फुर्तिला मूर्तिकारको उस्तै जोस


ललितकला क्षेत्रका सुप्रसिद्ध कलाकार ठाकुरप्रसाद मैनालीको छुट्टै परिचय दिइरहनु पर्दैन । उनी आधुनिक नेपाली मूर्तिकलाका स्वनामधन्य मूर्तिकार हुन् । एक छोरा र चार छोरीका धनी मैनाली छोरा, बुहारी, नाति र श्रीमतीसँग आºनै निवास सिफलमा बस्दा रहेछन् । उनी आजसम्म आफूले आँटेको कुनै काममा विफल भएका छैनन् ।
अठहत्तर वसन्त पार गरेका मैनालीको धपक्क बलेको अनुहार ओज र कान्तिले भरिएको छ । उनको काम गर्ने अथक जोसजाँगर र उत्साह देखेर तन्नेरी ठिटाहरू पनि जिब्रो टोक्ने स्थितिमा पुग्छन् ।
मैनालीले मूर्ति बनाउन आरम्भ गर्दाताका नेपालमा पारम्परिक धार्मिक मूर्ति बनाउनेहरूको रजाइँ थियो । आधुनिक अमूर्त मूर्तिकला के हो र त्यो कस्तो हुन्छ भन्ने आमनेपाली दर्शकलाई थाहा नै थिएन । कारण के हो भने त्यति बेला आधुनिक मूर्तिकलाको श्रीगणेश नै भएको थिएन । आधुनिक मूर्तिकलालाई समाजमा चिनाउन र स्थापित गर्न उनी दिनरात एक्लो बृहस्पतिझैँ लागिरहे । विभिन्न संघसंस्थाको चक्कर काट्दा उनका अनेकौँ जोर जुत्ताचप्पल खिएर गए । मैनाली अतीत सम्झँदै छन्, ‘अफिसहरूमा गयो, हाकिमहरूलाई कन्भिन्स गर्‍यो, त्यतिखेर मान्थे भोलि आउनु भन्थे । भोलिपल्ट गयो सबै फुस्सा † उनीहरूलाई आधुनिक मूर्तिकलाबारे बताउँदा–बताउँदा आºनै दिमाग पञ्चट होलाजस्तो हुन्थ्यो । हाकिमहरू बल्लबल्ल महिनौँ र वर्षौंपछि मूर्ति बनाउन तयार हुन्थे ।’
छात्रवृत्ति पाएर बडोदामा काष्ठकला पढ्न गएका मैनालीलाई त्यस विषयमा प्रमाणपत्र प्राप्त गरेपछि मूर्तिकलाको मोहनीले तानेछ । मनमनै गम्दै आफैँसँग भनेछन्, ‘अरे पढ्नुपर्ने विषय त मूर्तिकला पो रहेछ ।’ अनि उनी कम्मर कसेर, टुप्पी बाँधेर मूर्तिकला पढ्न थाले ।
भक्तियोगका अनुयायी तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मैनालीले अहिलेसम्म काठ, धातु र प्लास्टर आदिका हजारौँ मूर्ति बनाई आºना कल्पना, यथार्थ र संवेदनशीलताको नमुना करौँती, राँबो र छिनोको सीप प्रयोग गरेर नेपाली दर्शकलाई देखाइसकेका छन् ।
कुनै समय मांसाहारी भए पनि अहिले शाकाहारी मैनालीले अनेकौँ हन्डर खाँदै र बाधाव्यवधान पन्छाउँदै राजधानी तथा जिल्लाका विभिन्न सार्वजनिक स्थल, पार्क, शिक्षण संस्था, सञ्चार सेवा, ट्रेनिङ सेन्टर, इन्स्टिच्युट तथा अस्पतालहरूमा ६ फिटदेखि ३५ फिटसम्मका २९ वटा वातावरणीय मूर्ति बनाएर आºनो कला र कौशलको उज्यालो देशैभर छरिसकेका छन् ।
