निर्वाचित निकायबाटै संविधान जारी हुनुपर्छ


लोकतान्त्रिक फोरमबाट अलग्गिएका शरत्सिंह भण्डारीले केही दिनअघि मात्र राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका छन् । मधेसलाई केन्द्रित गरेर गठन गरिएको यो पार्टीले हिमाल, पहाड र तराईका मुद्दालाई पनि सम्बोधन गर्ने जनाएको छ । नयाँ पार्टीलाई सशक्त रूपमा अघि बढाउन भण्डारी यतिखेर निकै क्रियाशील रहेका छन् । यही सेरोफेरोमा केन्द्रित रही उनीसँग सौर्य प्रतिनिधि भुवन शर्माले गरेको कुराकानी :

मधेसवादी दलहरू फुट्ने क्रमसँगै तपाईंले नयाँ पार्टी खोल्नुभएको छ, यो पार्टी अरू मधेसवादी दलभन्दा के फरक हुन्छ ?
हामीले हाम्रो कुरा प्रस्टसँग राखेका छाँै । हामीले मुद्दाका आधारमा मात्र होइन, विचारको आधारमा पार्टी खोलेका छौ । समाजवादी विचारको आधारमा हामीले नयाँ पार्टी दर्ता गरेका छौँ । हाम्रो पार्टी विभेदको विरोधमा लड्ने छ । विभेदबाट विद्रोह हुन्छ र विद्रोहबाट विखण्डन हुन्छ । एउटा परिवारभित्र पनि त्यही स्थिति हुन्छ । त्यसकारण विभेदलाई समाप्त गरेर मुलुकलाई अगाडि बढाउने, देशमा राष्ट्रियताको भावना जागृत गर्ने हाम्रो काम हुनेछ । मधेसमा रहेका मधेसी नेपाली, पहाडमा रहेका पहाडी नेपाली र हिमालमा रहेका हिमाली नेपालीलाई एकसूत्रमा जोड्ने काम हामीले गर्नेछौँ । विभेदको समाप्ति गरेर उनीहरूलाई एउटै सूत्रमा जोड्न सकिन्छ ।
विभेदको समाप्ति गर्न हामीले राजनीतिक मुद्दालाई मात्र आधार बनाएका छैनाँै, आर्थिक, सामाजिक रूपान्तरणमा देखिएका विभेदका मुद्दालाई पनि लिएर जानेछौँ । देश आर्थिक रूपमा सम्पन्न नभएसम्म देशमा विभेदहरू समाप्त हुँदैनन् । संघीय संरचनामा र लोकतान्त्रिक मान्यताको आधारमा देशभित्र रहेका सबै जातजाति, धर्म, सम्प्रदायलाई एकठाउँमा ल्याई समाजभित्र रहेका विभेदहरू समाप्त गर्दै हामी अघि बढ्ने छौँ । देशलाई आर्थिक रूपमा बलियो बनाउन मुलुकमा क्रान्ति गर्नु आवश्यक छ । मधेस देशको भौगलिक र आर्थिक रूपमा निकै महत्त्वपूर्ण भू–भाग हो । मधेसको विकास र पहिचानले मात्र नेपालको विकास र पहिचान हुन्छ भन्ने हाम्रो मान्यता हो । मधेस एउटा भू–भाग मात्र होइन, एउटा जीवन संस्कृति पनि हो । मधेसको भौगलिक र सांस्कृतिक मूल्य र मान्यतालाई बोक्दै समृद्ध मधेसका लागि हामी प्रतिबद्ध छौँ । मधेसको विकासका लागि कृषिक्रान्ति आवश्यक छ । चुरे रेन्जको संरक्षण गर्नु अहिलेको महत्त्वपूर्ण काम हो । यसका लागि साझेदारी वनको अवधारणालाई अगाडि बढाउनु आवश्यक छ । मधेसभित्र पनि विभेदहरू छन्, ती विभेदलाई पनि समाप्त गर्नुपर्छ । मधेस, पहाड र हिमाललाई एकढिक्का बनाउँदै सबैले एक–अर्कोलाई सम्मान र सहअस्तित्व कायम राख्दै हामी अगाडि जानेछौँ ।
तपाईंहरूले गठन गर्नुभएको दल मधेसवादी दल हो कि होइन ?
हाम्रो दल मधेसवादी दलभन्दा पनि विभेदविरोधी दल हो । मधेस, पहाड र तराईमा विभेदरहित समाज स्थापित गर्ने काममा हामी अगाडि बढ्नेछौँ । मधेस अहिले आन्तरिक उपनिवेशको सिकार भएको छ । यो हिसाबले मधेस अहिले बढी विभेद र उत्पीडनमा परेको छ । मधेसले आफूलाई मूलधारमा जोड्न सकेको अनुभूति गर्न सकेको छैन । त्यसकारण हामीले हाम्रो कार्यक्षेत्र मधेसलाई केन्द्रित गरेका हाँै । मधेसको साथै आदिवासी जनजाति र उत्पीडनमा परेका सबै क्षेत्रमा हामी क्रियाशील छौँ । विभेदहरू जहाँ छन्, हामी त्यहाँ छौँ । हाम्रो पार्टी विचार बोकेको पार्टी हो । विचार बोकेको पार्टीले कुनै भू–भाग मात्र हेर्दैन, सिंगो देश हेर्छ । मधेसलाई केन्द्रविन्दुमा राखेर हामीले विचारको राजनीति गर्न खोजेका छौँ ।
तपाईंको पार्टी लोकतान्त्रिक फोरमबाट फुटेको पार्टी होइन र ?
यो लोकतान्त्रिक फोरमबाट फुटेको दल होइन । लोकतान्त्रिक फोरम परित्याग गरेका नेताको प्रयासबाट हिमाल, पहाड र तराईलाई समेट्दै नयाँ गठन गरेको पार्टी हो । नेपालको कानुनअनुसार लोकतान्त्रिक फोरमबाट फुट्ने दुईवटा प्रक्रिया छन्, एउटा प्रक्रिया संसदीय दलबाट र अर्को प्रक्रिया केन्द्रिय समितिबाट । लोकतान्त्रिक फोरमको विदेभकारी नीति, स्वेच्छाचारी, अधिनायकवादी नेतृत्वको विरुद्धमा विद्रोह गरेर पार्टी परित्याग गरेर आएका साथीहरूको प्रयासमा यो दल बनेको हो । लोकतान्त्रिक फोरमबाट फुट्यो भन्नुको अर्थ छैन ।
चुनाव भयो भने तपाईंहरू चुनावमा जानुहुन्छ ?
हाम्रो दल चुनावकै तयारीमा लागेको छ । निश्चित रूपमा हामीले चुनावलाई स्वागत पनि गर्छौं । हामी जनताको म्यान्डेटलाई विश्वास गर्छांै ।
चुनाव भयो भने मधेसको सबैभन्दा ठूलो दल हुन्छ भन्ने तपाईंहरूको दाबी हो ?
यो हाम्रो आकांक्षा हो । कसलाई ठूलो दल बनाउने र कसलाई सानो दल बनाउने यो जनताको अधिकारको कुरा हो । जनताको अधिकारमाथि यही हुन्छ भनेर हामी दाबी गर्दैनाँै । चुनावमा जनताले कसलाई ठूलो दल बनाउँछन् र कसलाई सानो दल बनाउँछन् त्यो चुनावपछि देखिने कुरा हो । जनताको अधिकारलाई पहिले नै खोसेर म ठूलो दल बन्छु भनेर दाबी गर्दिनँ । ठूलो दल हुन्छु भनेर आत्मरति देखाउने मान्छे म होइन । मलाई के विश्वास छ, यो पार्टी जनताले बनाएको पार्टी हो । यसमा जनताको भावना गाँसिएको छ । जनताले यो पार्टीलाई विश्वास गर्नेछन् भन्ने मलाई विश्वास लागेको छ । ठूलो दल बनाउँछु भनेर दम्भ गर्दिनँ ।
तपाईंको पार्टीमा अन्य मधेसवादी दलहरूबाट पनि आउँदै छन् ?
हाम्रो पार्टी विचार बोकेको पार्टी भएको हुनाले यो विचार, सिद्धान्तलाई हामीले खुला रूपमा अघि बढाएको छौँ । हाम्रो विचार र सिद्धान्तलाई स्वीकार गर्दै मधेसवादी दलहरूबाट मात्र होइन, अरू दलबाट पनि आउन सक्छन् । सबैलाई हामीले स्वागत गरेका छौँ । लोभ, लालच, डर, त्रास र झुटो आश्वासन दिएर कसैलाई पार्टीमा ल्याउने होइन कि विचार र सिद्धान्त लिएर पार्टी चलाउने हो । हाम्रो पार्टीले विचारमा जोडिन चाहने मान्छेलाई स्वागत गर्दै यसका लागि खुला आकाशका रूपमा रहेका छौँ । उनीहरूको क्षमतालाई निखार्दै निर्बाध रूपमा व्यक्तित्व विकास गर्ने लोकतान्त्रिक मान्यता र परम्परालाई हामीले अंगीकार गर्छौं ।
तपाईंका पछाडि सहयोग गर्नेहरूमा बलिया नेता छैनन् र तपार्इंको राजनीतिको आधार मध्य–मधेस मात्र हो भनिँदैछ नि ?
