सहनियन्त्रक नियुक्ति हुन सकेका छैनन् ।
लामो समयसम्म परीक्षा सहनियन्त्रक नियुक्तिमा त्रिविका पदाधिकारी गम्भीर नभएको भन्दै कर्मचारीले असन्तुष्टिसमेत जनाउन थालेका छन् । ‘काम छिटोछरितो ढंगले गर्न क्षेत्रीय कार्यालय स्थापना गरिए तर पदाधिकारी अपांग गराउन खोज्दै छन्,’ एक कर्मचारी भने, ‘दलहरूबीच तथा एउटा दलभित्रै पनि धेरै ‘इन्ट्रेस्ट’ भएका कारण सहनियन्त्रक नियुक्तिमा विवाद हुने गरेको छ ।’
यसअघि सुदूरपश्चिमबाहेक अरू क्षेत्रीय कार्यालयमा परीक्षा सहनियन्त्रक राखेर काम सञ्चालन भएको थियो । क्षेत्रीय कार्यालयबाट परीक्षा फारम वितरण, उत्तरपुस्तिका वितरण तथा जम्मा पार्ने, रजिस्ट्रेसन भर्नेजस्ता काम हुँदै आएका छन् । गत जेठ पहिलो सातादेखि भने क्षेत्रीय परीक्षा सहनियन्त्रक रिक्त हुँदा समस्या आएको छ ।
त्रिविका रजिस्ट्रार डा. चन्द्रमणि पौडेलले केही दिनअघि दुईजना सहनियन्त्रक नियुक्त भएको र क्षेत्रीय कार्यालयमा तीन पद खाली रहेको बताए । उनले क्षेत्रमा पनि नियुक्ति प्रक्रियामा रहेको र केही दिनमा नियुक्ति गर्न सकिने बताए । सहनियन्त्रक नियुक्तिमा राजनीतिक भागबन्डामा विवाद भएको भन्ने जिज्ञासामा उनले भने, ‘हिजोआज जे भए पनि भागबन्डा भन्ने चलन छ, ठ्याक्कै भागबन्डाको समस्या होइन, केही समस्या छ ।’
प्रतिक्रिया