“फेल्प्स प्रशिक्षणप्रति लापरबाह”

न्युयोर्क, २८ असार । लन्डन ओलम्पिकका लागि भएको अमेरिकाको घरेलु ट्रायलमा स्विमिङतर्फ बेइजिङ ओलम्पिकका सर्वाधिक चर्चित खेलाडी माइकल फेल्प्सलाई कडा चुनौती दिएर आसन्न ओलम्पिक यात्रा तय गरेका टेलर क्लारीले फेल्प्स क्षमतावान् भए पनि उनले प्रशिक्षणमा लापरबाही गर्ने गरेको बताएका छन् । स्थानीय क्यालिफोर्नियाको अखबारले लिएको अन्तर्वार्तामा क्लारीले फेल्प्स गम्भीर भएर प्रशिक्षण नगर्ने गरेको बताए । विभिन्न विधामा गरी १४ ओलम्पिक स्वर्ण पदक जितेका फेल्प्ससँग केही साताअघि भएको दुई सय मिटर बटर फ्लाई भिडन्तमा १ दशमलव ५ सेकेन्डले पछि रहँदै क्लारी दोस्रो भएका थिए ।
प्रेस इन्टरप्राइजेजसँग बोल्दै क्लारीले फेल्प्सले आफ्नो क्षमतालाई पर्याप्त मात्रामा सदुपयोग नगरेको बताए । ‘उसले धेरै मिहिनेत गर्दैन, एउटा प्रतिभावान् खेलाडीका लागि यो नराम्रो स्वभाव हो,’ क्लारीले भने, ‘यदि मैले जति उसले मिहिनेत गर्ने हो भने अहिलेभन्दा उसले धेरै ठूला सफलता हात पार्न सक्छ ।’
एउटै ओलम्पिक खेलकुदमा सर्वाधिक स्वर्ण पदक जित्ने कीर्तिमान फेल्प्सको नाममा छ । उनले चार वर्षअघि सम्पन्न बेइजिङ ओलम्पिकमा आठ स्वर्ण पदक जितेका थिए । उनले मार्क स्पिट्जको कीर्तिमान भंग गरेका थिए । तीनपटक ओलम्पिकमा सहभागिता जनाइसकेका फेल्प्सले हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा ५४ वटा स्वर्ण पदक जितेका छन् ।

प्रतिक्रिया