माओवादी विभाजनका कारणहरू


एमाले र नेपाली कांग्रेसको विभाजनबाट उत्पन्न जटिल राजनीतिक संकट र चरम निराशाबाट लाभ उठाउन सफल एकीकृत नेकपा (माओवादी) अन्तत: विभाजित भएको छ । अनुशासनहीनता, अराजकता, घातप्रतिघात र विभाजनको चक्रमा राजनीतिक दलहरू लपेटिनुको मूल्य लोकतन्त्र र मुलुकका लागि निकै महँगो सावित भएको छ । आफूलाई विशेष धातुको भएको दाबी गर्ने दलको विभाजनले उसको दाबीलाई हावादारी पृष्टि गरेको छ र वरिष्ठ नेता मोहन वैद्यको अगुवाइमा नेकपा माओवादी नामको अलग्गै पार्टी घोषणा भएको छ । माओवादीको विभाजनमा मसिना थुपै्र कारणहरू पनि निर्णायक नभएका होइनन् तर मोटा कारणहरू भने यस प्रकार रहेका छन् :
अवसरवादीहरूको घेरा : विभाजनको घोषणा हुनुअघि माओवादी नेता तथा कार्यकर्ता जान्न सकिने गरी प्रकारन्तरले ऊखुको रस पिउने र अरूले खाएका ऊखुका छोक्राले आफ्ना गाला चिराइपाउनेमा विभक्त थिए । कष्टसाध्य जनयुद्ध, चुनावको धपेडी, सरकार गठनलगायतका चरणमा जनता, क्रान्ति र पार्टीको हितलाई सर्वाेपरी ठान्दै व्यक्तिगत लाभहानीको मेसोमा नलाग्नेहरूले विस्तारै ठगिएको अनुभूति गर्न थाले । उत्कर्षमा पुगेको पार्टीको छहारीमा धेरै ढिलो जोरजम्मा भएका अवसरवादीहरूले पद, पैसा र प्रतिष्ठाको बाजी मार्दै गएको निष्ठावानहरूलाई सैह्य भएन । वर्ग संघर्षको जगमा उभिएको पार्टीलाई भर्‍याङ बनाएर वर्गवृद्धि गर्नेहरूको करामत खुला समाज, स्वतन्त्र प्रेस, वैधानिक प्रतिपक्ष, प्रतिस्पर्धाको राजनीति र जनताको अदालतसामु लुक्न सम्भव थिएन । पार्टीभित्र आलोचनात्मक चेतले जबर्जस्त स्थान लिँदै गयो । समाजवादको लागि मर्न र मार्न तयार पारिएका कार्यकर्ताहरूले आफूहरू उपयोगितावादको जाँतामो पिसिदै आएको भेउ पाए । आमाको काखबाट बाल्यकालमै खोसिएर बालसेनामा बलजफ्ती भर्ना गरिएका र पछि कमान्डरबाट चेक खोसिएका पूर्वलडाकुहरूको जलेको हृदयले आगोको रूप लियो । आफूलाई न्यायमूर्ति ठान्ने संस्थापनले न्याय दिन जरुरी देखेन । विकल्प प्रदान गर्ने हस्तिहरू पनि समग्र चेत र कार्यक्रमसहित आउन सकेनन् । लेनिनले जारविरुद्ध पहिलो विश्वयुद्धमा उपयोग गरेर अलपत्र पारिएका पूर्वलडाकु र रोजगारी गुमाएका मजदुरहरू मिलाएर सोभियत बनाएजस्तै वैद्य पक्षले पूर्वलडाकु र मजदुरहरूलाई संस्थापनविरुद्ध भड्काउँदै गयो । जुन अस्त्र जसलाई प्रहार गर्न तयार पारिएको हो, त्यसलाई तलमाथि गर्दा प्रयोगकर्तालाई नै घातक हुने देखेर संस्थापनका लागि असन्तुष्ट कार्यकर्ताहरूको आक्रोश थेग्न असन्तुष्ट पक्षका नेताहरू तयार भएनन् । बरु विभाजनको विकल्प रोज्न पुगे ।
