न्यायाधीश नियुक्तिमा ‘असाधारण अधिकार’ माग

काठमाडौं : असाधारण अधिकार प्रयोग गरी सर्वाेच्च अदालतमा खाली रहेका न्यायाधीशहरूको पदपूर्ति गर्न माग गर्दै आइतबार एक कानुन व्यवसायीले रिट दायर गरेका छन् ।
संसदीय सुनुवाइमार्फत न्यायाधीश नियुक्त गर्ने कानुनी प्रावधान भए पनि संसद् नरहेको अवस्थामा असाधारण अधिकार प्रयोग गरी न्यायाधीश नियुक्त गर्नुपर्ने माग राख्दै अधिवक्ता राजेश सिलवालले रिट दायर गरेका हुन् । संसदीय सुनुवाइ हुन नसक्ने अवस्थामा ‘नयाँ विकल्पको खोजी गरी न्यायको अन्तिम फैसला गर्ने निकायलाई बन्धक गराउन नमिल्ने’ जिकिर रिटमा गरिएको छ ।
‘संसदीय सुनुवाइ गर्नु नपर्ने भनी अपवादात्मक स्थितिको प्रावधान संसदीय सुनुवाइसम्बन्धी छुट्टै विशेष कानुन राख्न सकिन्छ,’ रिटमा भनिएको छ, ‘न्यायालयबाट पूर्ण न्याय प्रदान गर्न असाधारण अधिकार प्रयोग गरी संसदीय सुनुवाइसम्बन्धी अन्तरिम निर्देशिका जारी गरिपाऊँ ।’
सर्वाेच्चमा प्रधानन्यायाधीश–सहित १५ स्थायी न्यायाधीश र आवश्यकताअनुसार थप १० अस्थायी न्यायाधीश राख्न सक्ने कानुनी प्रावधान भए पनि ७ जना स्थायी र ६ अस्थायी न्यायाधीश मात्र कार्यरत छन् । (सौस)

प्रतिक्रिया