बन्द फिर्ता पछि जनजीवन समान्य

काठमाडौं, २२ असार । ललितपुरको बन्द फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य तर्फ उन्मुख भएको छ ।
बागमतीबाट हटाईएका सुकुम्वासीलाई सुन्दरीघाटमा राख्ने सरकारी निर्णयको विरोधमा स्थानीयले आज जिल्ला बन्द आह्वान गरेका थिए । बन्दका कारण ललितपुरको सवारी आवागमन, बजार, पसललगायत प्रभावित भएको थियो । सरकारी निर्णय फिर्ता गराउन स्थानीयले थप आन्दोलनका कार्यक्रम गर्ने जनाएका छन् ।
अपरान्ह आन्दोलनकारीले ललितपुरमा कोणसभा गरेर बन्द फिर्ता लिएलगत्तै सवारी आवागमनलगायत जनजीवन सामान्य हुँदै आएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
सरकारले सुकुम्वासी बसाउन भन्दै सुन्दरीघाटमा टहरा बनाउन थालेपछि चर्को बिरोध भएको छ । यस अघि सरकारले सुकुम्वासी बसाउने भन्दै चोभारस्थित हिमाल सिमेन्टको जग्गामा सुकुम्वासी बसाउने योजनाको कीर्तिपुरका स्थानीयले विरोध गरेपछि विफल भएको थियो ।
स्थानीय तथा पाटनवासीको जग्गा रहेको उक्त क्षेत्रमा सरकारले २०३२ सालमा ढल प्रशोधन गर्न भनेर अधिग्रहण गरेको थियो ।

प्रतिक्रिया