दाहालको महत्त्वाकांक्षा : ‘व्यक्तिगत महत्त्वाकांक्षा’ नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा.बाबुराम भट्टराईमा पाइने समानता रहेको टिप्पणी मोहनविक्रम सिंहले जनयुद्धको घोषणा अगावै गरिसकेका थिए । नेताद्वयलाई राजनीतिमा वामे सर्न सिकाउने नेताको यस प्रकारको टिप्पणीलाई त्यतिबेला वैद्य खेमाका हस्तिहरूले दायाँ कानले सुनेर बाँया कानले उडाइदिए । आज उपयोगितावाद नांगो ढंगले सतहमा आएपछि भुक्तभागीहरूले सिंहलाई सम्झनु पर्ने हो । तर, इतिहासबाट सिकेको कुरा खुला दिलले भन्न माओवादीको प्रवृत्तिगत महारोगले निषेध गर्दै आएको छ ।
वरिष्ठ हस्तिलाई माकुरीमाउ बनाउनु र सम्भावना बोकेका कनिष्ठ हस्तिमाथि मत्स्यन्याय थोपर्नुले दाहालको व्यवहार बुझ्न सकिन्छ । म नै राज्य हुँ भन्ने लुईं चौधौँझैँ आफैलाई पार्टी,, हेडक्वार्टर, क्रान्ति भन्ने र प्रधानमन्त्री वा राष्ट्रपतिभन्दा ठूलो ठान्ने दाहालको अहंकार र महत्त्वकाांक्षा अन्तत: पार्टी र साथीहरूलाई समेत सुपाच्य भएन । अपमानित र अहंकारीबीचको द्वन्द्वले सार्थक संवादको त्राण नपाउँदा नै विगतमा अन्य दलहरू विभाजित भएका थिए । सहकर्मीहरूको नेतृत्व गर्नेुपर्नेमा उनीहरूमाथि शासन गर्ने व्यवहारका कारण दाहालको महत्त्वाकांक्षी सपना पनि साकार हुनुको सट्टा पीडितहरूको विद्रोहसँगै ध्वस्त भयो ।
भट्टराईको जागिरे भोक : खर सानै भए पनि उभिन सक्छ तर बाबियो जति लामो भए पनि उभिन सक्दैन । प्रधानमन्त्रीको गरिमामय कुर्सीमा आसिन भइसक्दा पनि सबैले देख्ने गरी दिल्ली र पेरिसडाँडाको चोरऔंलामा रहेको धागोद्वारा सञ्चालित कठपुतली भएका कारण डा.बाबुराम भट्टराईले राष्टिय संकट र पार्टीको आन्तरिक संकट टार्न कुनै स्वतन्त्र र सार्थक पहल गरेनन् । अध्यक्ष दाहालले भनेझैं एउटा सामान्य पत्रिकाको बबुरो सम्पादकबाट यत्रो स्थानमा पुर्‍याउने पार्टीको विभाजन जस्तो अनिष्ट टार्ने इमानदार प्रयास गर्नुकोसट्टा प्रधानमन्त्रीको कुर्सीमा सुपरग्लु लगाएर टाक्सिरहनु र ब्राजिल भ्रमणमा हानिनुले भट्टराईको कृतघ्नता र जागिरे मानसिकता बुझ्न सकिन्छ । अवसरको प्राप्तिका लागि धोबीघाट गठबन्धनको रचना गर्नु तर अभिष्टसिद्ध हुनासाथ जँघार तर्‍यो लौरो बिस्र्याे, शैलीमा मन्त्रीमण्डल विस्तार गर्नुले वैद्य पक्ष चिढिएको थियो । भट्टराईप्रतिको भरोसाले असन्तुष्ट पक्षलाई तावाको माछो भुंग्रोमाको हालतमा पार्‍यो । यसरी विद्यार्थीकालका बाबुराम राजनीतिमा फुच्चेराम सावित हुँदै गए र अवसरवाद भद्दाढंगले उदांग हुँदै गयो । युवाहरूलाई सहिदको कोटामा चुक्ता गर्न उकासेर शक्तिमा आएका नेता नैतिक ढंगले यति गिर्लान् र यति पदलोलुप होलान् भन्ने कार्यकर्ताले सोचेकै थिएनन् । समाजवादको आवरणमा अवसरवाद हरियो घाँसमा छिपिएको हरियो सर्पझैं जबरजस्त रहेको कार्यकर्ताहरूले थाहा पाए र जोगिनका लागि नेतृत्वलाई कित्ताकाट गर्न दबाब दिए । अन्तत: माओवादी विभाजित भयो ।
