सारापोभा चौथो चरणबाट बाहिरिइन्

लन्डन, १९ असार । फ्रेन्च ओपन जितेर सम्पूर्ण ग्रान्डस्लाम जित्ने धोको पूरा गरेकी विश्व नम्बर एक मारिया सारापोभा वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस विम्बल्डनको चौथो चरणबाट बाहिरिएकी छन् । महिला एकलतर्फ सोमबार भएको खेलमा रसियन सुन्दरी सारापोभा जर्मनीकी सबाइन लिसिस्कीसँग सोझो सेटमा पराजित भइन् । करिब एक महिनाअघि मात्र फ्रेन्च ओपन जितेर सारापोभा विश्व नम्बर एक भएकी थिइन् । आफ्नो पहिलो ग्रान्डस्लाम उपाधिका रूपमा सारापोभाले सन् २००४ मा १६ वर्षको उमेरमा विम्बल्डन जितेकी थिइन् । लिसिस्कीविरुद्धको खेलमा सारापोभा ६–४ र ६–३ ले पराजित भइन् ।
चोटका कारण लामो समय कोर्टबाहिर रहेर पुन: टेनिसमा फर्किने क्रममा सारापोभा पछिल्लो समय हरेक प्रतियोगितामा बलियो दाबेदारका रूपमा थिइन् । सन् २००२ पछि फ्रेन्च ओपन र विम्बल्डन एकै वर्षमा जित्ने पहिलो खेलाडी बन्ने अभियानमा पनि थिइन् सारापोभा । यता, लयमा फर्कन संघर्ष गरिरहेकी पूर्व विश्व नम्बर एक सेरेना विलियम्स भने अर्को कठिन परीक्षा पास गरेर क्वार्टरफाइनल पुगिन् ।
१३ वटा ग्रान्डस्लाम विजेता अमेरिकी सेरेनाले ६५औँ वरियताकी यारोस्लाभा स्भेदोभाविरुद्ध तेस्रो तथा अन्तिम सेटपछि मात्र नतिजा आफ्नो पक्षमा पारेकी थिइन् । पहिलो सेट ६–१ ले जिते पनि दोस्रो सेट २–६ ले गुमाएकी सेरेनाले निर्णायक सेट भने ७–५ ले जितेकी हुन् । प्रतिस्पर्धात्मक तेस्रो सेटमा सुरुवाती अग्रता लिए पनि ४–४ को स्थितिमा पुगेकी सेरेनाले त्यसपछि तीनपटक ब्रेक प्वाइन्ट गुमाए पनि उनलाई भाग्यले राम्रो साथ दिएको थियो । यसअघि तेस्रो चरणको खेलमा चिनियाँ खेलाडी झेङ जिएविरुद्ध भिडेकी सेरेनाले जितका लागि तीन सेट खेल्नुपरेको थियो, जसमा उनी तेस्रो सेटमा ९–७ ले विजयी हँुदै यस प्रतियोगितामा यात्रा कायम राख्न सफल भएकी थिइन् । वाइल्ड कार्ड प्राप्त स्भेदोभाले तेस्रो चरणमा फ्रेन्च ओपन उपविजेता सारा एरानीलाई हराएकी थिइन् ।
सोही स्पर्धाका अन्य खेलमा तेस्रो वरियताकी अग्नेयस्का राडोभस्का, पेट्रा केभिटोभा र एन्जेली कर्बर क्वार्टरफाइनलमा पुगेका छन् । यसैगरी, पुरुषतर्फ पूर्वविजेता रोजर फेडेरर जाभियर मालिसेलाई ७–६, ६–१, ४–६ र ६–३ ले हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया