फ्रेङ्कलिन र फेल्प्स सात–सात स्पर्धामा

न्युयोर्क, २० असार । बेइजिङ ओलम्पिकमा आठ स्वर्णपदक जितेर कीर्तिमान कायम गरेका अमेरिकी पौडीवाज माइकल फेल्प्सले लन्डन ओलम्पिकमा सात स्पर्धामा मात्र सहभागिता जनाउने भएका छन् । उनी २ सय मिटर फ्रिस्टाइलमा सहभागी नहुने भएका छन् । उनको स्थानमा छनोट चरणमा तेस्रो स्थानमा रहेका रेकी बरेन्सले सहभागिता जनाउनेछन् । बेइजिङ ओलम्पिकमा २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका फेल्प्स त्यसपछि दुईपटकको विश्व च्याम्पियनसिपमा पराजित भइसकेका छन् ।
२७ वर्षीय फेल्प्सले विश्व च्याम्पियनसिप र ओलम्पिकमा गरी ३७ स्वर्णपदक जितेका छन् । उनले ओलम्पिकमा मात्रै १४ स्वर्णपदक जितेका छन् । उनको पछिल्लो समय र्‍यान लोक्टेसँग २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा भइरहेको छ । फेल्प्सले नखेल्ने भएपछि लोक्टे नै यो स्पर्धाको दाबेदारको रूपमा रहेका छन् ।
फेल्प्सले बटरफ्लाईका दुई र मेड्लीका दुई स्पर्धाका साथै रिलेका चार स्पर्धामा सहभागिता जनाउनेछन् । उनले छनोट चरणमा २ सय मिटर मेड्ली र फ्रिस्टाइल दुवैमा लोक्टेलाई पराजित गरेका थिए । यसैगरी, लोक्टेले ४ सय मिटर मेड्ली र २ सय मिटर ब्याकस्ट्रोकमा पहिलो स्थान पाएका थिए ।
१७ वर्षीय महिला पौडीवाज मिसी फ्रेङ्कलिनले पनि सात स्पर्धामा सहभागिता जनाउने भएकी छन् । उनले २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ०६.१२ सेकेन्ड समयका साथ पहिलो स्थान हात पारिन् ।
५० मिटर फ्रिस्टाइलमा छनोट भएपछि जेसिका हार्डीले तीन स्पर्धामा सहभागिता जनाउने निश्चित भएको छ । यसअघि उनी १० मिटर फ्रिस्टाइलमा छनोट भएकी थिइन् भने ४ सय मिटर रिले टोलीमा पनि उनी समावेश हुनेछिन् । २००४ र २००८ को ओलम्पिकमा दुई/दुई रजत जितेकी कारा लोयन जोयसले पनि ५० मिटर फ्रिस्टाइलमा सहभागिता जनाउनेछिन् ।
१५ सय मिटरमा शीर्ष दुई स्थान पाउँदै एन्ड्रयु गेमाल र कोनार जागरले पनि सहभागिताको अवसर पाए । यी दुवै पहिलोपटक ओलम्पिकमा सहभागी हुनेछन् ।
५० मिटरमै ४५ वर्षीय चर्चित पौडीवाज डारा टोरेस पाँचौँ स्थानमा सीमित भएपछि उनी यसपटकको ओलम्पिकमा सहभागी नहुने भएकी छन् । ४९ जना खेलाडी समावेश अमेरिकी पौडी टोलीको अन्तिम नामावली तयार भएको छ ।
महिलातर्फ क्यामिल एडम्स, एलिसा एन्डरसन, हेली एन्डरसन, एलिजाबेथ बासेल, रेइथम बोथ्समा, नाथाली काउगलिन र क्लाउरी डानाउची टोलीमा समावेश छन् । यसैगरी, क्याथलिन हर्सी, आरियानन कुकोर्स, ब्रेजा लार्सन, मिचा लाउरेन्स, केटी लेडेकी, केटिलिय लेभरेन्ज र लिया नेयल टोलीमा छन् । अन्य महिला खेलाडीमा लाउरेन पाउडेक, एलिसन स्मिट, रेकेबा सोनी, चोले सुटोन, डाना भोल्मर, साने भरल्यान्ड, अमान्डा वेयर र काटे जिगर टोलीमा रहेका छन् । पुरुषतर्फ नाथन आड्रियन, क्लार्क ब्रुकल, टेली क्लायारी, क्रोनर ड्रोयरलगायत रहेका छन् । बिबिसी

प्रतिक्रिया