कार्यालयलाई लिएर दुई माओवादीवीच झडप


चितवन, १६ असार । चितवनको भरतपुरमा रहेको माओवादी पार्टी कार्यालय प्रयोगको विषयमा एकीकृत माओवादी र नेकपा–माओवादीका कार्यकर्ताबीच आज बिहान भएको झडपमा दुबै पक्षका ८ कार्यकर्ता घाइते भएका छन् ।
घाइते मध्ये नेकपा माओवादीका २ नम्बर क्षेत्र ईन्चार्ज लाल सिंह थिङ उत्सवको चितवन मेडिकल कजेज, एमाओवादीका जिल्ला सचिवालय सदस्य रमेश कुमार पौडेल, शारदानगर गाविस ईन्चार्ज शंकर महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
झडपमा अर्जुन शर्मा, ईश्वरप्रसाद खनाल, सूर्य तामाङ, उत्तम गुरुङ, कृष्ण पुडासैनीको कलेज अफ मेडिकल साईन्सेजमा उपचार भैरहेको छ ।
कोण सभामा नेकपा–माओवादीका कार्यकर्ताले आक्रमण गरेको एमाओवादीले आरोप लगाएको छ ।
नेकपा–माओवादीले भने एमाओवादीका कार्यबाहक जिल्ला ईन्चार्ज अविनास नेतृत्वको समूहले आफ्नो पार्टीको बोर्ड हटाएर नेता कार्यकर्तामाथी आक्रमण गरेपछि झडप भएको दाबी गरेको छ ।
एमाओवादी चितवनका सेक्रेटरी यमबहादुर परियार ईन्द्रजितले कोणसभा भइरहेका बेला नेकपा–माओवादीका कार्यकर्ताले चलाएको गोली लागेर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङ र थर नखुलेका सुरेशलाई घाइते बनाएको जानकारी दिए ।
दुई पक्षबीचको झडपमा विद्यार्थी नेता नारायाण आचार्य, पार्टीका जिल्ला सचिवालय सदस्य रमेश पौडेल, शारदानगर गाउँ कमिटि ईन्चार्ज शंकर महतोपनि घाइते भएको उनले जनाए ।
झडपका क्रममा प्रहरीले गोली चलाएको एमाओवादीका कार्यकर्तले दाबी गरेका छन् । यद्यपी, प्रहरीले भने गोली चलेको अस्वीकार गरेको छ ।
पार्टी कार्यालयको सुरक्षाका लागि पुगेको प्रहरी टोली नेतृत्व गरेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक कुमार थापाले गोली नचलेको दाबी गरे ।
माओवादीका दुई पक्षबीच झडप हुने स्थिति देखिएपछि कार्यालयमा रहेका नेताहरुलाई सुरक्षित स्थानमा लगेपछि स्थिति सामान्य भएको उनको भनाई छ । निरीक्षक थापाले प्रहरीले घट्नामा कुनै बल प्रयोग नगरेको र अन्य तर्फबाट कसैले गोली चलाएको आफूले थाहा नपाएको बताए ।
नेकपा–माओवादीको शनिबारदेखि कृष्णपुरमा रहेको पार्टी कार्यालयमा मजदुर संगठनका लागि राजनीतिक प्रशिक्षणको कार्यक्रम राखेको थियो । सो कार्याक्रमका लागि आएका ताम्सालिङ राज्य समिति ईन्चार्ज सूर्य सुवेदी पथिक, राज्यसमिति सेक्रेटरी अनिल विरही, जिल्ला सह ईन्चार्ज अम्बिका मुडभरी, जन स्वयम सेवक ब्युरो राज्य समिति प्रमुख प्रकाश खनाल शैलेष लगायतका नेता कार्यकर्तालाई प्रहरीले पार्टी कार्यालयबाट भरतपुर बसर्पाक पुराएर छाडेको थियो ।
यता, नेकपा माओवादीको पार्टी कार्यालय सचिव नारायण शर्माले एमाओवादी कार्यकर्ताको आक्रमणबाट जिल्ला सेक्रेटरी मधुर नेपाल, २ नम्बर क्षेत्र ईन्चार्ज लालसिंह थिङ, जिल्ला सदस्य मोदराज न्यौपाने, वर्षा सापकोटा, सबिता नेपाली, प्रवेश तिमिल्सिना, रुपा गुरुङ, मसिनि लामा, विद्यर्थी नेता नरिन तामाङ, वाईसिएल जिल्ला सचिवालय सदस्य राममणी थपलिया, शर्मिला तिमिल्सीना, प्रसान्त चापागार्इंलगायत घाइते भएको दाबी गरेका छन् ।
आफ्ना नेता कार्यकर्तामाथी आक्रमण भएको विरोधमा नेकपा माओवादीका नेता कार्यकर्ताले नारायाणगढको शहीद चोकमा दिउँसो पौने एक बजेदेखि आधा घण्टा चक्का जाम गराएका थिए ।
पार्टी कार्यालयमा दुईपक्षबीच झडप भएपछि प्रहरीले पार्टी कार्यालयबाट दुबै पक्षका कार्यकर्ता हटाएर कार्यालय नियन्त्रणमा लिएको छ । कार्यालय परिसरमा प्रहरी परिचालित छ ।

 

प्रतिक्रिया