नौसैनिक आक्रमणबारे छानबिन गर्न आग्रह

नयाँदिल्ली, ३ साउन । संयुक्त अरब इमिरेट्स (युएई)को जल क्षेत्रमा अमेरिकी नौसैनिक जहाजले भारतीय माझीहरूमाथि आक्रमण गरेको घटनामाथि छानबिन गर्न भारतले युएईसँग आग्रह गरेको छ । मंगलबारको उक्त घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै भारतले छानबिन गर्न माग गरेको छ ।
भारतीय विदेशमन्त्री एसएम कृष्णाले घटनाबारे छानबिन भई आवश्यक कारबाही आरम्भ हुनेमा आफू विश्वस्त रहेको आशा व्यक्त गरेका छन् । नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै कृष्णाले युएई प्रशासनले यस विषयमा मुद्दा दायर गरेको र मुलुकको कानुनअनुसार कारबाही अगाडि बढेको जानकारी आफूले पाएको उल्लेख गरे । भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले युएईस्थित भारतीय दूतावासले त्यहाँका अधिकारीसमक्ष घटनाबारे अनुसन्धान गर्न आग्रह गरेको जानकारी दिए । यस विषयमा बुझ्न अमेरिकी अधिकारीसँग सम्पर्क गरिएको र उनीहरूले पनि पूर्ण छानबिनको वचन दिएको उनले बताए । भारतका लागि अमेरिकी राजदूत नान्सी पावेलले आफूलाई टेलिफोन गरी घटनामा भारतीय माझीको ज्यान गएकामा खेद व्यक्त गरेको जानकारीसमेत उनले दिए ।
खाडीको दक्षिणी जलक्षेत्रमा रहेको जेबेल अली बन्दरगाहनजिकै भारतीय माझीहरूको डुंगामा अमेरिकी नौसैनिक जहाजले सोमबार एकाएक आक्रमण गरेको थियो । आक्रमणमा परी एक भारतीय माझीको मृत्यु भएको थियो भने अन्य तीन घाइते भएका थिए । अमेरिकी प्रतिरक्षा अधिकारीहरूले माझी सवार डुंगालाई अमेरिकी इन्धन जहाज युएसएनएस रापाहानोकतर्फ नजान दिएको चेतावनीलाई बेवास्था गरिएपछि आक्रमण गरिएको बताएका छन् । सन् २००० मा यमनको एडेन बन्दरगाहमा एक आत्मघाती बम आक्रमणकारीले डुंगामार्फत अमेरिकी युद्धक जहाज युएसएस कोलमाथि आत्मघाती बम आक्रमण गराएपछि अमेरिकाले यस्ता डुंगाप्रति सचेतना प्रदर्शन गर्न थालेको छ । (एजेन्सी)

प्रतिक्रिया