क्षत्री पोर्चुगलको क्लबमा


नयाँदिल्ली, २२ असार । नेपाली मूलका भारतीय फुटबलर सुनील क्षत्री पोर्चुगाली क्लब स्पोर्टिङ लिस्वनसँग आबद्ध भएका छन् । पोर्चुगलको चर्चित फुटबल क्लब लिस्वनले भारतीय राष्ट्रिय फुटबल टिमका कप्तानसमेत रहेका यी फरवार्डलाई २ वर्षका लागि अनुबन्धन गरेको हो । क्षत्रीले उक्त क्लबको ‘बी’ टिमका लागि खेल्ने जनाइएको छ । ‘भारतमा फुटबलको विकासका लागि स्थानीय निकायसँग सहकार्य गर्न हामी तयार छौँ ।’ स्पोर्टिङ लिस्वनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२७ वर्षीय क्षत्री भारतकै ‘शान’ भएको बताउँदै उक्त क्लबले भनेको छ, ‘क्षत्रीले ती युवा फुटबलरको सपना प्रतिनिधित्व गर्छन् जसको युरोपमा फुटबल खेल्ने सपना हुन्छ ।’ यता खेलकुद दैनिक ‘रेकर्ड’ ले सुनीललाई आबद्ध गर्ने स्पोर्टिङ लिस्वनको निर्णय व्यापारिक रणनीतिको उपज भएको जनाएको छ । ‘बी’ टिमका खेल भारतमा पनि प्रसारण हुनेछन् ।’ उक्त अखबारले लेखेको छ, ‘मुख्य अर्थात् ‘ए’ टोलीको खेल पनि भारतमा प्रसारण हुने सम्भावना छ जुन अहिले चीनमा पनि प्रसारण भइरहेको छ ।’ सन् २००२ मा भारतीय क्लब मोहन बगानबाट व्यावसायिक फुटबल खेल्न थालेका क्षत्री पछिल्लो केही महिना मोहन बगानसँगै आबद्ध थिए । यसबीचमा उनले इस्ट बंगाल, जेसिटी, डेम्पो, कप्पास, युनाइटेड स्पोर्ट्स क्लबका लागि पनि खेले ।
भारतका लागि ५८ पटक खेल्ने क्रममा उनले ३३ गोल गरेका छन् । भारतले पछिल्लो समय प्राप्त गरेका क्षेत्रीय सफलतामा प्राय: सुनील नै नायक बन्ने गरेका छन् । सन् २००९ मा सुनीललाई इंगलिस क्लब क्विन्सपार्क रेन्जर्स (क्युपिआर) ले ३ वर्षका लागि अनुबन्धन गरे पनि बेलायतले ‘वर्कपर्मिट’ नदिएपछि उनले सो अवसर गुमाएका थिए । क्युपिआर अहिले इंगलिस प्रिमियर लिगमा छ । क्यिे सन् २००८ को एएफसी च्यालेन्जकप फाइनलमा भारतलाई जित दिलाउने क्रममा हयाट्रिक गरेपछि क्षत्रीमाथि अन्तर्राष्ट्रिय फुटबल समुदायको चासो बढेको थियो ।

प्रतिक्रिया