‘पार्टी लेखनबाट मुक्त भएँ’

हिजोआज के लेख्दै हुनुहुन्छ ?
म अहिले एउटा उपन्यासमाथि काम गरिरहेको छु । शीर्षक राखिसकेको छैन । बक्ररेखाहरू, बर्बरिक या यस्तै अन्य केही हुन सक्छ । त्यो सकिएपछि यात्रा निरन्तरमा लाग्नेछु । एउटा उपन्यास सिध्याउन मलाई एक वर्षजति लाग्छ । मुलुकमा देखापरेको अराजकता र विकृतिका बारेमा अन्तिम र अलि ठूलो उपन्यास लेख्ने मन अहिले पनि बाँचिरहेको छ । त्योचाहिँ सक्रिय राजनीतिक नेतृत्वबाट अवकाश लिएपछि मात्र थाल्नेछु ।
अहिले समय बढी राजनीतिमा लगाइरहनुभएको छ कि साहित्यमा ?
ठीक यतिबेला, मेरो समय बराबर बाँडिएको छ । पहिले राजनीतिले अग्राधिकार पाएको थियो । अहिले पार्टीतिर खास कुनै व्यस्त जिम्मेवारी छैन । त्यसैले क्रमश: मेरो अध्ययनको पाटो बढ्दै गएको छ । यसबीचमा मैले ऋग्वेदको नेपाली अनुवादजस्तो बृहद् ग्रन्थदेखि सानातिना उपन्यास, नियात्रा र कथा संग्रह पढिरहेको छु । त्यसबाहेक ६० वर्ष पुगेपछि नेतृत्वबाट स्वैच्छिक अवकाश लिनुपर्छ र युवाहरूलाई माथि उठ्न मद्दत गर्नुपर्छ भन्ने व्यक्ति हुँ म । साठी वर्ष पुग्न साह्रै धेरै बाँकी छैन । त्यसैले मेरो जोड आजभोलिदेखि नै साहित्यतिर तानिएको छ ।
अहिलेसम्म कति लेखिसक्नुभयो, अब बाँकी कति छ ?
लेख्ने विषयको कुनै साँधसिमाना हुँदैन । कथाहरू घटनाका आधारमा लेखिनै रहने हुन्छन् । उपन्यासका लागि गम्भीर मुद्दा चाहिन्छ । नियात्राका लागि भ्रमणको आवश्यकता पर्दछ । राजनीतिबाट अवकाश लिएजसरी लेखनीबाट अवकाश लिन सकिँदैन । त्यसैले मन र दिमागले काम गरुन्जेल म लेखिरहनेछु ।
तपाईं कसका लागि लेख्नु हुन्छ, आफ्ना लागि कि पाठकका लागि ?
आधारभूत रूपमा सबै लेखकले आºनै लागि लेख्छन् । आºना मनमा उठेका तरंगहरूलाई बाहिर पोख्नै लेख्ने हो सबैले । तर, जनपक्षीय साहित्यकारमा त्यो आफूभित्र, पाठक पनि समेटिएको हुन्छ । प्रगतिशील साहित्यकारको यो विशेषता हो । आºनो आत्मसन्तुष्टिका लागि म केही लेख्दिनँ । कुनै पनि विषयमा मैले कलम चलाउँदा, मेरो अनुहारमा मेरो चरित्रचित्रण क्षेत्रको सामान्य नागरिकको अनुहार तस्बिर बनेर बसिरहेको हुन्छ ।
तपाईंको लेखनमा बढी आवेग हुन्छ कि विवेक ?
आवेग राजनीतिको मुद्दा हो । त्यो अन्धो हुन्छ । एकपाखे हुन्छ । वर्गीय पनि हुन्छ । तर, साहित्यमा विवेककै प्रयोग बढी हुन्छ । त्यो विवेक पनि मेरो परिभाषामा गरिब, शोषित, पीडित जनताकै पक्षमा प्रयोग हुनुपर्छ ।
लेखनमा तपाईंको आफ्नो सबल र दुर्बल पाटोबारे बताइदिनुहोस् न ?
आफूले यो सबल र त्यो निर्बल भन्न सकिन्छ जस्तो मलाई लाग्दैन । साथीहरूको सुझाब र आलोचनाले ती दुई पाटाका बारेमा निष्कर्ष दिन्छन् । साथीहरूको भनाइमा मेरो साहित्यिक लेखनीमा पत्रकारिताको छाया पर्न थालेको छ । त्यो आलोचनालाई सकार्दै मैले अखबारी लेखनलाई अहिलेसम्म एकचौथाइ घटाइसकेको छु र भविष्यमा यो झन्–झन् घट्दै जानेछ । यतिबेला म अखबार र सिद्धान्तभन्दा बढी आख्यानसँग जोडिएका विधाहरूमा कलम चलाउने काममा लागेको छु ।
प्रगतिशील लेखकहरूको लेखनमा कला कम बढी नारा हुन्छ भनेर आलोचना गरिन्छ, सत्य हो ?
