युरो सेमिफाइनलमा विश्वकपको सम्झना

वार्सा, १४ असार । युरोकप–२०१२ को दोस्रो सेमिफाइनलमा बिहीबार जर्मनी र इटाली आपसी भिडन्तमा उत्रँदा त्यसले ६ वर्षअघि भएको विश्वकपको सम्झना दिलाउनेछ ।
सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा मुलुकभित्र म्याच फिक्सिङ प्रकरणको पृष्ठभूमिबाट सहभागी हुन आए पनि समग्र प्रतियोगितामै अस्वाभाविक प्रदर्शन गरेको इटाली निकै लयमा देखिएको घरेलु टोली जर्मनीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । युरोकपको जारी संस्करण सेमिफाइनलसम्म आइपुग्दा जर्मनी र इटालीको अवस्था एउटै छ, जुन ६ वर्षअघिको उक्त विश्वकपमा थियो । म्याच फिक्सिङ प्रकरणमा घरेलु फुटबल मुछिरहेका बेला इटाली ‘पूर्वअनुमानविपरीत’ उत्कृष्ट प्रदर्शनका साथ सेमिफाइनलमा आइपुगेको छ । यता जर्मनी यसअघिका सबै चरणका खेलमा विजयी हुँदै सेमिफाइनल पुगेको छ । तर सेमिफाइनलअघि के हुन्छ भन्नेमा भने यतिबेला इटाली इतिहास दोहोर्‍याउने प्रयासमा छ भने जर्मनी इतिहास बिर्सने प्रयासमा ।
‘यस बिन्दुमा दुवै टोलीको रक्षापंक्ति बलियो छ भने आक्रमण गर्ने क्षमता पनि उत्तिकै छ,’ इटालीका प्रशिक्षक सिजर प्रान्डेलीले भने । जर्मनी र इटालीबीचका हरेक ठूला भिडन्त ‘एक्स्ट्रा–अर्डिनरी’ हुने गरेका छन् जसमा अक्सरजसो इटालीले बाजी मार्ने गरेको छ । सन् १९७० को मेक्सिको विश्वकपमा इटालीले सेमिफाइनलमा प्राप्त गरेको ४–३ को नतिजा अझैसम्म सम्झना गरिन्छ । ६ वर्षअघि विश्वकप सेमिफाइनलमा अतिरिक्त समयमा दुई गोल गरी इटाली २–० ले विजयी भएको सन्दर्भ पनि फुटबल नतिजाबारे कुरा हँदा जोड्ने गरिन्छ ।

‘इटालीले हरेक कुरालाई सामान्यरूपमा लिने गर्छ,’ जर्मनीका भेट्रान मिडफिल्डर मिरोस्लाभ क्लोसले भने, ‘सायद यही कुराले फाइदा हुन सक्छ इटालीलाई ठूला खेलमा ।’ ६ वर्षअघि विश्वकप खेलेका धेरै जर्मन खेलाडी अहिले युरो टोलीमा छन् । उनीहरू इटालीविरुद्धको उक्त नतिजा बिर्सने प्रयासमा छन् । साथै उनीहरूको दाबी पनि छ, स्थिति फरक भएको छ ।
‘सन् २००६ को तुलनामा हामीमा व्यापक सुधार भएको छ,’ जर्मनीका अर्का प्रतिभाशाली फरवार्ड लुकास पोडोल्स्कीले भने, ‘हामीसित अहिले फरक धारको टिम छ, यसबारे इटालीलाई पनि राम्रोसँग थाहा छ ।’ धेरै आधुनिक फुटबल टोलीजस्तै जर्मनी अहिले दिनदिनै आक्रामक बनिरहेको छ । दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकपमा आकर्षक खेल प्रस्तुत गरेका २२ वर्षीय थोमस मुलर हुन् वा पोडोल्स्की अनि मारियो गोमेज हुन् वा मेसुट ओजिल, जर्मनीले यिनै खेलाडीमार्फत प्रभावकारी आक्रामक खेल प्रदर्शन गरिरहेको छ । गोमेजले जारी प्रतियोगितामा तीन गोल गरिसकेका छन् । धेरै गोल गर्नेमा उनी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै संयुक्त रूपमा शीर्षस्थानमा छन् ।
यसपटक सेमिफाइनल पुगेका चार टोलीमध्ये जर्मनी मात्र यस्तो टोली हो जो अघिल्ला चरणका सबै खेलमा विजयी भयो । समूहचरणमा नेदरल्यान्ड्स, डेनमार्क र पोर्चुगललाई हराएको जर्मनीले क्वार्टरफाइनलमा ग्रिसलाई ४–२ ले पराजित गरेको थियो । हरेक खेलमा एक मात्र स्ट्राइकर प्रयोग गरिरहेका जर्मन प्रशिक्षक जोचिम लियुले त्यसमा क्लोस र गोमेजमध्ये एकलाई वैकल्पिक बनाउने गरेका छन् । समूहचरणमा गोमेज र क्वार्टरफाइनलमा क्लोसलाई ‘सोलो’ स्ट्राइकरका रूपमा प्रयोग गरिएको थियो । क्वार्टरफाइनलमा लियुले अग्रपंक्ति पूरै परिवर्तन गरी पोडोल्स्कीको ठाउँमा मार्को रेउस र मुलरको ठाउँमा आन्द्रे सुरेललाई उतारेका थिए । ‘इटाली ग्रिसभन्दा निकै फरक क्षमता भएको टोली हो ।’ सेमिफाइनल भिडन्तअघि जर्मन प्रशिक्षक लियुले भने, ‘हामी एक वा दुई खेलाडी परिवर्तन गर्न सक्छौं ।’