चिया खाने अम्मल नसमातेका उनी भन्छन्– ‘हाम्रो देशमा विभिन्न शताब्दीमा बनेका परम्परागत मूर्तिहरू धेरै नै राम्रा र उच्चकोटिका छन्, तर खै के गर्नु धेरैजसो हाम्रा मूर्ति उहिले विदेशी ग्रिन कार्ड होल्डर भइसके ।’
साहित्यमा पनि रुचि राख्ने मैनाली उहिल्यै ‘शारदा’ मा कविता प्रकाशित गरेर नेपाली साहित्यमा पनि विधिवत् प्रवेश गरिसकेका छन् । एक सय चारवटा भजन भएको ‘समर्पण’ नामक भजनसंग्रह पनि नेपाली साहित्यलाई अर्पण गरिसकेका छन् । चाँडै नै उनको भजनसंग्रहको सिडि आउँदै रहेछ । पुरस्कृत र चर्चित साहित्यिक पुस्तक पढ्ने बानी बुढ्यौलीमा पनि घटेको छैन ।
सानो ठूलो कुनै पनि मूर्ति होस्, पहिला नमुना मूर्ति बनाउनुपर्छ र त्यसमा धेरै नै समय लाग्ने गर्छ । नमुनाअनुसार नै मूर्तिलाई ठूलो सानो बनाउने हो । उनले छोटकरीमा भने, ‘एक प्रकारले नमुना नै मूर्ति हो ।’ चौँतीस वर्षको उमेरमा चौवालिस वर्षअघि भृकुटीमण्डपमा ३५ फिट अग्लो वातावरणीय मूर्ति बनाएर उनले आधुनिक मूर्तिकलाको विधिवत् शुभारम्भ गरेका रहेछन् । भृकुटीमण्डपको मूर्तिको नमुना बनाउन धेरै समय लागे पनि मुख्य मूर्ति निर्माणस्थलमा चाहिँ काम सुरु गरेपछि एक वर्षमा उक्त मूर्ति पूरा भयो । उनले त्यो मूर्ति बनाउन दिनरात एक पारेका थिए । फलामको आर्मेचर बनाएर बराबर ढलान गर्ने, मडलिङ गर्ने, काट्न लगाउने गर्नुपथ्र्यो । भन्छन्, ‘अग्लो मूर्ति खट बाँधेर भर्‍याङ राखेर बनाउनुपर्छ ।’ पशुपति मार्ग निवासी मैनाली राशिफलमा पनि विश्वास गर्दा रहेछन् । पत्रिका पल्टाएर राशिफल हेर्ने बानी रहेछ । ‘तर, ज्योतिषीले भन्यो अथवा राशिमा राम्रो वा नराम्रो लेखेको छ भन्दैमा हामीले ‘आत्तिने मात्तिने र पात्तिने’ कामचाहिँ पटक्कै गर्नुहुन्न,’ उनले उर्दी दिँदै फुर्तीसाथ भने, ‘धर्म मान्नेले राशि पनि मान्ने गर्छन् ।’ ध्यान र पूजा पनि गर्दा रहेछन् । सन्त हुँदै बोल्दै थिए उनी, ‘शरीर भनेको मन्दिर हो, मानिस देवता । हामीले भगवान् आफूभित्र स्थापित गर्नुपर्छ । मन्दिर धाइरहन जरुरी नै पर्दैन ।’
सर्जकलाई सिर्जनाले कहिले सन्तुष्टि दिएको हुँदैन । कुनै पनि सिर्जना गरुन्जेल राम्रो लाग्छ, के के न गरेँछु जस्तो लाग्छ तर भोलिपल्टदेखि नै त्यसको कमीकमजोरी महसुस हुन थाल्छ र अर्को सिर्जनामा सच्याउँछ । ‘हो यसरी सर्जकले अनुभव गर्दै सिक्दै जान्छ,’ उनको अनुभवमा पाकेको भनाइ थियो । खासै रोग नभएका मैनाली नियमित रूपमा चाहिँ प्रेसर र प्रोस्टेटको औषधि खाँदा रहेछन् । चिल्लो, पीरो र नुन कम खाँदा रहेछन् । खानामा जे दिए पनि मीठो मानेर खाने बानी रहेछ उनको । दाल, भात, तरकारी बढी छ भने झिक्न लगाउँछन्, मीठो लाग्दा पनि थपेर आजसम्म नखाएको दाबी गर्छन् । उनी फुर्सतमा आºनै घरको छतमा हिँडेर प्रात: भ्रमण पनि गर्दा रहेछन् । पत्रपत्रिका पढ्ने, टिभी हेर्ने बानी टुटेको छैन । कुनै बेला दुई वर्ष लगाएर सितार बजाउन सिकेका भए पनि अहिले त्यो सिकाइचाहिँ आलुझैँ पोलेर खाएछन् उनले । आºनो दिनचर्या सुनाउँदै मैनाली भन्छन्, ‘बिहान ३:३०–४ बजेसम्ममा उठेर नित्यकर्ममा लाग्छु । नित्यकर्मपछि हलुका कसरत अनि प्राणायाम सकेर पूजापाठ र ध्यान गर्छु । ७ बजे एक गिलास दूध पिएर प्राय: दर्शनका पुस्तकहरूको अध्ययन गर्छु । ९ बजे भुजा खाएर अफिस जाने तयारी गरेर निस्किन्छु । ५ बजे प्राय: अफिसबाट घर फर्किसक्छु ।’
काम हेरेर अफिस जाने बानी रहेछ उनको । ‘काम छ भने छिट्टै पुग्छु, काम छैन भने कुर्सीमा बसेर हाई–हाई गर्न र झिँगा मार्न जानेचाहिँ गर्दिनँ,’ उनले भने, ‘बरु १० देखि ५ सम्म घरमै वा बाहिर अफिसकै काम गरिरहेको वा सोचिरहेको चाहिँ पक्कै हुन्छु ।’
जीवनले चार बीस छुने सुरसार गर्दा मूर्तिकार मैनाली बाल्यकालको एउटा घटना बारम्बार सम्झिरहन्छन् । १०–१२ वर्षको उमेरमा उनी कालोपुलस्थित घरनजिकैको संस्कृत स्कुलमा पढ्थे । एक दिन घरतिर फर्कंदै गर्दा कुनै वस्तु टलक्क टल्किरहेको देखेछन् । नजिकै गएर हेरे, चाँदीको एक रुपियाँको डबल । खुब खुसी भए उनी । भोलिपल्ट बिदा भएकाले मिल्ने तीन जना साथी बटुलेर पशुपतितिर लागे । घुम्दाघुम्दै भोक लागेपछि एउटा हलुवाइ पसलमा छिरेछन् । साथीहरू मिलेर हलुवा, लड्डु, पेडा, जेरीस्वारी डकार्ने र हुलुुक्क हुनेगरी खाएछन् । मैनालीले बडो सान र अदबका साथ पसलेलाई सोही चाँदीको डबल तिरे । साहुले ओल्टाई पल्टाई गरेछ र एकैछिन है बाबु हो भन्दै पुलिस पो बोलाएर ल्याएछ । प्रहरीले डबल हेर्दै ‘राजाको चित्र अंकित ढ्याक बिगार्ने फुच्चे ख्याक हो, ठानामा लगेर तुरुङमा नठिँगुर्‍याई छाड्दिनँ भन्न थाल्यो । त्यो डबल मुनिपट्टि अलिकति काटिएको थियो, मैनालीले १७ पटक हेर्दा पनि नदेखेका । नङ र मासुजस्ता साथीहरू ‘हाम्रो गल्ती छैन, यसैले ल्याएको हो भन्दै टकटकिएछन् । मैनाली परे बिलखबन्दमा, पुलिसले थाना लगिहाल्यो । अब घरमा खबर गरुँ भने उल्टै कहाँबाट ल्याइस् भनेर गाली गर्ने डर । नगरुँ पुलिसले के–के गर्ने हो ।
तैपनि प्रहरी यताउति गएको मौका पारी छतबाट हाम फालेर बित्तातोडमा चर्को घाममा झर्को नमानी घरतिर कुलेलम ठोकेछन् ।
मैनालीलाई कुनै कार्यक्रममा जानुपर्ने भएकाले म पनि चिया र आँप खाएर हतारहतार नमस्कार गर्दै त्यहाँबाट टाप ठोक्छु ।

प्रतिक्रिया