सत्य होइन । यद्यपि, साहित्यको आरम्भ नारैबाट भएको छ । म एउटा मात्र उदाहरण दिन चाहन्छु । ‘भजमन नारायण भज गोविन्दम्’ यो भजन कुनै प्रगतिशील साहित्यकारको रचना होइन । स्तुति र नारा क्रमश: सामन्तवाद र पुँजीवादका सम्पत्ति हुन् । तपाईंलाई थाहै छ– प्रगतिशील लेखकहरू सामन्तवाद र पुँजीवादका विरोधी हुन्छन् । हो, कतिपय सर्जकका कलममा कलात्मकताको थोरथार अभाव होला । तर, आधारभूत रूपमा प्रगतिशील लेखकहरू जनताको दु:ख, पीडा, संवेगसँग जोडिएर सिर्जना गर्ने सारथि हुन् ।
राजनीतिमा वामपन्थीहरूको बहुमत र वर्चस्व छ तर साहित्यमा त्यस्तो छैन नि, किन नभएको होला ?
अहिले पनि वामपन्थीहरू ‘कला र साहित्य राजनीतिका पेच र किलकाँटी हुन्’ भन्ने पुरातनवादी सोचबाट ग्रस्त छन् र साहित्यले जनचेतनाको अभिवृद्धिमा कुनै पनि कमिटीको भन्दा बढी भूमिका निर्वाह गर्छ भन्ने चेतनाबाट वामपन्थी नेताहरू स्वीकार गर्दैनन् । साहित्य लेखन झ्याउरेहरूको काम हो भन्ने दर्जनौँ नेताहरूलाई अहिले पनि बजारमा भेट्टाउन सकिन्छ ।
तपाईंको लेखनमा क्रमश: स्वच्छन्दतावाद हाबी हुँदै गएको हो ?
अहँ होइन । म पार्टी लेखनबाट मुक्त भएको मात्र हुँ । प्रगतिवादी धरातललाई मैले अहिले पनि छाडेको छैन र लेखन जारी रहेसम्म छोड्ने पनि छैन ।
अहिले लेखनमा तपाईंको आदर्श को हो र किन ?
मेरो लेखनको आदर्श भनेका शोषितपीडित, गरिब, दु:खी, अवसरबाट वञ्चित भएका नेपाली नै हुन् । हाम्रो समाजमा निरन्तर भइरहेका घटनामार्फत म आºना पात्रहरूलाई अगाडि बढाउने गर्छु ।
तपाईंलाई लेखनमा सञ्जय थापा बेजोड लाग्छ कि प्रदीप नेपाल ?
मेरा लागि त एउटै हो । सञ्जय थापाको ‘पूर्वतिर’ उपन्यास प्रगतिशील फाँटको सबैबाट रुचाइएको सिर्जना हो भने प्रदीप नेपालका ‘आकाशगंगाको तीरैतीर’, ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’ र ‘नन्दिता’ (तीनै उपन्यास) र बाघ मारेको लालसलाम (कथा संग्रह) पनि प्रगतिशील साहित्यका पाठकहरूबाट रुचाइएका सिर्जना हुन् ।
हिजो साहित्यकार सञ्जय थापाको दु:ख के थियो र आज साहित्यकार प्रदीप नेपालको दु:ख के छ ?
हिजो सञ्जय थापा परिचयको खोजीमा रुमल्लिएको थियो, अहिले प्रदीप नेपाल माग पूरा गर्न नसकेर अरल्लिएको छ ।
तपाईंलाई बढी मोह सञ्जय थापाको छ कि प्रदीप नेपालको ?
नाममा मेरो कुनै मोह छैन । हिजो पञ्चायतको निरंकुशतासँग लुकेर लेख्नुपर्ने भएकाले सञ्जय थापा जन्माउनुपरेको हो । त्यो निरंकुश सत्तालाई पराजित गरेपछि सञ्जय थापा, प्रदीप नेपालमा रूपान्तरित भएको हो । यद्यपि मेरा धेरै साहित्यका पाठकहरूले सञ्जय थापा, प्रदीप नेपाल भएपछि घाटामा परेको छ भन्नुभएको छ । तर, नामकै आधारमा नाफा घाटाको व्यापार चलाउनुपर्छ भन्ने मलाई लाग्दैन ।
नेता प्रदीप नेपाल र साहित्यकार प्रदीप नेपालमा तपाईंलाई बढी कसको मोह छ ?
नेता म भइपरी आएर भएको हुँ । साहित्य मेरो जीवनको रस हो । म मन्त्री या नेता प्रदीप नेपाल भनेर होइन, एउटा इमानदार जनताको साहित्यकार प्रदीप नेपालका रूपमा चिनिन चाहन्छु ।
प्राप्ति र उपलब्धिका हिसाबले नेता प्रदीप नेपाल बढी सफल भइरहेको छ कि साहित्यकार प्रदीप नेपाल ?
प्राप्तिका हिसाबले म आºनो राजनीतिक जीवनलाई तिरस्कार गर्दिनँ । मैले त्यही राजनीतिक जीवन, विशेष गरेर भूमिगत राजनीतिक जीवनमा आºना दर्जनौँ पात्रसँग भेटघाट गर्ने अवसर पाएको थिएँ । राजनीतिक उपलब्धि पनि मैले पाइनँ भन्न मिल्दैन । तर, राजनीति अब समाप्तितिर जाँदो छ । त्यसैले प्राप्ति र उपलब्धि पनि साहित्यतिरै सरुन् भन्ने मेरो इच्छा छ ।
सत्ताको नालमा सञ्जय थापा हालेपछि प्रदीप नेपाल निस्किन्छ भनेर आरोपित गर्नेहरूलाई तपाईंको उत्तर के छ ?
तिनीहरू कसैले पनि मलाई चिनेका रहेनछन् भन्ने दु:खले मलाई केही क्षण औडाहामा पुर्‍याउँछ ।
प्रस्तुति : राजेश राई

प्रतिक्रिया