पार्टी त्याग्ने रहर छैन : उपाध्यक्ष राई

काठमाडौं, २४ असार । नेकपा (एमाले)मा जातीय पहिचानसहितको संघीयतामा जान पार्टीलाई दबाब दिँदै आएका उपाध्यक्ष अशोक राईले आफूहरूलाई पार्टी छाड्ने रहर नभएको स्पष्ट पार्दै प्रमुख राजनीतिक दलहरूले परिवर्तनलाई आत्मसात् गर्न नसके नयाँ पार्टी बन्ने बताएका छन् । पार्टीको अनुशासन आयोगले उनीलगायत १० जना असन्तुष्ट नेताहरुलाई स्पष्टीकरण सोधेको अवस्थामा उपाध्यक्ष राईले यस्तो धारणा व्यक्त गरेका हुन् ।
नारदमुनी थुलुङ स्मृति परिषद्ले शनिबार राजधानीमा गरेको कार्यक्रममा उपाध्यक्ष राईले उत्पीडितहरूको अधिकार स्थापित गर्न आफू पार्टीभित्र बसेर संघर्ष गर्ने पक्षमा रहेको जानकारी दिँदै पार्टीले उत्पीडितहरूको अधिकार सम्बोधन नगरे नयाँ शक्ति बनाएर अघि बढ्ने बताए । ‘पार्टी छाडेर जाने कुनै रहर छैन तर पार्टीले उत्पीडितहरूको अधिकार सुनिश्चित नगरे बाध्यता हुनेछ,’ उनले भने, ‘उत्पीडितहरूको अधिकार स्थापित गर्न पार्टी सकारात्मक हुनेमा अझै आशावादी छु ।’
उनले पार्टी कसैको इच्छा र रहरले नभई समयले बनाउने उल्लेख गर्दै नयाँ शक्ति स्थापना अहिलेको आवश्यकता भएको दाबी गरे । व्यापक छलफल र तयारीविना पार्टी गठन गर्न नहुने उनको भनाइ थियो । ‘एउटा गायकले स्टेजमा गीत गाउनुअघि स्टेज, दर्शक, साउन्ड सिस्टम, सबै तयारी हुनुपर्छ, सबै तयारीविना गायकले गीत गाए त्यसको अर्थ हुँदैन । अहिले पार्टीका लागि सबै तयारी भइसकेको छैन,’ उनले भने ।
उनले संविधानसभाबाहिरबाट आयोग बनाएर नयाँ संविधान बनाउने विषयमा भएको छलफलप्रति आपत्ति जनाउँदै राजनीतिक र संवैधानिक संकटको निकासका लागि सबैभन्दा उत्तम विकल्प संविधानसभा पुन:स्थापना भएको दोहोर्‍याए । संविधानसभा पुन:स्थापनाअघि प्रमुख दलहरू र सरोकारवालाबीच पहिचानसहितको संघीयतामा सहमति हुनुपर्ने उनले स्पष्ट पारे ।
‘पहिचानसहितको संघीयतामा सहमति गरेर छोटो समयका लागि संविधानसभा पुन:स्थापना गरेर संविधान जारी गर्नुपर्छ,’ उनले भने, ‘तर दलहरूबीचको मात्रै सहमतिले हुँदैन, सबैको सहभागिता हुनुपर्छ ।’
कार्यक्रममा २००७ सालको क्रान्तिका योद्धाहरू डोनस ग्रान्डन, श्यामकुमार तामाङ र आङदन्डी लामालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया