भैयाजी र पानी बरफ

मान्छेले एउटा जुनीमा खाएको रिन अर्को जुनीमा पनि तिर्नुपर्छ भन्ने कुरा सानैदेखि सुनेको हो । त्यसैले बूढापाकाले भन्ने गरेका होलान्, रिन भन्ने कुरा सकेसम्म नबोक्नू । त्यति हुँदाहुँदै पनि आम मानिसदेखि लिएर मै हूँ भन्नेहरू सबै कुनै न कुनैबेला रिन बोक्न बाध्य हुन्छन् । फरक कति मात्र हो भने कसैकसैलाई रिनले पोल्दैन । विशेष गरेर ठुल्ठूला व्यापारी भनाउँदाहरू सकेसम्म बैंकको रिन र सरकारको कर कसरी कुम्ल्याउने भन्ने दाउमा नै हुन्छन् । नियतवश खाएर नतिरेको रिन भनेको लुट बराबर हो भन्ने मेरो मान्यता छ । कोही बाध्यताले वा कोही नियतवश नै रिन नतिरी पनि राति निदाउन सक्छन् भने त्यो उनीहरूको ‘महानता’ नै होला । तर यो कुरामा म आफू भने पटक्कै पनि महान् नभएको कुरा स्वीकार गर्न मलाई रतिभर पनि अप्ठ्यारो लाग्दैन ।
मलाई रिनले साह्रै पोल्छ । चाहे त्यो ठूलो होस् अथवा सानो । यो कुरा मलाई आफू निकै सानो हुँदा नै थाहा भएको थियो । बत्तीस–तेत्तीस सालतिरको कुरा हो, त्यतिबेला म स्कुले केटा हुँदाको एउटा रमाइलो प्रसंग छ । म पाँच कक्षामा पढ्थें । हाम्रो स्कुल कुपन्डोलको उकालोको भैरव भवनबाट (जहाँ अहिले होटल हिमालय अवस्थित छ) त्यो त्यही वर्ष मानभवन, जाउलाखेलमा सरेको थियो । पाँच कक्षा पढ्ने भनेको हुर्केको मान्छे हो र स्कुलको बस चढ्नु हुँदैन भन्ने सहपाठीहरूको उर्दीलाई सर्वोपरि मानेर घरमा रोइकराइ मैले पनि आफैं स्कुल जाने आउने अनुमति पाएको थिएँ । साझा बसको हुलमा झुन्डेर स्कुल जानु त्यतिबेला हाम्रा लागि पौरुषताको परिचायक हुन्थ्यो ।
मानभवनमा हाम्रो स्कुलको मूलगेटअगाडि नियमित एकजनाले पानी–बरफ बेच्ने गर्थेँ । चार कक्षासम्मलाई बाहिर निस्कन निषेध थियो तर पाँचमा पुगेका हामीलाई अरूबेला नभए पनि खाजा खाने समयमा स्कुलको गेटबाहिर निस्कने छुट थियो । नरशमशेरको घर अगाडि एउटा चौर थियो जहाँ हामी हुर्केका प्रजातिहरू अखडा जमाउँथ्यौँ । स्कुलमा ठाकठुक परेका विद्यार्थीले एकआर्कालाई हाफ टाइममा त्यहाँ फाइट खेल्ने चुनौती दिने गर्थे । त्यसैले त्यो चौरमा दिनहुँ भनेजस्तो सित्तैमा मल्लयुद्ध हेर्न पाइन्थ्यो । नभए पनि तेलकासा र सेभेनस्टोनजस्ता पसिना बगाउने खेलहरू हामी त्यहाँ खैल्थ्यौँ । गर्मीले हप्हप भएका बेला हामीलाई लोभ्याउनका लागि स्कुल गेटअगाडि एकजना पानीबरफ बेच्ने मान्छे तैनाथ हुन्थे । उनलाई सबैले भैयाजी भनेर सम्बोधन गर्थे । भैयाजी एउटा थोत्रो साइकल पछाडिको क्यारियरमा काठको बाकसमा पानीबरफ बोकेर आउँथे । उनका ती राता र हरियो रंगका पानीबरफहरू हेर्दै