राजनीतिक नेतृत्व, पूर्वराजा र संविधानसभा

२८ जेठमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले खुलामञ्चबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई जसरी पनि नारायणहिटीमा राजाकै रूपमा भित्र्याउने घोषणा गर्दै ज्ञानेन्द्रलाई नागार्जुनमा धैर्य गरेर बस्न आग्रह गरेका थिए । सायद राजनीतिक नेतृत्वले अब फेरि राजतन्त्र फर्कने सम्भावना नदेखेकाले असम्भव भन्दै त्यति महत्त्व नदिएको हुनुपर्छ । तर, कमल थापाले त्यसो किन भनेका रहेछन् भन्ने कुरा पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो अभिव्यक्ति र व्यवहारले प्रस्ट पारेको छ । अहिले ज्ञानेन्द्र शाहले फेरि राजा बनेर अभिभावकको भूमिका निर्वाह गर्ने घोषणा पनि गरिसकेका छन् । उनले २३ असारमा राष्ट्रपति कार्यालय छेवैको निर्मल निवासमा आºनो जन्मदिन निक्कै तामझामका साथ मनाए ।
माओवादी विस्तृत शान्तिसम्झौतामा आइसकेको थिएन । ऊ सशस्त्र युद्धमै थियो । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने र राजतन्त्रका विरुद्ध सशक्त आन्दोलन गर्ने दलहरूबीच सहमति हुँदै थियो, वार्ता पनि चल्दै थियो । त्यसका लागि नेपाली कांग्रेस, कांग्रेस प्रजातान्त्रिक, नेकपा
(एमाले), संयुक्त जनमोर्चा, नेमकिपा, नेकपा माले र सद्भावना पार्टी एकजुट भएर सात दलीय मोर्चाले ०६२/६३ को जनआन्दोलन गरे । माओवादीले पनि उक्त आन्दोलनमा साथ दियो । जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले घुँडा टेके । विघटित प्रतिनिधिसभा पुनस्थापित भयो । जनआन्दोलन सफल भएकामा खुसीयाली मनाइयो । तत्कालीन सात राजनीतिक दल र माओवादीबीच भएको विस्तृत शान्तिसम्झौतापछि संविधानसभाको चुनाव भयो । संविधानसभाको पहिलो बैठकको बहुमतले गड्गडाहट तालिका साथ राजतन्त्र अन्त्य भएको घोषणा गर्‍यो । गणतन्त्रको पक्षमा सडकमा खुसीयाली मनाइयो, घरघरमा दीपावली गरियो । तर, अहिले जसरी सातदलसँग राजतन्त्र राख्ने सहमति भएको थियो भन्दै ज्ञानेन्द्र शाहले आफू फेरि राजा हुने सपना देखिरहेका छन्, त्यसको यथार्थता तत्कालीन सात दल, नेतृत्वकर्ता वा ज्ञानेन्द्र शाह आफैँ जानुन् । यदि त्यस्तो सहमति भएको थियो भने त्यो जनतामाथि नेताको गद्दारी हो । त्यसैले या त उनीहरू गणतन्त्रका पक्षमै थिएनन् वा त्यस्तो सहमति नगरेसम्म राजतन्त्र हटाउन सकिँदैन भन्ने मानसिकता थियो नेताहरूमा । तर, कुरा जे भए पनि यहाँसम्म आइपुग्दा अहिलेको राजनीतिक नेतृत्व पूर्णत: असफल भएको पुष्टि गर्छ । फरक फरक सिद्धान्तका कारण चार वर्षसम्ममा पनि संविधान बन्न सकेन र संविधानसभा असफल भयो ।
अहिले पूर्वराजा ज्ञानेन्द्र र राजावादीलाई हौस्याउने काम हाम्रै दलका नेताहरूबाट भएको छ । गणतन्त्रसँग हरेक नागरिकका समस्या साटियो, पीडितहरूको व्यथा साटियो, अन्यायमा परेकाहरूको पीडा साटियो, जातीय, भाषिक, लैंगिक र वर्गीय मुद्दा साटियो, समग्रमा सबैका समस्या साटियो गणतन्त्रसँग । त्यसको दोष राजतन्त्रलाई दिइयो । गणतन्त्र आएपछि जसका जे समस्या छन्, सबै समाधान हुन्छन् भनेर विश्वास बाँडियो । अहिले त्यही घमण्ड बोलिरहेको छ ज्ञानेन्द्र शाहमा । अर्बौं रुपियाँ खर्च भइसक्दा पनि संविधान बन्न सकेन । संविधानसभा भंग भइसकेपछि अबको बाटो के भन्ने प्रस्ट छैन । सरकारमा रहेका र सरकारबाहिर रहेका दलहरूबीच दूरी झन्पछि झन् बढ्दैछ । यतिसम्म कि बजेट ल्याउने विषयमा पनि दलहरू विभाजित छन् । बरु राष्ट्रपतिलाई नै विवादमा तान्ने अधिकतम प्रयासहरू भइरहेका छन् दुवै पक्षबाट । राष्ट्रियताका पक्षमा सबै दल एकमत छैनन् । सबैदल एकजुट हुनुपर्ने बेलामा टुटफुट, गुट–उपगुट रोकिएको छैन । जातीय राजनीतिले सामाजिक सद्भाव खलबलिँदै छ । त्यसको अन्त्य गरी गणतन्त्रलाई फलिफाप बनाउन दलहरू अझै पनि नलाग्ने हो भने पूर्वराजा र राजावादीहरू अझै सल्बलाउनेछन् ।

प्रतिक्रिया