कठिन संघर्षपछि फेडेरर चौथो चरणमा

विम्बल्डन, इंगल्यान्ड, १७ असार । लुकास रोसोल नाम गरेका एकजना प्राय: अज्ञात चेक खेलाडीबाट स्तब्ध बनेका विश्व टेनिसप्रेमीहरूले शुक्रबार हतारो गर्दै विम्बल्डन कोर्टतिर आँखा दौडाए । फेरि एक अर्को चरम नाटकीय दिनजस्तो देखिन लागेको समयमा त्यो नाम फेरिएर फ्रान्सेली खेलाडी जुलियन बेनेटेउ हुनै आँटेको थियो । तर रोजर फेडेररले राफेल नाडालको बाटो हिँड्न अस्वीकार गरे र तेस्रो चरणको भिडन्तमा पहिला दुई सेटमा लगातार हारेको अवस्थाबाट रोमाञ्चक ‘फाइट ब्याक’ गर्दै ती फ्रान्सेली प्रतिद्वन्द्वीलाई ३ घन्टा ३४ मिनेटको खेलपछि ४–६, ६–७, ६–२, ७–६, ६–१ ले पराजित गरी छाडे ।
दोस्रो वरीयताप्राप्त तथा दुईपटकका पूर्वविजेता नाडाल बिहीबार राति भएको खेलमा साढे ६ फिट अग्ला २६ वर्षीय चेक खेलाडी लुकास रोसोलद्वारा पाँच सेटमा ६–७, ६–४, ६–४, २–६, ६–४ ले पराजित भई यस वर्षको विम्बल्डनबाट बाहिरिएका थिए । रोसोल १००औं वरीयताका खेलाडी हुन् । नाडालको बहिर्गमन आधुनिक ग्रान्डस्लाम टेनिस इतिहासकै ठूलो ‘अपसेट’ हो ।
कतिपय मानिस पाँच सेट खेल्नुपर्ने प्रावधानले गर्दा फेडेररले अब अरू कुनै ग्रान्डस्लाम उपाधि जित्न सक्दैनन् भन्छन् । यो कुरा सुनाउँदा वा सोधिंदा फेडेरर हाँस्छन् मात्र र उनी फेरि त्यसैगरी हाँसिरहेका थिए जतिबेला उनले आफ्नो खेललाई अनपेक्षित उचाइसम्म पुर्‍याएका प्रतिद्वन्द्वीविरुद्ध सानदार परिणाम ल्याएका थिए । तेस्रो वरीयताका फेडेरर र २९औं वरीयताका बेनेटेउ दुवैजना तीस वर्ष पुगिसकेका छन् तर तेस्रो सेटसम्म आइपुग्दा फ्रान्सेली बेनेटेउ बढी थाकेका र गलेका देखिएका थिए । पाँचौं सेटमा त उनी बेलाबखत तिघ्रामा मसाज गर्दै गरेकोसमेत देखिएको थियो । तर उनी फेडेररका ‘र्‍याकिङ ड्राइभ’ को जवाफ दिन पूर्णत: असफल देखिए ।
३२ वर्षीय बेनेटेउ पछिल्ला १० वर्षदेखि सक्रिय टेनिसमा छन् र उनी एउटै पनि एटिपी एकल उपाधि जित्न नसकेका सबैभन्दा राम्रा खेलाडी पनि हुन् ।
‘यो निकै कठिन म्याच थियो, फेडेररले म्याचपछि भने, ‘कतिपय बेला त यो निकै क्रूर पनि हुन पुग्यो । बेनेटेउ निकै राम्रो खेले । मलाई भने कुनै आश्चर्य लागेको थिएन किनभने पछिल्लोपटक हामी पेरिस इन्डोर टेनिसमा भिड्दा उनले मलाई पराजित गरेका थिए तापनि दुई सेटमा शून्यले पछाडि परेको अवस्थामा तपाईं शान्त रहन सक्नुपर्छ, प्वाइन्ट टु प्वाइन्ट सोचेर ध्यान केन्द्रित गर्नुपर्छ । सुन्दा दिक्कलाग्दो लागे पनि तपाईंले गर्नुपर्ने त्यही नै हो ।’
बेनेटेउले पाँचौं सेटमा आफूलाई संकट परेको बताउँदै भने, ‘सबै कुरा ठीक थियो । मैले दुई सेट जितिसकेको थिएँ । तेस्रो सेटमा पनि उनी (फेडेरर) पहिला दुई गेम हारिसकेका थिए तर उनले कुनै उत्तेजना वा हतास केही देखाएनन् । मेरो स्तर खस्केपछि उनले क्रमश: अवसर छोप्दै गए र त्यसैकारण नै उनी, उनी हुन् ।’ अब ६ पटक विम्बल्डन उपाधि जितिसकेका फेडेररले क्वार्टरफाइनल प्रवेशका लागि अनसिडेड बेल्जियन खेलाडी जाभियर म्यालिसविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि नोभाक जोकोभिक पनि चेक प्रतिद्वन्द्वी राडेक स्तेपानेकविरुद्ध पहिलो सेटमा हारेका थिए तर उनी फेडेररले भन्दा धेरै छिटो ‘रिकभर’ गर्दै ४–६, ६–२, ६–२, ६–० ले विजयी हुँदै चौथो चरणमा प्रवेश गर्न सफल भए ।
यसैगरी अमेरिकाका ‘बिग स्याम’ भनिने स्याम क्वेरी क्यानाडाका मिलोस राओनिकलाई ६–७, ७–६, ७–६, ६–४ ले पराजित गर्दै तेस्रो चरणमा पुगेका छन् । क्वेरी तेस्रो चरणमा १६औं वरीयताका म्यारिन सिलिकविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ शीर्ष वरीयताकी रुसी खेलाडी मारिया सारापोभा ताइवानकी ह्शेह सु–वेईलाई ६–१, ६–४ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी छन् । अर्को चरणमा उनले जर्मन प्रतिद्वन्द्वी सबाइन लिसिस्कीविरुद्ध भिडन्त गर्नेछिन् । खेलजीवनबाट अवकाश लिनुअघिको अन्तिमपटक विम्बल्डन खेलिरहेकी पूर्वनम्बर–१ तथा सन् २००३ र २००६ की सेमिफाइनलिस्ट किम क्लाइसटर्स रुसी प्रतिद्वन्द्वी भेरा भोनारेभाले श्वासप्रश्वासससम्बन्धी समस्याले गर्दा सेरेना विलियम्सविरुद्ध खेल्दाखेल्दै म्याच परित्याग गरेपछि सेरेनासँगै अन्तिम १६ को समूहमा प्रवेश गरेकी छन् ।
यसैगरी भिक्टोरिया अजारेन्का, पेट्रा केभिटोभा, योरोस्लाभा स्भेदोभा, एना इभानोभिक र फ्रान्सेस्का सियाभोन पनि तेस्रो चरणका आआफ्ना म्याच जितेर चौथो चरणमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया