विपक्षीद्धारा सर्वदलीय बैठक बहिष्कार

काठमाडौं, २६ असार । कांग्रेस, एमाले सहितका विपक्षी दलले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले आह्वान गरेको सर्वदलीय बैठक बहिष्कार गरेपछि बजेटमा सहमति जुटाउने जिम्मेवारी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पाएका छन् ।
सरकार विरुद्ध सडक संघर्षमा रहेका विपक्षी दलहरुले प्रधानमन्त्री भट्टराईले बोलाएको बैठक बहिष्कार गरेका हुन् । विपक्षी दलहरुको बहिष्कार पछि एमाओवादी अध्यक्ष दाहालले बजेटमा सहमति जुटाउन आफ्नै निवासमा सर्वदलीय बैठक बोलाएका छन् ।
कामचालउ सरकारले बोलाएको बैठकमा सहभागी नहुने अडान राखेर कांग्रेस, एमाले लगायतका दल बैठकमा गएनन् ।
एमाओवादी अध्यक्ष दाहालले सहमति खोज्ने भन्दै विपक्षी दलहरु सहितको बैठक पुनः बोलाएका छन् ।
प्रधानमन्त्री भट्टराईको आह्वानमा सिंहदरबारमा आज बिहान बसेको बैठकमा सरकार समर्थक २६ दलहरुको मात्रै सहभागिता रहेको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी अध्यक्ष दाहालले दलहरुबीच सहमतिको बिकल्प नरहेको बताए । उनले आफूले निकासका लागि सहमति खोज्ने प्रयत्न गर्ने बताए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकमा बजेटको तयारीका बिषयमा सहमति खोज्न छलफल गरेको भएपनि ठोस निकास नआएको बताए । उनले दलहरुका बीच सहमतिका आधारमानै बजेट ल्याउने बताए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले अन्तरिम संबिधानको धारा ८८ बमोजिम पूर्ण बजेट आउने दाबी गरे । सर्वदलीय बैठकमा प्रतिपक्षी दलले अनुपस्थिति जनाएर बजेटप्रति नकरात्मक भूमिका खेलेको उनले आरोप लगाए । बैठकमा सरकारलाई समर्थन गर्ने २६ दलको सहभागिता रहेको थियो ।

बैठकमा कुन कुन दल आए त ?
१) एकीकृत नेकपा (माओवादी)
२) तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)
३) मधेशी जनअधिकार फोरम नेपाल
४) मधेशी जनअधिकार फोरम गणतान्त्रिक
५) नेपाल मजदुर किसान पार्टी
६) नेपाली जनता दल
७) नेपाल परिवार दल
८) नेपाल लोकतान्त्रिक समाजवादी दल
९) नेपाः राष्ट्रिय पार्टी
१०) समाजवादी जनता पार्टी
११) नेकपा एकीकृत
१२) राष्ट्रिय जनशक्ति पार्टी
१३) चुरेभावर राष्ट्रिय एकता पार्टी
१४) माले समाजवादी
१५) राष्ट्रिय सद्भावना पार्टी
१६) माले समाजवादी पार्टी
१७) नव नेपाल निर्माण पार्टी
१८) नेकपा संयुक्त
१९) तमलोपा नेपाल पार्टी
२०) रा.म.स. पार्टी
२१) संघीय सदभावना पार्टी
२२) संघीय लोकतान्त्रिक (थारुहट)
२३) जनता दल यूनाईटेड
२४) मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)
२५) सदभावना पार्टी
२६) राष्ट्रिय जनमुक्ति पार्टी

प्रतिक्रिया