खाउँखाउँ लाग्ने देखिन्थे । आँतै हरहर हुन्थ्यो तिनलाई देख्दा । तर, मूल समस्या भनेको पैसोको हुन्थ्यो । त्यतिबेला मेरो आफ्नो अर्थतन्त्र अहिलेको ग्रीसको भन्दा खासै गतिलो हुन्थेन । किनभने मलाई त्यतिबेला घरबाट दिनको तीन मोहोर खर्च खटाएर दिइन्थ्यो । एक मोहोर थापाथलीबाट मानभवनसम्म बस चढ्न, एक मोहोर खाजा खाने समयमा ‘बम पाउरोटी’ खान र एक मोहोर मानभवनबाट थापाथली बस चढेर घर फर्कन । घरमा बरफका लागि पैसा माग्दा ठूलाबडाहरू कुन चाहिँ टुकुचाको फोहोर पानीमा कसरी बनाएको हुन्छ, त्यस्तो फोहोरी कुरा खाएर बिरामी परिन्छ भनेर ठाडै अस्वीकार गरिहाल्थे । त्यसैले २५ पैसा र ५० पैसाका ती पानीबरफलाई हेरेर घुटुक्क थुक निलेर हिंड्नुबाहेक अरू उपाय थिएन ।
एक दिन हामी खाजा खाने समयमा बाहिर निस्केका बेला बरफ खाने संयोग जुट्यो । हामीभन्दा ठूला दाइहरूले त्यस दिन भैयाजीको बरफ लुट्ने सत्कर्म गरेका रहेछन् । हुल उठेर हमला गरेर उनको बाकसबाट बरफ लुटालुट गरेका बेला भैयाजी अरू केही गर्न नसकेर आफ्नै भाषामा आलापविलाप मात्र गरिरहेका थिए । त्यतिबेला सुनेका केही शब्दको अर्थ पछि बुझ्ने भएपछि थाहा पाउँदा कानसम्म रातो भएको थियो । जेहोस्, त्यस दिनको हारालुछमा मेरा केही साथीसँगै एउटा रातो पानीबरफ मैले पनि लुटेँ । ठुलै पुरुषार्थ गरेजस्तो गर्दै हामी साथीभाइले त्यो पानीबरफको सिन्कोसमेत सिनित्त पारेर चुस्यौँ । त्यसको भोलिपल्टदेखि भैयाजी हाम्रो स्कुलको गेटअघि देखिएनन् ।
उनी नदेखिएको कुरा अरूलाई सामान्य भएर गयो तर मलाई भने त्यो पानीबरफको बोझले किच्न थाल्यो । मलाई आफूले क्षणिक उत्तेजनामा आएर किन बरफ लुटेर खाएछु भनेर थक्कथक्क लाग्न थाल्यो । बिचरा, कहाँबाट ती बरफहरू ल्याएर दिनभर घाममा सेल्टेर बेच्दा हुन् । कति नै पैसा कमाउँथे होला त्यो बरफ बेचेर । कति सरापे होलान् तिनले हामीलाई पछि पनि । ती बिचरा श्रमजीवीको सरापले त्यसै छोड्ला त हामीलाई भन्ने पिरले मलाई बिथोल्नुसम्म बिथोल्यो । मैले आफ्ना दौँतरीलाई एक दिन यो कुरा सुनाएँ । बिचराको पानीबरफ लुटेर हामीले गल्ती गरका त हैनौँ भन्ने मेरो मनासायमा सहमति जनाउनु त कता हो कता एकजना साथीले उल्टै मलाई हकार्‍यो । ‘तँलाई थाहा छैन फलान्थोक, एउटा मरेको मधिसेले (तराईका हाम्रा दाजुभाइलाई नभई भारतीयलाई त्यसो भनिन्थ्यो त्यतिबेला) दसजना ज्यूँदो नेपालीलाई ठग्छ । त्यसैले जे भयो ठिकै भयो, टाउको नदुखा ।’
तर, त्यसो हो नै रहेछ भने कुनै मरेको मधिसेको ठगीको बदला त्यो मायालाग्दो भैयाजीले किन तिर्नू भन्ने सोचले मलाई मेरा साथीजस्तो निश्चिन्त हुन दिएन । हुँदाहुँदा कतिसम्म भयो भने एक दिन त मैले सपनामा समेत भैयाजीलाई देखेँ । म हिमाल चढ्दै रहेछु रे । हेर्दै डरलाग्दो एउटा टाकुरामा म पुगेछु । चारैतिर कहालीलाग्दा भिरहरू थिए । अचानक हेर्दाहेर्दै वरिपरिका हिमालहरू त रातो रंगका अजंगका पानीबरफ भइरहेका पो रहेछन् । हरेक चुच्चाबाट बरफको जस्तै सिन्काहरू आकाशतिर फर्किएर ठडिएका थिए । अचानक मेरो खुट्टा चिप्लेर म तीव्र वेगले पानीबरफमा तलतिर खस्न थालेछु । सिन्काहरू समात्न खोज्यो, प्याटप्याट गरेर भाँचिन्थे । अचानक मैले देखेँ, भैयाजी मसँगसँगै आकाशमा उडिरहेका छन् र मलाई हेरेर मरीमरी हाँसिरहेका छन् । मैले उनीसँग गुहार मागेँ,
‘भैयाजी मुझे बचाओ ।’
तर भैयाजीले भने,
‘कौन भैया ? किसका भैया ? मैं तो
यती हुँ ।’
अनि नभन्दै भैयाजी आजकलका सिनेमामा एनिमेसिन भए जसरी यतीमा परिणत भए । जिउभर भुत्लैभुत्ला, लामालामा नङ्ग्रा र तीखा दाँतहरू । उनले भने, ‘अब मैं तुम्हे बरफ बनाकर खाउँगा ।’
म खलखली पसिना काड्दै ब्युँझेँ । मलाई भैयाजीको त्यतिबेलाको निरीह अनुहारले
छोड्दै छोडेन ।
त्यो घटनाको निकै दिनपछिको कुरा हो । केही साथीहरू मिलेर बस नचढी हिँडेर फर्कने योजना बनेको थियो । त्यसैअनुरूप हामी–हरूले बाँधेर हल्ला गर्दै फर्कंदै थियौँ । थापाथलीमा त्यसबेला भीमसेन थापाले बनाएको भनिने पुरानो फलामे पुल थियो । त्यसवारि र पारिपट्टि सत्तलमा सानातिना पसलहरू थिए । हामी पुलको मुखमा पुग्दा अचानक मेरा आँखाहरू तिनै भैयाजीमा परे । उनी पुलको वारिपट्टि त्यही साइकलको छेउमा बरफ बेच्न उभिएका रहेछन् । तिनलाई त्यहाँ अचानक देख्दा मलाई देउता देखेजस्तै भयो । बस नचढेको हुनाले एक मोहोर मेरो खल्तीमै थियो । म लम्केर उनीतिर गएँ र एउटा रातो बरफ किनेँ । मैले दिएको मोहोरबाट उनले मलाई पच्चीस पैसा फिर्ता दिए । मैले त्यो उनैलाई फर्काउँदै भनेँ, ‘अस्तिन मानभवनमा हाम्रो स्कुलअघि तपार्इंको बरफ लुटिँदा एउटा मैले पनि लुटेको थिएँ । त्यतिबेला मसँग पैसा थिएन । यो पैसा तपाईं नै राख्नुस् ।’
उनले केही भन्नुअघि नै म त्यहाँबाट साथीलाई भेट्न कुदिसकेको थिएँ । मलाई मेरो काँधबाट सय मनको बोझ हटेजस्तो भान भइरहेको थियो । अब भैयाजी मेरो सपनामा यती बनेर आउँदैनन् र मलाई बरफ बनाएर खाने धम्की पनि दिँदैनन् भन्ने मलाई थाहा थियो । त्यतिबेला मैले एउटा ठूलो कुरा थाहा पाएँ । लुटेको उपलब्धिको बोझभन्दा बरु जस्तोसुकै अभावको हुटहुटी सहन सजिलो हुँदोरहेछ । त्यसै दिन मैले मनमनै आइन्दा जीवनमा कुनै पनि कुरा लुटेर प्राप्त गर्दिनँ भन्ने प्रण गरेको थिएँ ।

प्रतिक्रिया