“फिभर” को ह्याङओभर

प्रिय कुमार नगरकोटी †
केही दिनअघि स्कुलमा पढाउने क्रममा सिलिङको पंखा देखेर मेरो सातो गएथ्यो । त्यो सिल्भियालाई तिमीले यहाँ पनि झुन्ड्यायौ ? मेरो पैताला तातेथ्यो । तिमी फेरि यहाँ आएर स्विच अन गर्‍यौ भने ? झुन्डिएकी सिल्भिया घुमी भने ? एप्लाइड लिंग्वेस्टिकको परीक्षाको अघिल्लो रात नै तिम्रो कथा पढ्दा मेरो दिमाग भित्र किरा छिरेझौ भएथ्यो, कानबाट हात हालेर निकालिदिउँm जस्तो तर मैले द बेल जारको साँगुरो टाउको फुटाइदिइसकेँ । अब ऊ निसासिन्न, ऊ अब घन्टी फूलजस्तो झुन्डिन्न । बिचरा † तिमी अब तिम्रो कथाको के हालत हुन्छ ?
एकदिन काठमाडौं फिभरको भूत चढ्यो
(सोचेँ, अमेरिकी नागरिक नेपाल आउँदा नेपाली भूतले उसलाई कुन भाषामा तर्साउला ?) म दिउँसो पशुपति गएँ । तिम्री देवीतिर फर्केर हाँसे–देउता माइन्ट्रेस्ट थिएन । म हेटरोजेनियस हुँ । तर, आर्यघाटबाट आएको लासको गन्धले श्वास बन्द होला जस्तो भो । गलेको छन्दमा आमैलाई सोध्न गएँ । आज कतिवटा लास जलेछन् भनेर तर अर्की आमैले भनिन्– १९ वटा । आमैका केही अंगुर त्यहीँ छरिएर रहेका थिए ।
प्रिय नगरकोटी † अब अंगुर बोकेर नगएस् । अनि, तिम्रो निग्रो आइमाईलाई अस्ति मेरो साथीले कीर्तिपुर ल्याएछ सस्तैमा । उसले तिमीले झँै ‘हु आर यु’ भनेर सोधेनछ । उसले सोधेछ– ह्वाट आर यु रु बिहान उज्यालो हुन्जेल उत्तर थाहा पायो रे †
एक रात कीर्तिपुरको २१ सयको कोठा (पानीबाहेक) मा सिरानीसँग जिस्किँदै थिएँ (सिरानी मन गरेर मात्र हो), भित्तामा एउटा माउसुली देखापर्‍यो । पुच्छर झार्नुपर्‍यो भनी डटपेनले हिर्काएको मात्र थिएँ सिरानीमै उभियो र बोल्न पो थाल्यो ।
माउसुली : मलाई किन झार्न खोजेको ? तिमी समलिंगी हौ ?
म : (आत्तिँदै) तिमी… तपाईं को हो माउसुलीजी ?
माउसुलीजी : (घाँटी तन्काउँदै) म अमृता र रुनाले मारेको माउसुलीको आत्मा हुँ ।
म : तपाईं के चाहनुहुन्छ ?
माउसुलीजी : म अमृता र रुनालाई खेदाइखेदाई, घोचीघोची मार्न चाहन्छु ।
म : जाऊ, घोच । घोचेर गल्यौ भने मलाई बोलाउनू ।
माउसुलीजी : त्यसपछि म आत्मा र जीवनलाई पगालेर एउटा एटम बनाउनेछु ।
प्रिय नगरकोटी, उसले तिमीलाई चाँडै भेट्नेछ । हरेक माघ २८ गते मेरो जन्मदिन आउँछ र हरेक चोटि (पछिल्ला वर्षहरू) मैले भन्ने गरेको छु, ‘अब त यो जिन्दगीको अन्डा फुटे पनि हुन्थ्यो । यो अर्धतरल लेदोभित्र पौडिँदापौडिँदा म यहाँबाट त्यहाँसम्म पुग्छु अनि लत्रक्क थाक्छु । मानौँ, जिन्दगीबाट जिन्दगी स्खलित भएको होस् ।’
नगरकोटी, तिमी त मरिसक्यौ क्यारे, मेरा लागि यो चोटि जन्मदिनको उपहार एउटा झुसिल्किरा लिएर आऊ । म अब अन्डाबाट जन्मन चाहन्छु । म पनि पुतली बन्न चाहन्छु । पृथ्वी न्वारान सालाई तिमीले कीर्तिपुर ल्याएको भए हुन्थ्यो । म तिनीलाई त्रिभुवन विश्वविद्यालयवरपरको चार धाम थाइल्यान्ड, नागाल्यान्ड, ग्रिनल्यान्ड र फकल्यान्ड घुमाउँथँे । यो शैक्षिक रूपले स्खलित त्रिवि देखाउँथेँ र मुख्य कुरा यो देखाउँथेँ कि कसरी हरेक वर्ष विद्यार्थीको परीक्षाको अंक र डोरीबीच घिरौँले नाता गाँसिन्छ ।
तिमी खप्पर बोकेर जब हस्याङफस्याङ गर्दै दौडिन थाल्यौ त्यति नै खेर म कछुवाको चालमा आर्यघाट गई टुक्रुुक्क बसेथेंँ किनकि मलाई थाहा थियो कि जिन्दगीका हरेक रङ बटुल्न तिमी दौडनेछौ, थाक्नेछौ र यहीँ आउनेछौ । अनि, जम्मा कालो धुवाँको झुप्पा बन्नेछौ । प्रिय कुमार, यदि उद्देश्य निदाउनु नै हो भने दिउँसै ओछ्यान मिलाए हँुदैन ?
