यार्चागुम्बा टिप्न असार–१५ पछि रोक

दोलखा, १२ असार । दोलखाको उत्तरी भेगका माथिल्ला भागहरुमा यार्चागुम्बा रहेको थाहा भएपछि संकलन गर्न जानेहरुको भिड बढ्दै गईरहेका बेला गौरीशंकर संरक्षण क्षेत्रले असार–१५ सम्म सो क्षेत्र खुल्ला गरेको जनाएको छ ।
गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने चिलंखा, आलम्पु, रोल्वालिङ लगायतका ३५ सय मिटर भन्दा माथिका केही भागहरुमा यार्चागुम्बा रहेको खुलेपछि संकलन गर्न केही हप्तादेखि मानिसहरुको घुईचो लागेको छ ।
‘असार–१५ देखि असोजसम्म वन भित्र काठ दाउरा काट्न नपाईने नियमानुसार यार्चागुम्बा टिप्ने काम असार–१५ देखि रोक्दैछौं,’ संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले भने ।
वन नियमानुसार बर्षात शुरु भएपछि असार–१५ पछि असोज सम्म वन पैदावार काट्न नपाईने नियम छ । शाहले भने, ‘असार–१५ बाट यार्चा गुम्बा संकलन कार्य रोक्न सबै गाउँ तहका संरक्षण क्षेत्र व्यवस्थापन समितिहरुलाई चिठी पठाई सकिएको छ ।’
उत्तरी गाउँका माथिल्ला क्षेत्रहरुमा यार्चागुम्बा टिप्ने काम यस अघिदेखि नै सीमित व्यक्ति र व्यापारीबाट हुँदै आएको भएपनि यस बर्षदेखि सबैतिर थाहाभएलगत्तै गाउँलेहरु समेत यार्चागुम्बा टिप्न लेंकतिर पुगेका छन् ।
संरक्षण क्षेत्रका अनुसार दोलखाबाट यस बर्ष ३५ किलो यार्चागुम्बा पास भएको छ । त्यस बापत संरक्षण क्षेत्रले ३ लाख ५० हजार राजस्व संकलन गरेको छ ।
यार्चागुम्बा टिप्ने काम बढेपछि यसका व्यापारी र संरक्षण क्षेत्रमा असुरक्षा र लुटपाटको डर बढ्दै आएको थियो । दुई हप्ता अघि मात्र यार्चागुम्बा बोकेर सिगँटीबाट राजधानी आउदै गरेका लामावगरका एक युवा दोलखाको सोतीमा डेढ लाख रुपियाँ सहित लुटिएका थिए ।
राजस्व नतिरी छुटपुर्जी बिनै हिडेका कारण उनले घटना बारे सुरक्षा निकायलाई थाहा दिएनन् ।
‘यार्चागुम्बा लिएर जाने व्यापारीहरु खुल्ला रुपमा हिड्न डराईरहेका छन्,’ आयोजना प्रमुख शाहले भने, ‘छुटपुर्जी लिन आउनेहरु कसरी बाटो काट्ने होला भनेर डराउछन ।’
ठूलो मात्रामा यार्चागुम्बा लिएर जानेले प्रहरी सहयोग मागगरे सुरक्षा दिने व्यवस्था समेत मिलाईएको शाहले बताए ।
लादुक, बुलुङ लगायतका गाउँहरुमा पुगेर व्यवसायीहरु आफैले संकलन गरी सिधै राजधानी लाने गरेको स्थानीयको भनाई छ ।
दोलखामा भेटिएको यार्चागुम्बा पश्चिमका हिमाली जिल्लामा पाईने भन्दा केही सानो प्रजाती हो ।

प्रतिक्रिया