काठमाडौं, ५ साउन । पुल्चोकस्थित सुमेरू सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ललितपुरको धापाखेलमा ‘सदस्यता सेवा केन्द्र’ स्थापना गरेको छ । बिहीबार १४ औँ वर्ष प्रवेश अवसर संस्थाले सेवा केन्द्र उद्घाटनका साथै रक्तदान कार्यक्रम आयोजना गर्यो ।
सदस्यको सुविधाका लागि काउन्टरबाट बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म र तीन सय ६५ दिनै सेवा दिने संस्थाले जनाएको छ । सेवा केन्द्रको उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीलाई प्रयोग गरेर नाफा कमाउने नभई सेवा दिने रहेको बताए । सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार अघि बढाए मात्र सफल हुने दाबी गरे । ‘सहकारीमा तरलता धेरै रहेको छ,’ बडालल भने, ‘यसलाई कम गर्न सदस्य उद्यमशील हुनपर्छ ।’ उनले नयाँ क्षेत्रमा अनुसन्धान गरी लगानी गर्नुपर्ने बताए । सहकारी गाउँगाउँ गएर सेवा दिनुपर्ने सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले बताए । सहकारीको बदनाम सहकारी क्षेत्रमै लागेका मानिसले गर्ने गरेकाले यसलाई हटाउनु पर्ने धारणा व्यक्त गरे ।
संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा तीन सयभन्दा बढीले रक्तदान गरेको थियो । संस्थाले सन्ध्याकालीन काउन्टरसहित तीन सय ६५ दिने सेवा, पाँच लाखभन्दा बढी रकम घरैबाट राख्न र झिक्न सकिने, सुमेरू हस्पिटलको नि:शुल्क डिस्काउन्ट कार्ड, मुद्दती बचत कर्तालाई दुर्घटना बिमालगायतका सेवा दिइरहेको अध्यक्ष भरत महर्जनले बताए ।
सुमेरूले आफ्नो कार्यक्षेत्रका एकल महिला तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई पाँच सय रुपियाँ भत्ता, ललितपुर जिल्लाभरिबाट एसएलसीमा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति, नि:शुल्क एम्बुलेन्स सेवा स्थापना समयदेखि नै प्रदान गर्दै आएको महर्जनले बताए ।
प्रतिक्रिया