तिमी कथाकार होइनौ, तिमी कथा लेख्न जान्दैनौ, विशेषगरी अन्त्य गर्न । त्यो अन्धकारमा छेपारो
(पुरातत्वविद्)लाई नग्न स्त्रीको स्तनमा चढाएर तिमी कता भाग्यौ ? तिम्रो समाज, राज्य, चेतना, बुद्धिमा सूर्योदय हुनेछैन (बाजी राख्छौ ?) । स्वर्णिम बिहानीको आशमा पाठकलाई अल्मल्याएर तिमी अन्धकारमा फेरि के चुरोट सल्काउन लाग्यौ ? म पर्ख भन्दै थिएँ, आउँदै थिएँ । अस्तित्वको ज्योति लिएर, तिमीले कथा टुंग्याइहाल्यौ । कथाकार नै कथाको ब्रह्मा, विष्णु र महेश्वर होइन, तिमीजत्तिको कथाकारले यो बुभ्नुपथ्र्याे ।
तिमीले त्यो अरूको फूल (गुलाब) चोरेर ठीक गरेनौ नगरकोटी । सन्ध्याको जीवन सन्ध्या नै ठीक थियो । न दिनको प्रीतहीन उज्यालो, न रातको मातहीन अन्धकार । फूलले फुल्दा कहिल्यै साथी खोजेको छ र ? सन्ध्याको जीवन र जीवनको सध्या तिमीले चोरेको गुलाबभन्दा सुन्दर हुन्छन् । दिन ढलिसकेपछि र रात परिनसकेको बेला पनि एउटा सिंगो जीवन बाँच्ने पशुहरू पनि हुन्छन् (म जस्ता ।)
एक बिहान म ब्युँझदा घाममा जुँगाका रेखी बसिसकेका थिए । म एक्लै सुते पनि कोठामा दुईवटा खाट थिए (विचरा चिसा खाट) । तर, बुबाको विवाहमा बाहुन भट्टराई रहेछन् भन्ने कुरा तब थाहा भयो जब अर्को खाटमा एउटा मंगोलियन अनुहारको बालक निदाइरहेको देखेँ । मैले डराउँदै उठाएँ, ऊ रोबर्टजस्तै ठाडै उभियो ।
म : तिमी….. को हौ ? कहाँबाट ? क… कसरी ?
बालक : ऊ त्यो तपाईंको भित्ताको चित्र छ नि : अजीव कोठा, तीनवटा मैनबत्ती …
म : तर, त्यहाँकी प्रसववेदनामा छटपटाएकी मंगोलियन युवती खै ? चेयरको बाथको रोगी बूढो खोई ? तिमी को हौ ?
बालक : त्यो बूढो मर्‍यो, ती मंगोलियन युवती नगरकोटीलाई कथा गलत ठाउँमा अन्त्य गरेकोमा गाली गर्न गएकी छन् र म तिनको छोरा हुँ ।
मैले मेरो गाउँ जलथल (झापा) को तोरीबारी देखेँ र आत्तिँदै सोधेंँ,
म : तिमी किन आएको यहाँ ?
छोरा : उत्तर दिन
म : केको ?
छोरा : त्यो प्रश्नको जुन तिमीलाई नगरकोटीले सोध्यो र तिमी आफैँलाई हरेक रात सोध्छौ ।
म : जब एउटी आमाको पाठेघरमा एउटा भ्रूण सम्पूर्ण विकसित हुन्छ र एउटा बच्चा जन्मिन्छ, त्यो किन जन्मिन्छ ?
