विवादले सडकको २५ करोड फ्रिज

कैलाली, २९ असार । दुई गाउँबीचको विवादले बझाङमा पाँच वर्षदेखि सडक निर्माण अलपत्र परेको छ । विवादले चार वर्षदेखि काम सुरु हुन नसक्दा योजनाका लागि आएको २५ करोड रुपियाँ फ्रिज भएको छ भने परियोजनाले पनि हात झिक्ने तयारी गरेको छ ।

भोपुर–रूपातोला सडकको काममा स्थानीय दुई गाउँलेबीच विवाद बढेपछि काम रोकिएको हो । जिल्ला विकास समितिअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा सञ्चालन भएको ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन (ड्रिलिप) परियोजनाले काम सुरु गरेको एक वर्षमै विवाद आएपछि रोकिएको काम अझै सुरु हुन सकेको छैन ।
रूपातोलासम्म सडक खन्ने काम सकिए पनि चीनको ताक्लाकोटसम्म सडक बनाउने लक्ष्य पूरा नभएको हो । ताक्लाकोट र रूपातोलाबाट धमेनावासी तथा रूपातोलाबाट सेती नदीपारि मेलबिसौना र दाँतोला घुमाएर लिनुपर्ने तालकोटवासीको मागका कारण सडक निर्माण रोकिएको हो । सडक कहाँबाट लैजाने भन्ने विषयमा निर्णय नहुँदा परियोजनाको काम रोकिएको हो ।
विवाद समाधानका लागि भएका छलफलबाट पनि निष्कर्ष नभएपछि चैनपुरदेखि ताक्लाकोटसम्म सडक निर्माण गर्ने योजना अलपत्र रहेको हो । ताक्लाकोटसम्म सडक निर्माणका लागि गाउँलेबीच सहमति नभए परियोजनाले हात झिक्ने तयारी गरेको परियोजना प्रमुख गोरखराज जोशीले बताए ।
‘पाँच वर्षसम्म धमेना र तालकोट क्षेत्रका बासिन्दासँग कुन ठाउँबाट ताक्लाकोटसम्म सडक लैजाँदा राम्रो हुन्छ भनेर छलफल, बैठक गरेकै हौँ,’ जोशीले भने, ‘गाउँलेबीच कुरा नमिलेपछि अब बझाङको थलारा क्षेत्रमा पर्ने डोटीको दीपायलदेखि चैनपुरसम्मको सडक निर्माणको लागि सर्भे गर्न लागेको छौँ ।’
परियोजनाले हात झिक्न लागेपछि तिब्बतसँग सडक जोड्ने बझाङको सपना पनि अधुरो हुने भएको छ । ‘सिंगो सुदूरपश्चिमकै विकासनिर्माणमा टेवा पुग्ने र छिमेकी चीनसँग पनि सम्बन्ध गासिने थियो,’ नागरिक समाजका अगुवा धर्मजंग सिंहले भने, ‘गाउँलेको विवादले काम अगाडि नबढ्दा विकासनिर्माण नै प्रभावित भएको छ ।’
परियोजनाबाट चैनपुरदेखि रूपातोलासम्म १८ किलोमिटर सडक निर्माण भएको छ । पछिल्लो चरणमा सडक विभागबाट सेती नदीमा पुल हाल्ने र तालकोट भएर सडक बनाइने भनिए पनि रूपातोलावासीले जग्गा नदिने भनेर अवरुद्ध पारेका हुन् ।

प्रतिक्रिया