तनाबमा हिमानी

काठमाडौं, १० असार । सार्वजनिक कार्यक्रममा निकै हँसिलो र प्रफुल्ल मुद्रामा देखिने पूर्वयुवराज्ञी हिमानी शाह अचेल पारिवारिक तनाबमा छिन् । थाइल्यान्डको बैंककमा रहेका उनका पति पारस शाह त्यहाँकी एक युवतीको प्रेममा परेर आफू र परिवारको सम्पर्कमा समेत आउन छाडेपछि हिमानी चिन्तामा परेकी हुन् ।

झन्डै ११ महिनादेखि पारस र हिमानीबीच भेटघाट नै भएको छैन । डेढ वर्षअघिदेखि बैंककमा बस्न थालेका पारस सुरु–सुरुमा काठमाडौं आउ–जाउ गर्थे । तर, थाई युवतीको प्रेममा डुबेपछि उनले काठमाडौं आउन मात्रै छाडेनन्, परिवारसितको सम्पर्कसमेत टुटाएका छन् । स्रोतका अनुसार साढे तीन महिनादेखि उनी श्रीमती हिमानी, बाबु पूर्वराजा ज्ञानेन्द्र र आमा कोमलको टेलिफोन सम्पर्कमा समेत आएका छैनन् । उनले आफूले प्रयोग गर्दै आएको थाइल्यान्डको मोबाइल नम्बरसमेत परिवर्तन गरेका छन् ।

श्रीमान् सम्पर्कमै आउन छाडेपछि हिमानी तनाबमा बस्न थालेकी हुन् । स्रोतका अनुसार नन्द प्रेरणा, काकाससुरा धीरेन्द्रका छोरी दिलासा, पूजा र शीताष्मासित उनले कहिलेकाहीँ दु:ख पोख्ने गरेकी छन् । ‘केही कमी र गल्ती नगरे पनि श्रीमान्(पारस)ले आफूलाई एक्लो बनाउन खोजेको’ गुनासो उनले गर्ने गरेको स्रोतले जनाएको छ । उनीहरू चारैजना हिमानीले चलाएको ‘हिमानी ट्रस्ट’का सदस्य पनि हुन् ।
तनाबकै कारण पछिल्लो समय हिमानी ट्रस्टको कार्यालयसमेत जान छाडेकी छन् । केही समयअघिसम्म निकै रमाइलो वातावरण र मान्छेहरूले भरिभराउ हुने ट्रस्टको कार्यालय अचेल सुनसान हुन्छ । अधिकांश समय त कार्यालयमा ताला नै लगाइएको हुन्छ । सार्वजनिक कार्यक्रममा पीडा लुकाएर हँसिलो मुद्रामा प्रस्तुत भए पनि भित्रभित्रै भने हिमानीले ‘घुटन’ महसुस गर्ने गरेकी छन् । ‘जहिले पनि हँसिलो देखिने सरकार(हिमानी)को अनुहारमा अचेल तनाब पनि झल्किने गरेको छ,’ हिमानीका एक सहयोगीले सौर्यसँग भने ।
निर्मलनिवास स्रोतका अनुसार हिमानीले कहिलेकाहीँ सासू–ससुरा(ज्ञानेन्द्र र कोमल)सित पनि गुनासो सुनाउने गरेकी छन् । छोरा(पारस)लाई बैंकक छाडेर काठमाडौं बोलाउन उनले आग्रह गर्ने गरेको स्रोतले जनाएको छ । सासू–ससुराले पनि पारसलाई भन्दा हिमानीलाई बढी माया गर्ने गरेका छन् । छोरा पारसका कारण बुहारी(हिमानी)ले तनाब झेल्नुपरेको उनीहरूले नातेदारलाई पनि सुनाउने गरेका छन् ।
केही दिनअघि आºना पूर्वएडिसी भरतकेशर सिंहका भाइले दिएको भोजमा सहभागी भएका पूर्वराजा ज्ञानेन्द्रले नातेदारसित आºनो परिवारिक पिरलो पोखेका थिए । स्रोतका अनुसार उनले हिमानीबारे चिन्ता गर्दै पीडा सुनाएका थिए । भोजमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका एक नेताका अनुसार ज्ञानेन्द्रले पारसलाई दोषी देखाएका थिए । ‘पारसलाई कसरी सुधार्ने होला ? ऊ यता आउन छाड्यो, हिमानीलाई ‘टेन्सन’ थपिएको छ’ भोजमा पूर्वराजा ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
शाही नातेदारहरू सहभागी सो भोजमा ज्ञानेन्द्रले देशको राजनीतिक अवस्थाभन्दा पनि आºनो पारिवारिक दु:ख मात्रै सुनाएका थिए । सहभागीहरूले राजनीतिक कुरा गर्न खोजे पनि उनले चासो देखाएनन् । उनले छोरा(पारस)लाई सम्झाइदिन पनि नातेदारसित आग्रह गर्ने गरेको स्रोतले जनाएको छ ।
पारसले छोरीहरू पूर्णिका र कृतिकाका साथै छोरा हृदयेन्द्रलाई पनि बैंककमै पढाउने भन्दै उतै लगेका थिए । तर, थाई युवतीको प्रेममा परेपछि उनले छोराछोरीको रेखदेख गर्नसमेत छाडेका थिए । उनी थाई युवतीसँगै छुट्टै बस्न थालेका थिए ।
पारसले छोराछोरीको ख्याल गर्नसमेत छाडेपछि केही समयअघि हिमानी बैंकक पुगेकी थिइन् । एक साता बस्दासमेत पारस उनको सम्पर्कमा आएनन् । पारससित भेटै नभई उनी दुखित बन्दै छोराछोरीलाई लिएर काठमाडौं फर्किएकी थिइन् । तीन छोराछोरीसहित उनी सासू–ससुरासँगै निर्मलनिवासमा बस्ने गरेकी छन् ।

प्रतिक्रिया