छोरो : कुनै बच्चा जन्मँदैन, त्यो केवल पाठेघरबाट फालिन्छ, जसरी त्यो फालिएको वीर्यबाट भ्रूण बनेको हुन्छ । त्यसैले आज मानिस फाल्न लालायित छ, माया फाल्न, धर्म फाल्न, नाता फाल्न, विश्वास फाल्न, परिवार फाल्न, देश फाल्न र शान्ति फाल्न ।
त्यतिकैमा म ब्युँझिएथेँ । तिमीलाई अब म गर–कोटी भन्न रुचाउँछु, जति नगर भने पनि गरिरह्यौ । त्यो बूढोलाई कलगर्लको डेडबडीको योनि वरिपरिको वीर्य मफलरले पुछ्न लगाएर तिमीलाई मान्छेको चेतना झकझक्याएजस्तो लाग्यो होला । भ्रममा छौ नगरकोटी । त्यो मेटाफिजिकल लास बोकेर सभ्यताको चिहानतिर जानुपर्ने आवश्यकता नै छैन । त्यहीँ डेडबडीको योनिलाई फ्रिज्ड गरी एक्स्पायरी डेट थपिदिए भइगयो नि ।
म कसैलाई तिम्रो कथा पढ्ने सल्लाह दिन्नँ । बित्थामा किन निदाइरहेको दिमागमा सुनामी ल्याउनु ?
अब तिमी (लेखक)लाई तपाईं भनौँ । कुमारजी के तपाईं कुमार नै हुनुहुन्छ ? के तपाईले फुटेको अन्डा देख्नुभएकै छैन ? अझै अगेनोको आगो नै तापेर तन्तुलाई ताप दिनुहुन्छ ?
अर्को कुरा, के तपाईं र मैले पढेको (माफ गर्नुहोस् म गालिएको) पुस्तक मोक्षान्त : काठमान्डु फिभरका लेखक एउटै हुन् ? कुमार नगरकोटी कहिलेकाहीँ मात्तैन भन्ने सुनेथेँ । तपाईंका शब्द नशा नै हुन् त ? तर, सायद ठीक हो, त्यसैले त तपाईंका हरेक वाक्य पढेपछि एउटा छोटो मादक ह्याङओभर हुन्छ दिलमा ।
मैले तपाईंका प्राय: कथा बुझिनँ, प्राय: अर्थ बुझिनँ । मैले जे भने त्यो सबै मैले नबुझेको भकारीबाट झिकेर भनेको एक डालो गन्थन हो । कुनै दिन बुझेँ भने फेरि भनौँला (के तपाईंचाहिँ तपाईंकै कथा बुझ्नुहुन्छ ?) यी कथा बुझ्न मैले दर्जनौँ सिद्धान्त पढ्नुपर्‍यो, दर्जनौँ कथा, कविता, उपन्यास पढ्नुपर्‍यो । दर्जनौँ पेन्टिङ खोज्न गुगलको ढोका ढकढकाउनुपर्‍यो, दर्जनौँ गीत सुन्नुपर्‍यो, दर्जनौँ पोर्न मुभिज हेर्नुपर्‍यो । कुनै पाठकमाथि यत्रो पाप त कमैले गरे होलान् । तपार्इं मरेपछि नर्क जाने पक्का छ †
तपाईंका कथा एडिक्सन भइसकेका छन् मेरा लागि । यतिसम्म कि म मेरी मायालुको सूर्यले सेकिइरहँदा तपाईका कथाका चिसा पल्टले सिरिंग हुन्छु । गरिब कथाकारज्यू, तपाईंको नशाबाट ईश्वर (आस्था वा अनास्था), सेक्स र चुरोट झिकिदिने हो भने अब कथा कस्ता बन्लान् ? बन्लान् कि नबन्लान् ?
तपाईंले सल्काएको चुरोटको धुवाँको भुमरीमा घुम्न मन लाग्यो त कसको के लाग्छ ? तपार्इंको एक गिलाससँग घुलिन मन लाग्यो त कसको के लाग्छ ? तपाईंलाई मेरा कविताका नउनिएका थुँगाका बास्नासँग रुबरु गराउन मन लाग्यो त कसो गरौँ ? मेरा एबर्सन भएका कथाका बिरामी अंशहरू सुनाउन मन भयो त के गरौँ ?
प्रिय डिजाइनर, म मेरो जिन्दगी भाडामा लगाउन चाहन्छु । तपाईंले चाहनुभयो भने मलाई सस्तैमा बुकिङ गर्न सक्नुहुन्छ । तपाईंको भ्रूणमै अल्झिएको कथाको पात्रका रूपमा ।
– दु:खनगर, मत्र्यलोक

प्रतिक्रिया