युरोकप २०१२ को सबैभन्दा कलात्मक खेल

किभ, १३ असार । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको फर्मका कारण उत्साहित पोर्चुगल डोनेस्टेकमा बुधबार स्पेनसँग हुने सेमिफाइनलमा सफलता हात पार्ने आसमा रहेको छ । क्लिन फिनिसर डेविड भियाको अनुपस्थितिमा युरोकप खेलिरहेको स्पेनको हकमा उनको अभाव यसअघि पनि नखड्किएको होइन । नेरदरल्यान्ड्सको समूहको अन्तिम खेलमा सानदार गोल गरेका रोनाल्डोको फर्म चेक गणतन्त्रविरुद्ध पनि देखिएको थियो । रोनाल्डो यी दुई खेलमा लयमा फर्केपछि नै आर्थिक मन्दीको सामना गरिरहेको डिफेन्डिङ च्याम्पियन तथा फिफा विश्वकपविजेता स्पेनसँगको भेट तय भएको थियो ।
स्पेनविरुद्ध जित हात पार्नु पक्कै पनि कठिन हो । तथापि यसपटक पोर्चुगलका लागि आइबेरियन छिमेकीलाई पराजित गर्दै प्रतियोगितामै कायम गरेको १८ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउने अवसर भने छ । पछिल्ला चार युरोकपमध्ये तीनमा सेमिफाइनल प्रवेश गरेको पोर्चुगलका लागि उपाधिले मात्र सन्तोष दिलाउन सक्छ ।
पोर्चुगल–स्पेन भिडन्त स्पेनका कप्तान इकेर काशीलासका लागि सबैभन्दा महत्त्वपूर्ण छ । यो खेलमा जित हात पारे उनले सैयौं अन्तर्राष्ट्रिय जितको कीर्तिमान पनि कायम गर्नेछन् । काशीलासको यो १३६आंै अन्तर्राष्ट्रिय खेल हो । यसअघि कुनै पनि प्रतियोगितामा स्पेन र पोर्चुगलबीच सातपटक भेट भए पनि एकपटक मात्र पोर्चुगल विजयी भएको थियो ।
कप्तान काशीलास उनको क्लब रियल म्याड्रिडका सहकर्मी रोनाल्डो अझै वास्तविक लयमा नरहेका कारण स्पेन त्यति धेरै चिन्तित नरहेको बताउँछन् । उनले रियलका लागि भैंm पोर्चुगलका लागि खेल्न अझै नसकेको काशीलास बताउँछन् । मार्का स्पोर्ट्स डेली पत्रिकासँगको अन्तरवार्तामा काशीलास भन्छन्, ‘उनले रियलका लागि साँच्चै अविश्वसनीय खेल खेलेका थिए, तर पनि उनी साँच्चै डरलाग्दा खेलाडी हुन् । उनीसँग कुनै पनि समय सतर्क रहनैपर्छ ।’
यसअघि पोर्चुगल र स्पेनको अन्तिम भेट २०१० को विश्वकप क्वार्टरफाइनलमा भएको थियो, जुन खेलमा दोस्रो हाफमा भियाले गरेको गोलमा स्पेन विजयी भएको थियो । त्यो भेटको पहिलो हाफमा स्पेनले वास्तविक खेल खेल्न नसके पनि दोस्रो हाफमा वैकल्पिक फरवार्ड लोरेन्ट मैदानमा प्रवेश गरेपछि खेलको दिशा फेरिएको थियो । लोरेन्टको शारीरिक शक्ति र उचाइले पोर्चुगलको रक्षापंक्तिलाई यसपटक पनि दु:ख दिन सक्ने स्पेनका अन्तिम रक्षक गेरार्ड पिक बताउँछन् । ‘उनी सम्पूर्ण शक्ति लगाएर खेल्छन् र सिंहभंैm बलमा झम्टन्छन्,’ पिकले भने । लरेन्ट यो युरोकपमा हालसम्म मैदानमा नदेखिए पनि पोर्चुगलसँग खेल्न सक्ने सम्भावना प्रबल छ । म्यानचेस्टर युनाइटेडमा सँगै खेल्दा रोनाल्डो र अर्का विंगर नानीलाई बुझेका पिक पोर्चुगललाई एक व्यक्तिमा निर्भर टोली ठान्नु ठूलो गल्ती हुने बताउँछन् । ‘नानी दुवै विंगमा उत्तिकै उत्कृष्ट छन् । उनी साँच्चै गिफ्टेड खेलाडी हुन्,’ पिक बताउँछन् । परिणाम जे भए पनि युरोकपमा सबैभन्दा कलात्मक फुटबल खेल्ने दुई टोलीको भिडन्त चित्ताकर्षक हुने कुरामा भने शंका छैन ।
बलमा कब्जा जमाउने स्पेन, प्रत्याक्रमणमा डरलाग्दो पोर्चुगल
वार्सा : परिणामका लागि मात्र खेल्ने युरोपेलीभन्दा दर्शकको मन जित्न खेल्ने दक्षिण अमेरिकी शैलीअनुसार दुई टोलीबीच बुधबार खेलिने युरोकप सेमिफाइनलले भिन्नै अर्थ राख्न सक्छ । पावलो बेन्टोको प्रशिक्षणमा रहेको पोर्चुगल र भिसेन्टे डेल बोस्क्यको प्रशिक्षणमा रहेको स्पेनको खेल उस्तै र समान छ । ‘फुटबल जित्नका लागि मात्र होइन, दर्शकलाई आकर्षित गर्न पनि खेलिन्छ’ भन्ने दक्षिण अमेरिकी मान्यतालाई दक्षिण अमेरिकामा लामो समय राज गरेका यी दुवै पूर्वसाम्राज्यवादीले बुझेका छन् ।
छोटो पास, आश्चर्यलाग्दो ६ मिडफिल्डरको आक्रमण र रक्षकहरूको सहयोगीको रूपमा एक मिडफिल्डर राखेर खेल्ने स्पेनले प्रतियोगिताका हरेक खेलमा अत्यधिक समय बल आफ्नो नियन्त्रणमा राखेको छ । कुल बल पोसेसन ६० प्रतिशतभन्दा बढी भएको स्पेनले पोर्चुगलसँग यसैक्रमलाई निरन्तरता दिने सम्भावना प्रबल छ । भिन्न शैलीका खेलाडी रहेको स्पेनले अग्रपंक्तिमा चार विकल्पमध्ये कुनै पनि प्रयोग गर्न सक्नेछ । बलमाथि नियन्त्रण राख्दै खेल आफ्नो कब्जामा पार्न सेस फाब्रिगासलाई उपयोग गर्न सक्नेछ भने फर्नान्डो टोरेसको पेस र पावर डेल बोस्क्यका लागि अर्को विकल्प हुन सक्छ । पेड्रोको स्किलकै कारण फ्रान्ससँग पेनाल्टी उपहार पाएको स्पेनका लागि उपयोगी विकल्पको रूपमा लाउरेन्ट पनि रहनेछन् ।
पेपेसहितको पोर्चुगलको रक्षापंक्तिलाई सताउन लाउरेन्ट सबैभन्दा उपयुक्त विकल्प हुन सक्ने स्पेनका अन्तिम रक्षक गेरार्ड पिक बताउँछन् । क्रोएसिया र फ्रान्सविरुद्धको खेलमा निश्चित गोलभैंm लाग्ने बल रोकेका कप्तान इकेर काशीलासलाई पार गर्नु पक्कै कठिन हो ।
अन्तिम रक्षक कार्लोस पुयोल घाइते भएका कारण उनको स्थानमा खेलाइएका सर्जियो रामोस र पिकको समन्वयलाई क्रोएसिया र इटालीले बारम्बार तोडेपछि काशीलासले टोलीको संकट टारेका थिए । नानी र क्रिस्टियानो रोनाल्डोले दुई विंगमा गर्ने तेज आक्रमणलाई रोक्न पिक र रामोसलाई सहज हुनेछैन । नानी र रोनाल्डो जमे रक्षकभैंm लाग्ने कडा टयाकलका लागि परिचित स्पेनिस मिडफिल्डर जाबी अलोन्सो व्यस्त रहनेछन् । फ्रान्सका प्रशिक्षक लारें ब्लाँले बायाँ विंगबाट खेल्न स्पेनलाई रोक्ने नीति सफल भएपछि पोुर्चगलका बेन्टोले पनि यही शैली अनुशरण गर्ने सम्भावना रहेको छ । ब्लान्कको खेलनीतिकै कारण फ्रान्ससँगको खेलमा आन्द्रेइ इनियस्टा वास्तविक खेल खेल्न असमर्थ रहेका थिए ।
‘ग्रुप अफ डेथ’ पार गरेको पोर्चुगल कुनै पनि दबाब सहन सक्ने अवस्थामा रहेको छ । बल पोसेसनमा कमजोर रहे पनि हरेक खेलमा आधा दर्जनभन्दा बढी आक्रामक मुभ बुन्ने पोर्चुगल प्रत्याक्रमणमा उत्कृष्ट मानिन्छ । शारीरिक रूपले स्पेनभन्दा बलिष्ठ पोर्चुगलका फरवार्ड रोनाल्डोले पिक, रामोस र काशीलाससँग लामो समय एउटै टोलीमा रहेर खेलेका कारण यी तीनैको कमजोरी पनि बुझेका छन् । घाइते हेल्गर पोस्टिगाको स्थानमा खेल्ने डेविड अल्मेडाका लागि यो महत्त्वपूर्ण अवसर हुनेछ । जसरी राउल युगमा प्राप्त नगरेको सफलता स्पेनले त्यसपछि पायो, पोर्चुगलले पनि लुइ फिगोको नेतृत्वमा रहेको गोल्डेन जेनेरेसनमा प्राप्त नगरेको सफलता पाउने अवसर रहेको छ । (एजेन्सी)
“समय त पर्याप्त हो”

वार्सा : सेमिफाइनलका लागि दुई दिनको मात्र समय दिएको भन्दै स्पेनले आलोचना गरिरहेका बेला सो टोलीको सेमिफाइनल प्रतिद्वन्द्वी पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले उक्त समय पर्याप्त रहेको बताएका छन् । ‘यो समय पर्याप्त हो, स्पेनले जुन विषयमा गुनासो गरिरहेको छ, मलाई लाग्छ व्यावसायिक रूपमा त्यो महत्त्वको विषय होइन,’ बुधबार राति हुने स्पेनविरुद्धको भिडन्तअघि रोनाल्डोले भने । गत बुधबार राति चेक गणतन्त्रलाई १–० ले पराजित गरी पोर्चुगल अन्तिम चारमा प्रवेश गरेको हो । स्पेनले भने गत शनिबार राति फ्रान्सलाई २–० ले पराजित गरेको थियो ।
‘अरू टोलीविरुद्ध तयारी गरेजसरी नै तयारी गर्ने हो,’ जारी प्रतियोगितामा तीन गोल गरिसकेका रोनाल्डोले भने, ‘स्पेनविरुद्ध हाम्रो सबैभन्दा राम्रो गर्न हामी प्रयास गर्नेछौं ।’

ब्यालोटेलीले भने, “पहिलो प्रहार म गर्छु”
बार्सा : युरोकप–२०१२ अन्तर्गत आइतबार राति भएको क्वार्टरफाइनलमा इङल्यान्डविरुद्ध टाइब्रेकरमा खेल पुग्दा पेनाल्टी प्रहार गर्ने इटाली टोलीमा सबैभन्दा कान्छा सदस्य थिए, मारियो ब्यालोटेली । इङलिस क्लब म्यानचेस्टर सिटीका २१ वर्षीय यी स्ट्राइकर उमेरले सानो भए पनि टोलीमा अत्यन्तै आत्मविश्वासी देखिए । टाइब्रेकर सुरु हुनुअघि उनले टोली प्रशिक्षक सिजर प्रान्डेलीलाई भने, ‘म पहिलो प्रहार गर्छु ।’ त्यसलाई सजिलै स्वीकार गर्दै उनैलाई पहिलो प्रहार गर्न दिइयो ।
ब्यालोटेलीले उक्त अवसरलाई पूरा न्याय गरे र हँसिलो मुद्रामा आत्मविश्वासी पेनाल्टी गोल गरे । उनले सुरुआतमा उक्त आग्रह गर्नुपछाडि धेरै कारण थिए । ब्यालोटेली पछिल्ला तीन वर्षमा गरेका आठ पेनाल्टी प्रहारमा शतप्रतिशत सफल भएका छन् । यसैकारण बलियो प्रतिद्वन्द्वीविरुद्ध गोल गरेर उनी टोलीको मनोबल उच्च बनाउन चाहन्थे । अर्को कारण थियो, उनी आफ्नै क्लब म्यानचेस्टर सिटीका गोलरक्षक जोए हार्टविरुद्ध पेनाल्टी प्रहार गर्दै थिए । यसैकारण उनी थप विश्वस्त पनि थिए । इङल्यान्डलाई टाइब्रेकरमा हराएर इटाली सेमिफाइनल प्रवेश गरिसकेको छ र बिहीबार राति जर्मनीविरुद्ध भिड्दै छ ।

पोर्चुगल र स्पेनले अवज्ञा तोड्न सक्ने
वार्सा : युरोकप–२०१२ अन्तर्गत युक्रेनमा भइरहेका खेल बहिस्कार गर्दै आएका पोर्चुगल र स्पेनका अफिसियलहरू सोही ठाउँमा हुने फाइनलमा भने उपस्थित हुन सक्ने संकेत देखिएको छ । स्पेनिस विदेशमन्त्रीले स्पेनिस प्रधानमन्त्री आइतबार राति हुने फाइनलमा उपस्थित हुन सक्ने संकेत गरे ।
करछली अभियोगमा युक्रेनले पूर्वप्रधानमन्त्री युलिया टाइमोसेन्कोलाई जेल हालेको विषयमा पोर्चुगल र स्पेनले त्यसको विरोध गर्दै आएका छन् । युलियाले आफूविरुद्ध लगाइएको आरोप राजनीतिक रूपमा पूर्वाग्रही भएको जिकिर गर्दै आएकी छन् ।
बुधबार राति हुने पहिलो सेमिफाइनलमा स्पेन र पोर्चुगल भिड्दै छन् । यसको मतलब यी दुईमध्ये एक टोली फाइनल पुग्नेछ । ‘स्पेनिस प्रधानमन्त्री पहिलो र अन्तिम खेलमा सहभागी हुनेछन्,’ स्पेनका विदेशमन्त्री होजे म्यानुएल ग्रासिया–मार्गाल्लोको भनाइ उद्धृत गर्दै स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । स्पेनले आफ्नो पहिलो खेल इटालीविरुद्ध पोल्यान्डमा खेलेको थियो । मार्गाल्लोले आफूलाई पोर्चुगलका अधिकारीले पनि फाइनल खेल हेर्न जाने भनेको बताएका छन् । यस विषयमा स्पेनको प्रधानमन्त्री कार्यालय र पोर्चुगलका अधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन् । (एजेन्सी)

प्रतिक्रिया