इन्डिजलाई एकदिवसीय शृंखला

किंस्टन, १ साउन। वेस्टइन्डिजले न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृंखला जितेको छ । पछिल्लो सत्रको आइपिएलका स्टार सुनील नारायनको उत्कृष्ट बलिङका कारण चौथो एक दिवसीय खेलमा वेस्टइन्डिजले २४ रनको जित हात पार्‍यो । पाचौँ तथा अन्तिम खेल बाँकी रहँदा वेस्टइन्डिज ३–१ ले अगाडि रहेको छ । सेन्ट किट्समा भएको दिवा–रात्रि खेलमा दुई सय ६५ रनको लक्ष्य पाएको न्युजिल्यान्ड नारायन र टिनो बेस्टको धारिलो बलिङसामु निरीह सावित हँुदै दुई सय ४० रनमा सीमित भयो । बेस्टले १० ओभरमा ४६ रन खर्चिंदै चार विकेट लिए भने नारायनले १० ओभरमा २० रन खर्चिंदै दुई विकेट लिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।
न्युजिल्यान्डका रोज टेलरले सानदार ब्याटिङ गर्दै एक सय १५ बलमा एक सय १० रन जोडे पनि उनको एकल प्रयासले न्युजिल्यान्डलाई खेल जिताउन सकेन । टेलरले ६ चौका र पाँच छक्का प्रहार गरे । विस्फोटक ब्याटिङ गरेका रोब निकोलले ३२ बलमा ३५ रन जोडे । एकदमै धिमा गतिमा ब्याटिङ गरेका टम लाथमले ६२ बलमा ३२ रन जोडे ।
बलिङतर्फ एन्ड्रयु रसेलले ६ ओभरमा ४९ रन खर्चिंदै एक विकेट लिए । निकोलको महत्त्वपूर्ण विकेट लिएका डारियल सामीले १० ओभरमा ४१ रन खर्चिए । १० ओभरमा ५० रन खर्चेका मार्लन सामुयल्सले ब्रेन्डम म्याककुलमको विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजका लागि किराने पोलार्डले सर्वाधिक ५६ रनको योगदान गरे । उनले ७० बलको सामना गर्दै पाँच चौका र एक छक्का प्रहार गरेका थिए । पोलार्ड ज्याकोब्स ओरामको बलमा म्याककुमलबाट क्याच आउट भए । सामुयल्सले ४६ रन जोडे, ६४ बलको सामना गरेका सामुयल्सले ६ चौका र एक छक्का प्रहार गरे । ओसिलो पिचमा धेरै डट बल रहे पनि दुवै इनिङमा थुप्रै छक्का प्रहार भएका थिए । वेस्टइन्डिजका सामी र रसेलले दुई/दुई तथा डेभोन थोमस र क्रिस गेलले एक विकेट लिए । गायललाई चाँडो आउट गर्ने योजना बनाएको न्युजिल्यान्ड सुरुवाती योजनामा भने सफल रहेको थियो । १७ बलमा १६ रन जोडेपछि उनी टिम सादीको बलमा एलबिडब्लु धरापमा परे । डभोनले ३७, सामीले २६ र नवौँ क्रममा ब्याटिङ गरेका रसेलले २९ रन जोडे । रसेलले १६ बलको मात्र सामना गरेका थिए । साउथीले ९.५ ओभरमा ५३ रन खर्चिंदै तीन विकेट लिए । ज्याकोब्स ओरामले १० ओभरमा ४२ रन खर्चिंदै तीन विकेट लिएका थिए ।

प्रतिक्रिया