कार्यालय कब्जा गर्दा गोली चल्यो

चितवन, १७ असार । भरतपुरस्थित माओवादी पार्टी कार्यालय प्रयोगको विषयमा एकीकृत नेकपा माओवादी र नवगठित नेकपा–माओवादीका कार्यकर्ताबीच शनिबार बिहान भएको झडपमा गोली चलेको छ । झडपमा दुवै पक्षका १२ कार्यकर्ता घाइते भएका छन् ।

झडपमा उत्तम गुरुङ र सूर्य तामाङलाई गोली लागेको छ । उनीहरू दुवैको खुट्टामा गोली लागेको छ । दुवैको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै एमाओवादी कार्यकर्ता हुन् ।
घाइते भएकामध्ये दुईजना नेकपा–माओवादीका २ नम्बर क्षेत्रीय इन्चार्ज लालसिंह थिङको चितवन मेडिकल कलेज र एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य रमेशकुमार पौडेल, शारदानगर गाविस इन्चार्ज शंकर महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । झडपमा अर्जुन शर्मा, ईश्वरीप्रसाद खनाल, कृष्ण पुडासैनी, रामध्वज डल्लाकोटी, अनक मगर, नारायणप्रसाद आचार्य र वासुदेव पाण्डे घाइते भएका छन् ।
कार्यालयअगाडि एमाओवादीले गरिरहेको कोणसभामा नेकपा–माओवादीका कार्यकर्ताले आक्रमण गरेको आरोप एमाओवादीले लगाएका छन् । नेकपा–माओवादीले भने एमाओवादीका कार्यबाहक जिल्ला इन्चार्ज घनश्याम दाहाल नेतृत्वको समूहले पार्टीको बोर्ड हटाएर त्यहाँ रहेका नेता–कार्यकर्तामाथि आक्रमण गरेपछि झडप भएको दाबी गरेको छ  ।
एमाओवादीका सेक्रेटरी यमबहादुर परियारले कोणसभा भइरहेका बेला नेकपा–माओवादीका कार्यकर्ताले चलाएको गोली लागेर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गुरुङ र थर नखुलेका सुरेश घाइते भएको जानकारी दिए ।
पार्टी कार्यालयको सुरक्षाका लागि पुगेको प्रहरी टोलीको नेतृत्व गरेका इन्स्पेक्टर कुमार थापाले गोली नचलेको दाबी गरे । माओवादीका दुई पक्षबीच झडप हुने स्थिति देखिएपछि कार्यालयमा रहेका नेतालाई सुरक्षित स्थानमा लगेपछि स्थिति सामान्य भएको उनले दाबी गरे । उनले प्रहरीले घटनामा कुनै बल प्रयोग नगरेको र गोली नचलेको बताए । तर, एसपी भूपाल भण्डारीले झडपमा गोली चलेको स्विकारे । उनले प्रहरीले गोली नचलाएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको बताए ।
नेकपा–माओवादीको शनिबारदेखि भरतपुर–६, कृष्णपुरमा रहेको माओवादी पार्टी कार्यालयमा मजदुर संगठनका लागि राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । कार्यक्रमका लागि आएका ताम्सालिङ राज्यसमिति इन्चार्ज सूर्य सुवेदी, राज्यसमिति सेक्रेटरी अनिल विरही, जिल्ला सहइन्चार्ज अम्बिका मुडभरी, जन स्वयंसेवक ब्युरो राज्यसमिति प्रमुख प्रकाश खनाललगायत नेता–कार्यकर्तालाई प्रहरीले पार्टी कार्यालयबाट भरतपुर बसपार्क पुर्‍याएर छाडेको थियो ।
नेकपा–माओवादीको पार्टी कार्यालय सचिव नारायण शर्माले एमाओवादी कार्यकर्ताको आक्रमणबाट जिल्ला सेक्रेटरी मधुर नेपाल, २ नम्बर क्षेत्रीय इन्चार्ज थिङ, जिल्ला सदस्य मोदराज न्यौपाने, वर्षा सापकोटा, सविता नेपाली, प्रवेश तिमिल्सिना, रुपा गुरुङ, मसिनी लामा, विद्यार्थी नेता नरिन तामाङ, वाइसिएल जिल्ला सचिवालय सदस्य राममणि थपलिया, शर्मिला तिमिल्सिना, प्रशान्त चापागार्इंलगायत घाइते भएको दाबी गरे ।
आºना नेता–कार्यकर्तामाथि आक्रमण भएको विरोधमा नेकपा–माओवादीका नेता–कार्यकर्ताले नारायणगढ सहिद चोकमा दिउँसो पौने एक बजेदेखि आधा घन्टा चक्का जाम गरेका थिए । पार्टी कार्यालयमा दुई पक्षबीच झडप भएपछि प्रहरीले पार्टी कार्यालयबाट दुवै पक्षका कार्यकर्ता हटाएर कार्यालय नियन्त्रणमा लिएको छ । कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया