राहत टाठाबाठालाई मात्र

पोखरा, १९ असार । ‘शरीरबाट अझै गोली निकाल्न सकिएको छैन,’ लोकतान्त्रिक गणतन्त्रका लागि ज्यानको बाजी लगाएर आन्दोलनमा उत्रिएकी थापाठाना पर्वतकी पार्वती पौडेलले भनिन्, ‘द्वन्द्वपीडितका नाममा आएको राहत त नेताहरूले बाँडेर पो खाएछन् ।’

पौडेलजस्तै जनआन्दोलन–०६२/६३ मा घाइते भएका पीडितहरू अहिले पनि घाउ बोकेर बसेका छन् । तर, शान्ति तथा पुन:निर्माण मन्त्रालयले द्वन्द्वपीडितका नाममा दिएको राहत भने राजनीतिक दलका नेता तथा कार्यकर्ताले बाँडेर लिएपछि जनआन्दोलनका घाइतेहरूको घाउ मात्र बल्झिएको छैन, मन पनि दुखेको छ । पश्चिमाञ्चल क्षेत्रमा मन्त्रालयबाट द्वन्द्वपीडितको राहत बुझ्नेमा दलका नेता–कार्यकर्ता परे पनि घाइतेहरूले पाउन सकेका छैनन् ।
‘शरीरमा अझै छर्रा छन्,’ पौडेलले भनिन्, ‘घरको आर्थिक अवस्था कमजोर भएकोले उपचार गरेर छर्रा निकाल्न सकिएन ।’ मन्त्रालयको राहत इकाइका प्रमुख गणेशप्रसाद उपाध्यायसँग पश्चिम नेपालका जनआन्दोलनका घाइतेहरूले राहत वितरणमा अनियमितता भएको गुनासो गरेका हुन् । ‘मेरो पनि नाम रहेनछ,’ कास्कीका नेत्रपाणि सुवेदीले भने, ‘आन्दोलनमा हिँड्दा ढाड खुस्केको थियो तर राज्यबाट अहिलेसम्म उपचार खर्च पनि पाइन ।’
स्थानीयस्तरमा गठन हुने शान्ति समितिले दलगतरूपमा घाइतेको रेकर्ड राख्ने गरेकोले जनआन्दोलनका घाइतेहरूले राहत पाउन नसकेका हुन् । जनआन्दोलन र द्वन्द्वपीडितका नाममा राहत दिइएकाहरू अधिकांश राजनीतिक दलका नेता–कार्यकर्ता परेका छन् ।

मन्त्रालयले प्रकाशन गरेको पुस्तक तथा वेबसाइडमा राहत पाउनेमा एकीकृत नेकपा (माओवादी)का पूर्वसभासद्, पोलिटब्युरो सदस्यदेखि जिल्ला सक्रेटरीसम्म परेका छन् । यस्तै, नेपाली कांग्रेसका जिल्ला सभापति र एमालेनिकट विद्यार्थी संगठनका नेता पनि राहत लिनेमा परेका छन् ।

राहत पाउनेमा एमाओवादीका पोलिटब्युरो सदस्य हितराज पाण्डेको नाम छ । उनले जनआन्दोलनका घाइतेका नाममा ८० हजार रुपियाँ बुझेका छन् । रकम बुझ्नेमा १९ माघ ०५९ मा राजाको शाही कदमका बेला कुटाइ खाएका कास्की लेखनाथ–१२ का दिलिप न्यौपाने पनि छन् । उनलाई त्यतिबेला मरणासन्न हुने गरी कुटिएको थियो । तर उनलाई जनआन्दोलनका घाइतेको सूचीमा राखेर रकम दिइएको छ । एमालेनिकट विद्यार्थी संगठनका नेता उनले २५ हजार रुपियाँ लिएका छन् ।
यस्तै, रकम लिनेमा एमाओवादी पर्वतका सेक्रेटरी कृष्णबहादुर विक पनि छन् । उनले मन्त्रालयबाट १० हजार रुपियाँ लिएका छन् । नेपाली कांग्रेस बाग्लुङ जिल्ला सभापति प्रकाश शर्मा पौडेलले पनि १० हजार रुपियाँ लिएका छन् भने कास्कीका जिल्ला सदस्य गिरिराज गौतमले १० हजार रुपियाँ बुझेका छन् । नेविसंघका नेता भीम श्रीशले १० हजार रुपियाँ र एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कास्कीका अध्यक्ष विष्णु गौतमले अंगभंग तथा घाइतेबापत ४० हजार रुपियाँ बुझेका छन् ।
जनआन्दोलनका घाइतेको नाममै एमाओवादीका पूर्वसभासद् परशुराम रम्तेलीले समेत ४० हजार रुपियाँ बुझेको मन्त्रालयले जनाएको छ । सरकारले विभिन्न आन्दोलन तथा युद्धमा घाइते भएकाहरूको लागि मल्हम लगाउने बहानामा बाँडेको राहत रकम वास्तविक घाइते तथा पीडितसमक्ष नपुगेको अधिकारकर्मी खगराज अधिकारीले बताए ।

प्रतिक्रिया