दलीय विवादले द्वन्द्वपीडितको ६२ लाख फ्रिज

जाजरकोट, २ साउन । दलीय भागबन्डा नमिलेर विवाद सुरु भएपछि द्वन्द्वपीडितका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट आएको ६२ लाख रुपियाँ फ्रिज भएको छ ।
कार्यक्रम सञ्चालनका लागि गठन गर्नुपर्ने समिति दलीय विवादका कारण गठन हुन नसकेपछि रकम फ्रिज भएको हो । दुईपटकसम्म समिति गठनका लागि द्वन्द्वपीडितको भेला भए पनि समिति गठन हुन नसकेपछि रकम फ्रिज भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतमणि पोखरेलले बताए ।
द्वन्द्वपीडितका लागि क्षमता विकास तथा आयआर्जनमा सहयोग पुर्‍याउन मन्त्रालयले कृषि विभागमार्फत मंसिरदेखि सञ्चालन गर्ने गरी रकम पठाए पनि समितिमा दलीय भागबन्डा नमिलेपछि रकम फ्रिज भएको हो ।
जाजरकोटका दुईवटा निर्वाचन क्षेत्रमा ३१ लाख रुपियाँका दरले आएको ६२ लाख रुपियाँ निकासा भएको थियो । ७ वैशाखमा दुईवटा निर्वाचन क्षेत्रमा भएको द्वन्द्वपीडितको भेलाले गठन गरेको समितिमा माओवादीको आन्तरिक विवाद र  नेपाली कांग्रेसको विरोधका कारण समिति विघटन भएपछि रकम फिर्ता गरिएको हो ।
लगत्तै २१ वैशाखमा भएको दोस्रो भेलामा पनि समिति गठन हुन नसकेपछि समस्या आएको सिडिओ गोविन्दप्रसाद रिजालले बताए ।

वर्षाका कारण चार घर विस्थापित

इलाम, २  साउन । अविरल वर्षापछि चुलाचुलीका चार घर विस्थापित भएका छन् ।
चुलाचुलीस्थित चाँजो खोलामा आएको बाढीले चुलाचुली–३ का प्रेमबहादुर कुमालको घर र दस कठ्ठा जग्गा बगाएको छ । त्यस्तै, सोही ठाउँका अर्जुन कोइरालाको घर र ३ कठ्ठा जग्गा र राजकुमार थेवेको तीन कठ्ठा जग्गा बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर र जग्गा बगाउँदा करिब ५० लाख रुपियाँबराबरको क्षति भएको बताइएको छ ।
यस्तै, वर्षापछि पशुपतिनगरमा एक घर विस्थापित भएको छ । पहिरोले पशुपतिनगर–६ स्थित शेखर भट्टराईको घर पुरेको हो । वर्षापछि आएको पहिरोले फिक्कल पञ्चकन्या मलिम कृषि सडक पनि बन्द भएको छ ।

प्रतिक्रिया