युरोपियन वर्ष खेलाडी मनोनयन सार्वजनिक

लन्डन, ३ साउन । गत सिजन  (२०११/१२) को युरोपियन वर्ष खेलाडीका लागि युरोपियन फुटबल महासंघ (युएफा)ले मंगलबार विभिन्न १२ क्लबका ३२ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । युरोपकै सबैभन्दा ठूलो यस खेलाडी अवार्डमा स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडका सात र इंग्लिस लिग च्याम्पियन म्यानचेस्टर सिटीका ६ खेलाडी मनोनयनमा परेका छन् । त्यस्तै, बार्सिलोना र चेल्सीका समान चार खेलाडीले मनोनयनमा स्थान बनाए । युरोपा लिग च्याम्पियन एट्लेटिको म्याड्रिडका राडामेल फाल्काओ सो क्लबवाट मनोनयनमा पर्ने एकमात्र खेलाडी रहे । युएफाका ५३ सदस्य राष्ट्रका पत्रकारको जुरीले उक्त नाम छनोट गरेको हो । आगामी १४ अगस्टमा युएफाले अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गर्ने छ । लेखकहरूको मतदानका आधारमा ती खेलाडी छनोट हुनेछन् । त्यसपछि प्रत्यक्ष भोटका आधारमा मोनाकोमा विजेताको घोषणा गरिनेछ ।
यस अवार्डको पहिलो संस्करणको विजेता बार्सिलोनाका लिओनेल मेसी हुन् । मेसीले रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र आफ्नै क्लबका जाबीलाई पछि पारेर उक्त संस्करणको अवार्ड हात पारेका थिए । यसपटक मनोनयनमा पर्ने खेलाडीमा रियल म्याड्रिडका रोनाल्डो तथा चार डिफेन्डरहरू फाबियो कोएन्ट्राओ, पेपे, सर्जियो रामोस, जाबी आलोन्सो, गोलकिपर इकर कासिलास र मिडफिल्डर मेसुट ओजिल छन् । त्यस्तै, म्यानचेस्टर सिटीका गोलकिपर जोए हार्ट र पाँच स्ट्राइकरहरू मारियो बालोटेली, सर्जियो एइगुइरो, याया टौरे, डेभिड सिल्भा र भिन्सेन्ट कम्पानी मनोनयनमा परे । बार्सिलोनाका मेसी, जाबी, आन्द्रेइ इनियस्टा र सेस फेब्रिगास तथा युरोपियन च्याम्पियन चेल्सीका गोलकिपर पिटर चेक, स्ट्राइकरद्वय फर्नान्डो टोरेस र डिडियर ड्रोग्वा तथा मिडफिल्डर फ्रान्क लाम्पार्डले पनि मनोनयनमा स्थान बनाए । मनोनयनमा पर्ने म्यानचेस्टर युनाइटेडका एक मात्र खेलाडीका रूपमा वेयन रुनी रहे ।
इटालियन लिग च्याम्पियन युभेन्ट्सका मिडफिल्डर आन्द्रेइ पिर्लो र गोलकिपर जिंयागुइली बुफों, आर्सनलका रविन भान पर्सिए, एसिमिलानका याल्टन इब्राहिमोभिच, टोटेनहमका लुका मोड्रिक र जर्मन लिग च्याम्पियन बोरुस्सिया डर्टमन्डका जापानी खेलाडी सिन्जी कागवासहित दुई खेलाडीले मनोनयनमा स्थान बनाए । गत सिजन पनि आफ्नो लयलाई कायम राखेका रोनाल्डो र मेसी नै यसपटक पनि अवार्डको बलियो प्रत्यासी हुने पक्का छ । युरोपियन क्लब फुटबलमा गत सिजन मेसी र रोनाल्डो सर्वाधिक गोलकर्ताको सूचीमा क्रमश: शीर्ष दुई स्थानमा रहेका थिए ।
सन् २००९ सम्म फ्रान्सको एक म्यागजिनले यो अवार्ड प्रदान गर्दै आएकोमा सन् २०१० मा फिफा वर्ष खेलाडीका लागि उक्त म्यागजिनले सहकार्य गरेपछि गत वर्षदेखि युइएफए आफैँले यो अवार्ड प्रदान गर्न थालेको हो ।

प्रतिक्रिया