गुप्ताको हत्या रहस्यमय बन्दै

वीरगन्ज, २५ असार । बिन्दास एफएमका प्रबन्ध निर्देशक सन्तोष गुप्ताको हत्याघटना रहस्यमय बनेको छ ।

गुप्ताको हत्याका विषयलाई लिएर एफएमकै लगानीकर्ताबीच पनि मतभेद देखिएपछि हत्या रहस्यमय बनेको हो । एफएममा गुप्ताको चार लाख रुपियाँ लगानी रहे पनि एफएमका अर्का लगानीकर्ता एवं अध्यक्ष आरसी यादवले उनको लगानी नभएको दाबी गरेपछि हत्या रहस्यमय बनेको हो ।
वीरगन्जमा आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले गुप्ता एफएमसँग सम्बन्धित व्यक्ति नै नभएको जिकिर गरेपछि गुप्ताको हत्या प्रहरीका लागि अनुसन्धानमा चुनौती बनेको छ । त्यसो त अध्यक्ष यादवले शनिबार पनि गुप्ताको हत्या नभई बस चढ्ने क्रममा लडेर मृत्यु भएको प्रतिक्रिया दिएपछि घटनाबारे अनेक आशंका उठेको थियो ।
शुक्रबार राति भारत विहारको मोतीहारी ढाकास्थित चिरैयामा मृत भेटिएका गुप्ताको विषयमा मिडियाले गलत प्रचार गरेको यादवले दाबी गरे । हत्याको खबर पाएर शनिबार यादव घटनास्थल पुगेका थिए ।
एफएमका अर्का लगानीकर्ता एवं निर्देशक पन्नालाल पटेलले आइतबार सौर्यसँगको कुराकानीमा गुप्ताको हत्या नै भएको जिकिर गरे । ‘अज्ञात समूहले विज्ञापनको बहानामा मोतीहारीमा बोलाएर अपहरण गर्ने योजना बनाएको थियो,’ साहले भने, ‘अपहरण सफल नभएपछि हत्या भएको हुन सक्छ ।’
शनिबार घटनास्थलमा अध्यक्ष यादवसँगै साह पनि गएका थिए । साहले एफएममा गुप्ताको पनि लगानी रहेको स्विकारे । तर गुप्ताको कति रकम लगानी छ भन्ने उनले खुलाएनन् । गुप्ताको शव शनिबार नै मोतीहारीमा पोस्टमार्टम गरिए पनि रिपोर्ट पाँच दिनपछि मात्र आउने मोतीहारीका एसपी गणेश कुमारले बताए ।
मोतीहारी प्रहरीले पनि गुप्ताको हत्या भएको आशंका गरेको छ । आइतबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले एफएममा गुप्ताको लगानी नै नभएको दाबी गरेपछि उनीमाथि पनि अनुसन्धान गरिनुपर्ने ठहरमा पर्सा प्रहरी पुगेको छ । पत्रकार सम्मेलनमा सहभागी फोटो पत्रकारहरूले एफएमको उद्घाटनका बेला भएको पूजामा साह र गुप्तासमेत सहभागी भएको तस्बिरसमेत देखाएपछि अध्यक्ष यादवले पत्रकारहरूले आफ्नो कार्यालयको कम्प्युटरबाट दादागिरी गरेर महत्त्वपूर्ण सूचना चोरी गरेको आरोप पनि लगाए । गुप्ताको मृत्युको खबरपछि शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट पुगेको प्रहरी टोलीले एफएमको वीरगन्ज पानीटंकीस्थित कार्यालयमा खानतलासी गरेर गुप्तासँग सम्बन्धित प्रमाणहरू संकलन गरेको थियो ।
गुप्ताले ०६३ मा बाराको भवानीपुरबाट जन्मका आधारमा अंगीकृत नागरिकताको प्रमाणपत्र लिएका थिए । अंगीकृत नागरिकता छानबिनमा पर्न सक्ने भएकोले नेपाली नागरिकता भएकी आफ्नी श्रीमतीको नाममा एफएमको सेयर हस्तान्तरण गर्ने उनले योजना बनाएको बुझिएको छ । गुप्ताकी पत्नी गर्भवती भएकीले शिशु जन्मिएपछि अनुकूल समय मिलाएर काठमाडौं गएर सञ्चार मन्त्रालयमा सेयर नामसारीको कागजपत्र तयार पार्ने सहमति पनि एफएमका सञ्चालकबीच भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । एफएममा रौतहटका यादव, पर्सा सिसियाडी बैरियाका साह र गुप्ताको लगानी रहेको छ ।

प्रतिक्रिया