म यसमा सहमत छैन । नेपालमा बलिया नेता भएको भए सायद संविधान बनिसक्थ्यो होला । बलियो नेता नभएर नै संविधान बन्न सकेन । राष्ट्रिय दलहरूमा पनि बलियो नेता भएको भए नेपालीहरूले यो नियति भोग्नुपर्ने थिएन । दुई–दुई वर्ष म्याद थप हुँदा पनि संविधान बन्न नसक्नुमा नेपालका नेताहरू असफल भइसके । अब नयाँ पिँढीले नेतृत्व लिनुपर्छ । नयाँ नेताहरू जन्मनेछन् । अब नयाँ नेताहरूले पार्टीलाई अगाडि बढाउनेछन् । कसैको नामको आधार पार्टी चल्ने भन्ने कुरा अब रहेन । कसको कति क्षमता छ भन्ने कुरा आगामी चुनावले देखाउनेछ ।
तपाईंले नयाँ पार्टी गठन गर्दा मधेसी दलका नेताहरूको भण्डाफोर गर्छु भन्नुभएको थियो । क–कसको भण्डाफोर गर्नुहुन्छ ?
भण्डाफोर मैले गर्नै पर्दैन । मधेसी जनताले दिएको नासोप्रति मधेसी नेताहरू प्रतिबद्ध भएनन् भनेर मैले प्रस्ट भनिसकेको छु । उनीहरू अझै पनि इमानदार भएर आउने हो भने मधेसी जनताले उनीहरूलाई जय–जयकार गर्नेछन् ।
तपाईंको सहकार्य मधेसी जनअधिकार फोरम नेपालसँग हुन्छ ?
हामी बृहत् मधेसी मोर्चामै आबद्ध छौँ । उहाँहरू पनि यही मोर्चामा हुनुहुन्छ । हिजो दुइटा मधेसी मोर्चा भए, एउटा मोर्चा सडकमा आयो भने अर्को मोर्चा सरकारमा रह्यो । सरकारको मोर्चालाई छोडेर हामी सडकमा गएका थियौँ । अहिले पनि हामी सडकमै छाँै । बृहत् मधेसी मोर्चासँग आबद्ध भएर मधेसी जनता र विभेदमा परेका जनताको हक, हित र अधिकारका लागि लड्ने छौँ । यो लडाइँमा जो आउँछन् ती दलसँग हामी सहकार्य गर्छौं । हामीले कसैसँग पानी बाराबार गरेका छैनौँ । हाम्रो मुद्दामा सहमत हुने हो भने अहिलेको सरकारमा रहेका दलसँग पनि सहकार्य गर्नेछाँै ।
केही दिनअघि तपाईंले राष्ट्रपतिसँगको भेटमा सरकार तत्काल परिवर्तन गर्नुपर्छ भन्ने माग गर्नुभएको हो ?
हटिसकेको सरकारलाई फेरि किन हटाउने ? सरकारले त राजीनामा गरिसकेको छ । अब सहमतिको राष्ट्रिय सरकार बनाउनुहोस् । बाबुराम भट्टराईले छाडिहाल्नुहुन्छ । मैले राष्ट्रपतिज्यूसँग देशमा सहमति चाहिन्छ भनेर भनेको हँु । सहमतिविना यहाँ केही हँुदैन । सहमतिको प्रमाण भनेको राष्ट्रिय सरकर हो । दलहरूबीच सहमति भई राष्ट्रिय सरकार निर्माण गर्नुपर्छ ।
अबको सहमतिको राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने हो ?
यो त सहमतिमा भर पर्ने कुरा हो । सहमति भयो भने जसले पनि सरकारको नेतृत्व गर्न सक्छ । सहमति हुन्छ भने फेरि माओवादीको नेतृत्वमा पनि सरकार बन्न सक्छ ।
अब संविधान निर्माण आयोग गठन गरेर गर्ने कि फेरि चुनाव गरेर ?
यो सहमतिमा हुने कुरा हो । तर, हामी चारजना मान्छेले बनाएको संविधान मान्नेवाला छैनौँ । मधेसी, आदिवासी र उत्पीडनमा परेका जनतालाई संविधान चाहिएको छ । उनीहरूलाई कसैले दयाले दिएको संविधान मान्य हुनेछैन । हामी आफ्नो संविधान आफैँ बनाउँछौ । निर्वाचित निकायबाटै संविधान आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । निर्वाचित निकायबाटै संविधान जारी हुनुपर्छ ।

प्रतिक्रिया