छेपारे बुद्धिजीवीहरू : क्रान्तिले नयाँ नेतृत्व, नीति, कार्यदिशा, संस्कृति, दार्शनिक, कवि, कलाकारहरू दिन्छ । माओवादीले जस्तोसुकै दाबी गरे पनि २०६३ सालको परिवर्तनमा मूलत: २०४६ सालकै नेतृत्व, नीति र कार्यदिशाको निरन्तरता छ । उत्कर्षकालको माओवादी चुलोमा बिराला बनेका बुद्धिजीवीहरू जारकालीन रुसका रहस्यमय धार्मिक ढोगी रास्पुटिन प्रवृत्तिका परेका छन् । उनीहरू देशको धरातलीय यथार्थ र जनताको मनोविज्ञानभन्दा बेखबर छन् र खाँटी नभई खोटा प्रकृतिका छन् । तीमध्ये कोही पञ्चायत र नेपाली कांग्रेसमा रहेर तर मारे पनि उनीहरूमाथि संकट आइपर्दा छेपारोझैं रंग फेर्ने परेका छन् त कोही कांग्रेसपछि माओवादी र मधेसवादी दलहरूलाई जमिनदार वर्गको हलोमा नार्नेे नियत बोकेका छन्,, कोही नेकपा (चोम), सर्वहारा कम्युनिस्ट लिग र माले चाखेर माओवादी चौतारोमा पुग्दासम्म अस्थिरता र कायरताले जर्जर भइसकेका छन् त कोही कालापानीमा भारतीय सेनालाई खुकुरी प्रदर्शनको झटारो हानेर विदेश अध्ययनको फल झार्ने विरोधाभासले ग्रस्त छन् । राजनीतिक वृत्तमा आफू डुबेर अरूलाई उकास्ने गोताखोर प्रकृत्तिका बुद्धिजीवीको माग हुन्छ तर नेपालमा अवसरवादीहरू डुब्दै गरेका दलका लागि त्यान्द्रोको सहारा मात्र हुने गरेका छन् । सहजकालका अन्धप्रशंसकहरू विषदकालमा काम लाग्दैनन् । अटल हस्ति नभई आगन्तुक परेकाले छेपारे बुद्धिजीवीहरू कमजोर धरातलमा उभिएका थिए । उनीहरू माओवादी नेताहरूको प्रशंसा गर्न सक्थे तर आलोचना गर्ने औकात राख्दैनथे । भातको लडाइँ लड्नेहरू भविष्यको बारेमा बेखबर हुन्छन् । जनयुद्ध, लुटपाट, चन्दा आतंक, लडाकु शोषण, धर्म निरपेक्षताको व्यापार र जातीय विद्वेषको खेलोमेलोलगायत क्रान्तिकारी स्रोतहरूको दोहन गरी जम्मा पारिएको अथाह सम्पतिका कारण माओवादीमा देवासुर संग्राम मच्चियो । तर, समस्याको चुरो पक्रने ऑट गर्न कसैले सकेन । बरु सबै तटस्थ बसे । यसरी संकट आइपर्दा खुतुरमुर्गझैं टाउको लुकाउने छेपारे बुद्धिजीवीहरूका कारण माओवादी विभाजन भयो ।
बाह्य चलखेल : ठूलो दलको नाताले अन्य दलहरूसँग न्यानो सम्बन्ध र जनसमुदायप्रतिको भरोसाको माध्यमबाट राष्ट्रिय एकता मजबुद पारी बाह्य हस्तक्षेपलाई रक्षात्मक पार्न भद्र कूटनीतिले काम लिन सक्ने सुन्दर अवसर माओवादीसामु थियो । चीन घेर्ने पश्चिमा रुचिको मोहरा नेपालबाट उपलब्ध हुन सम्भव थिएन । जंगल फँडानी गरेर आवादीका लागि खुला चौरको वकालत गर्नु जायज मान्न सकिन्छ तर एउटा प्रजातिको जंगल फँडानी गरेर खाली मैदानमा अर्काे प्रजातिका बिरुवाको वृक्षारोपणको कष्ट उठाउनु हरिलट्ठक हुनु हो । हिन्दुत्वको स्थानमा धर्म निरपेक्षतामा मात्र सीमित नभई त्यसको आडमा क्रिस्चियनीकरणलाई बढावा दिनुजस्तो अराजनीतिक चलखेलमा गएर माओवादी फस्यो । संघीयतासँग छिमेकीको अभीष्ट गाँसिएको जान्दाजान्दै शक्तिकेन्द्रहरूलाई खेल्न बाध्य पार्ने असावधानी माओवादीको आन्तरिक जीवनका लागि महँगो सावित भयो । यसरी चीन, भारत, एंग्लो–अमेरिकी धुरीका बाझिएका स्वार्थहरूको चक्रव्यूह तोड्न माओवादी असफल रह्यो र अन्तत: आफैं विभाजित भयो ।

प्रतिक्रिया