पर्सा प्रहरीको हतियार गायब

पर्सा, २८ असार । जिल्ला प्रहरी कार्यालय पर्साबाट एक थान अत्याधुनिक हतियार गायब भएको छ ।
बुधबार बेलुकी प्रहरी जवान डम्बरबहादुर माझीले बुझेको म्याग्जीन सहितको एसएलआर राइफल हराएको हो । राइफल बुझेर डयुटीमा खट्टिएका माझी गएराति रित्तैहात कार्यालयमा हाजिर भएपछि हतियार हराएको खुलेको थियो ।
माझीलाई प्रहरीले हिरासतमा राखेको छ । माझी कुन स्थानमा डयुटीमा खट्टिएका समयमा हतियार हराएको हो सो बारेमा पर्सा प्रहरीले केही खुलाएको छैन ।
‘राइफल खोजी कार्य र अनुसन्धान शुरु गरेका छौं,’ पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले, भने, ‘धेरै हतियार भएको ठाउँमा साटिएको पनि हुन सक्छ ।’
पर्सा प्रहरीमा साना ठूला गरि करिब तीन सय हतियार छन् ।
प्रहरी जवान माझीले एसएलआर राइफल हतियारका कारोबारीलाई बेचेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
२० दिन पहिला पनि पर्सा प्रहरीबाट एसएलआर राइफलको ४५ राउण्ड गोली हराएका थिए । गोली हराएको आरोपमा जवान वीरचन्द यादव प्रहरी हिरासतमा छन् । (तस्बिर गुगल)

प्रतिक्रिया