क्वार्टरफाइनलमा इंगल्यान्डलाई टाइब्रेकरमा पराजित गरी इटाली अन्तिम चारमा प्रवेश गरेको हो । सेमिफाइनलका लागि इटालीले जर्मनीभन्दा दुई दिन कम तयारी गर्ने समय पाएको छ । ‘शक्ति फिर्ता गर्न अब हामीसँग धेरै समय छैन,’ प्रान्डेलीले भने, ‘जर्मनीलाई पराजित गर्न धेरै मिहिनेत गर्नुपर्छ । हामीले तयारी राम्रोसँग गर्‍यौं भने यस प्रतियोगितामा पराजित गर्न नसकिने कुुनै पनि टोली छैनन् ।’ प्रान्डेलीले विगत केही खेलयता हरेकमा खासगरी अग्रपंक्तिमा परिवर्तन गरिरहेका छन् । फरवार्डहरू मारियो ब्यालोटेली र एन्टोनियो डी नाटालेमध्ये एक मात्र टोलीमा रहने गरेका छन् । यस प्रतियोगिताको पहिलो खेलमा स्पेनविरुद्ध नाटालेले बेन्चबाट आएर बराबरी गोल फर्काएका थिए । आयरल्यान्डविरुद्ध समूहको अन्तिम खेलमा सुरुआतबाटै भिड्नुअघि क्रोएसियाविरुद्ध पनि नाटाले बेन्चमै रहेका थिए । क्वार्टरफाइनलमा भने ब्यालोटेली पूरा समय मैदानमै रहे भने नाटाले बेन्चमै । इंगल्यान्डविरुद्ध धेरैपटक गोल गर्ने अवसर पाए पनि ब्यालोटेली त्यसमा सफल भएनन् ।
इटालीका डिफेन्डर जर्जिओ चेलेनी र मिडफिल्डर डयानिएल डे रोसी चोटग्रस्त छन् । डिफेन्डर इग्नाजिओ अबेट पनि मसल्स समस्यामा छन् । जर्मनीले स्थिर प्रदर्शन गरिरहेको छ । सबै पक्षमा जर्मनीले राम्रो तालमेल गरिरहेको छ । गोलकिपर म्यानुएल नुयरले प्रभावशाली प्रदर्शन गरिरहेका छन् । जारी प्रतियोगितामा उनले चार गोल मात्र सामना गरेका छन् । उनी रहेको क्लब बायर्न म्युनिख यस सिजनमा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । यता इटाली भने क्रमिक रूपमा सुधार गर्दै प्रतियोगितामा जमिरहेको छ । समूहचरणको पहिलो खेलमा स्पेनलाई १–१ को बराबरीमा रोकेको इटाली पछिल्लो खेलमा इंगल्यान्डविरुद्ध पूरा हाबी भएको थियो यद्यपि उक्त खेल टाइब्रेकरमा पुगेको थियो ।
इटालीका भेट्रान गोलकिपर गियानलुइगी बुफों र मिडफिल्डर आन्द्रे पिर्लो प्रतियोगिताकै हेर्नलायक खेलाडीका रूपमा स्थापित भइसकेका छन् यद्यपि ‘स्किलफुल’ प्रदर्शन गर्ने ब्यालोटेलीले भने लय समाउन अझै बाँकी छ । उनी ‘फिनिसिङ’ मा बारम्बार चुकिरहेका छन् । रोसी र पिर्लोले सम्हाल्ने मिडफिल्डमा इटालीका फरवार्ड लयमा देखिए जर्मनीलाई वास्तवमै चुनौती थपिनेछ ।
रामोससँग झगडा छैन : पिक
वार्सा : स्पेनका डिफेन्डर जेरार्ड पिकले सर्जिओ रामोससँग सुमधूर सम्बन्ध रहेको भन्दै ‘उनीहरूबीच बोलचालको स्थितिसम्म नरहेको’ भन्ने चर्चा फगत हल्ला भएको बताएका छन् । युरोकप–२०१२ स्पेनको रक्षापंक्ति यतिबेला पिक र रामोसले थेगेका छन् तर यस प्रतियोगिताअघि पिक र रामोसबीच बोलचालको स्थिति नभएको समाचार बाहिर आएको थियो । केही समयअघि स्पेनिस लिगमा रियल म्याड्रिड र बार्सिलोनाबीच भिडन्त हँुदा यी दुई डिफेन्डरबीच विवाद भएको जनाइएको थियो । जोसे माउरिन्हो प्रशिक्षक रहेको रियल म्याड्रिडको बार्सिलोना भ्रमणका क्रममा उक्त तनाव उत्पन्न भएको थियो । पिक बार्सिलोना र रामोस रियल म्याड्रिडका डिफेन्डर हुन् । उक्त खेलमा बार्सिलोनालाई पराजित गरी रियलले लिग उपाधि करिब निश्चित गरेको थियो भने रियलको उक्त जितसँगै बार्सिलोना लगातार चौथोपटक च्याम्पियन बन्ने होडबाट लगभग बाहिरिएको थियो ।
