काठमाडौं, ४ साउन । पूर्वलडाकुले शिविरबाट उठाइएको रकमको हिसाबकिताब खोजेपछि बुधबार एमाओवादीको सातौँ विस्तारित बैठक अवरुद्ध भएको छ । पूर्वलडाकुहरू बैठकस्थलमै नाराबाजीमा उत्रिएपछि बुधबार दिउँसो बस्नुपर्ने बैठक बिहीबारसम्मका लागि स्थगन हुन
पुगेको हो ।
पूर्वलडाकु र वाइसिएल प्रतिनिधिले शिविरभित्रको आर्थिक हिसाब पारदर्शी हुनुपर्ने, आर्थिक अनियमितताका दोषीलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने, घाइते अपांगका लागि आजीवन निर्वाह भत्ताको व्यवस्था हुनुपर्नेलगायत माग राखी नाराबाजी गरेका थिए । उनीहरूले आर्थिक अनियमितता छानबिन गरेर दोषीमाथि कारबाही नभएसम्म र अध्यक्ष पुष्पकमल दाहालले कमजोरी स्वीकार गरी मागको सम्बोधन नगरेसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
पार्टीले प्रत्येक शिविरका लडाकुबाट मासिक हजार रुपैयाँका दरले उठाएको थियो । यसरी उठाइएको करोडौँ रकम पार्टी हेडक्वार्टरको मिलेमतोमा कमान्डरहरूले हिनामिना गरेको आरोप उनीहरूले लगाएका छन् । उनीहरूले यसअघि पनि हिसाब–किताब देखाउन माग गर्दै शिविरमा आन्दोलन नै गरेका थिए । पार्टी नेतृत्वसित पनि उनीहरूले हिसाब सार्वजनिक माग गर्दै आएका थिए ।
विस्तारित बैठकमा पनि उनीहरूले हिसाब सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । उनीहरूका मागबारे केन्द्रीय समितिमा छलफल गरेपछि मात्र बिहीबार विस्तारित बैठक बस्ने प्रचार–प्रसार उपसमितिले जनाएको छ । उपसमितिले विज्ञप्तिमार्फत पूर्वलडाकु र वाइसिएलका मागप्रति अध्यक्ष दाहालले सकारात्मक धारणा राखेपछि बैठक स्थगन गरिएको जनाएको छ । बिहीबार बैठक बस्नुअघि ती मागबारे अध्यक्षले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘मागका सम्बन्धमा केन्द्रीय समितिमा छलफल गरी भोलि (बिहीबार) बिहान ११ बजे बैठक हलमै माग सम्बोधन गर्ने प्रतिबद्धतासहित अध्यक्षले आज (बुधबार)को बैठकका बाँकी काम–कारबाही स्थगन भएको घोषणा गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ ।
मंगलबार सुरु बैठकमा दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार बिहानसम्म समूहगत छलफल भएको थियो । दिउँसोको खानापछि बस्ने भनिएको बैठकमा समूहका नेताहरूले समूहगत धारणा राख्ने कार्यक्रम थियो । समूहगत छलफलकै क्रममा पूर्वलडाकुले आर्थिक हिसाब–किताब सार्वजनिक गर्न माग गरेका थिए । विवादकै कारण दिउँसो बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।
बल्लतल्ल बसेको बैठकमा दाहालले पूर्वलडाकुका माग जायज भएको भन्दै पार्टीमा छलफल गरेर सम्बोधन गरिने आश्वासन दिएका थिए । ‘पूर्वजनमुक्ति सेनाका प्रतिनिधिका माग जायज रहेका र यो पार्टी सुदृढीकरण र शुद्धीकरणको योजनाको स्पिरिटसँग मेल खाएकाले यी मागले पार्टी निर्माणमा सजिलो बनाउने भन्दै अध्यक्षले धन्यवाद दिनुभयो,’ उपसमितिका संयोजक विश्वभक्त दुलालले भने ।
पूर्वलडाकुका माग
१ शिविरभित्रको आर्थिक हिसाब पारदर्शी ढंगले सार्वजनिक गरिनुपर्ने
२ आर्थिक अनियमितताका दोषीलाई तत्काल निलम्बन गरी छानबिन हुनुपर्ने
३ घाइते अपांगका लागि आजीवन निर्वाह भत्ताको व्यवस्था हुनुपर्ने
४ पार्टी सुदृढीकरणको ठोस र व्यावहारिक योजना चालु विस्तारित बैठकमा पेस गर्नुपर्ने
५ पार्टीभित्र मौलाएको गुट–उपगुट अन्त्य गरिनुपर्ने
६ कम्पनी सहायक कमान्डरदेखि माथिका पूर्वलडाकुलाई राज्यसमिति सदस्यमा बढुवा गरिनुपर्ने
समूहगत छलफलमा झन्डै हात हालाहाल
समूहगत छलफलका क्रममा सहभागी थपिएपछि अवध, ताम्सालिङ र नेवा: राज्यसमितिका सदस्यहरूबीच चर्को विवाद भएको थियो । असन्तुष्ट पक्षले बैठकस्थलमै नाराबाजी गरेका थिए । अवधका इन्चार्ज देवेन्द्र पौडेलले अन्तिम समयमा आºनो विचार समूहका केही सदस्यको नाम बैठकका सहभागीका रूपमा थपेपछि विवाद भएको थियो । उनलाई दाहाल पक्षधर सदस्यले घेरेर हातपातको प्रयास गरेका थिए ।
त्यस्तै, ताम्सालिङमा पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्षधर केही सदस्यको नाम थपिएपछि विवाद भएको थियो । अन्तिम समयमा नाम थप्ने कार्यमा ताम्सालिङ इन्चार्ज अग्नि सापकोटाले सहमति जनाएको भन्दै कार्यकर्ताले उनलाई घेरेर आक्रोश पोखेका थिए । विवादकै कारण भट्टराई पक्षधर नेवा:का कार्यकर्ताले अध्यक्ष दाहालको प्रतिवेदनमाथि छुट्टै छलफल गरेका थिए ।
प्रतिक्रिया