‘यो सत्य हो, हामीले कार्लेस पुयोललाई चोटका कारण गुमायौं । तर रामोस पनि उत्तिकै क्षमता भएका खेलाडी हुन् । हामीबीच राम्रो समझदारी भएकै कारणले जारी प्रतियोगितामा स्पेनको रक्षापंक्ति क्रमश: सुध्रिरहेको छ ।’ पिकले रामोससग झगडा नभएको जिकिर गर्दै प्रष्ट पारे, ‘समस्याबारे हामीबीच कुराकानी हुन्छ जसले गर्दा अर्कोपटक गल्ती दोहोरिने गरेको छैन ।’ उनले रामोससँग मैदानमा सुमधूर सम्बन्ध रहेको बताए । ‘हामीबीच राम्रो सम्बन्ध छ, मैदानमा । यदि यसो नहुँदो हो त अहिले हामीले गरिरहेको प्रदर्शन सम्भव हुने थिएन,’ उनले थपे । (एजेन्सी)

ब्यालोटेलीलाई ‘किङ कङ’ बनाएपछि …

वार्सा : इटालीको एक अखबारले राष्ट्रिय टोलीका स्ट्राइकर मारियो ब्यालोटेलीलाई बाँदरको फिल्मका नायक ‘किङ कङ’ का रूपमा चित्रण गर्दै कार्टुन प्रकाशन गरेपछि रंगभेदविरुद्धको अभियान चलिरहेका बेला ठूलै हल्लीखल्ली मच्चिएको छ । खासगरी अश्वेत मानिसलाई बाँदर भनेर गिज्याइने गरिएको छ ।
इटालीको दैनिक अखबार ‘गजेटा डेलो स्पोर्ट’ ले युरोकप–२०१२ को क्वार्टरफाइनलमा इटाली र इंगल्यान्डबीचको खेलपछि उक्त कार्टुन प्रकाशन गरेको थियो । उक्त अखबारले इंगल्यान्डविरुद्ध ‘जायन्ट’ रूपमा प्रस्तुत भएका हिसाबले रमाइलो पारामा २१ वर्षीय ब्यालोटेलीलाई किङ कङका रूपमा कार्टुन बनाएर चित्रण गरेको थियो । टाइब्रेकरमा पुगेको इंगल्यान्डविरुद्धको खेलमा ब्यालोटेलीले इटालीका लागि पहिलो पेनाल्टी प्रहार गरेका थिए जसमा इटालीले सानदार सुरुआत गर्न सफल भएको थियो ।
अखबारमा उक्त कार्टुन प्रकाशन भएलगत्तै ब्यालोटेलीका एजेन्ट माइनो राइओलाले आक्रामक रूपमा प्रस्तुत हँुदै आलोचना गरेका थिए । विगत केही वर्षयता ब्यालोटेलीले स्वदेशभित्र र बाहिर रंगभेदी व्यवहार सामना गरिरहेका छन् । यसैबीच विश्वव्यापी रूपमा उक्त कार्टुनको आलोचना भएपछि गजेटा डेलो स्पोर्टले माफी मागेको छ । ‘वास्तवमा कार्टुनिस्टले नियतवश यो कार्टुन बनाएका होइनन् र अखबारको त्यस्तो कुनै पूर्वाग्रह पनि छैन,’ गजेटाले माफी माग्दै भनेको छ, ‘यदि कसैले यसलाई गलतरूपमा बुझ्यो भने त्यसप्रति हामी माफी माग्न चाहन्छौं ।’ उक्त अखबारले रंगभेदविरुद्ध आफूहरू लड्दै आएको दाबीसमेत गरेको छ । ‘रंगशालामा हुने रंगभेदी व्यवहारविरुद्ध हामी जहिले पनि लड्दै आएका छौं,’ अगाडि भनिएको छ, ‘ब्यालोटेलीलाई लक्षित गरी बाँदरको आवाजमा गरिएको दुव्र्यवहारको विरुद्धमा पनि हामीले लेखेका थियौं ।’ उक्त कार्टुन गत आइतबार प्रकाशन भएको थियो र यसबारे इन्टरनेटको माध्यमबाट विश्वव्यापी रूपमा फैलँदै व्यापक आलोचना भएको थियो । जारी युरोकपमा रंगभेदविरुद्ध कडाइका साथ आयोजक युएफा उत्रिएको छ । निकै ‘काला’ ब्यालोटेलीलाई रंगभेदी व्यवहार गरिएको भन्दै विगत केही वर्षयता खेलाडीदेखि टिमसम्मलाई कारबाही गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया