मत-विमत

‘विभूषणले साहित्यकार भइँदैन’

सौर्य अनलाइन २०६९ असार ९ गते २:२२ मा प्रकाशित

हिजोआज के लेख्दै हुनुहुन्छ ?
‘सुकरातको डायरी’ले मलाई निकै वर्ष कुदायो । आज त्यसैको थकाइ मार्दै छु । फेरि हालको एक दशकभरि गरेका वैदेशिक यात्राका भ्रमण, संस्मरण र साहित्य सबै प्रकाशित हुन बाँकी छ । यात्रा सम्पन्न गर्दै, स्मरण लेख्दै, टाइप गर्दै थन्क्याएको मात्रै । अमेरिका, ग्रिस, बेलायत, फ्रान्स, रूस, हङकङ, थाइल्यान्ड, कोरिया, कतार, भारत आदि भूमिहरूको यात्रा संस्मरणका आधि दर्जन कृति मसिन्याउन बाँकी छन् । अबचाहिँ कस्सिएर त्यतै लाग्छु भन्ने अठोट छ । तर, सोचेको आधा पनि पुग्दैन ।
अहिलेसम्म कति लेखिसक्नुभयो, अब बाँकी कति छ ?
अब यसको उत्तर कसरी दिने होला ? कसैले यति लाख शब्द लेखेँ भन्दछन्, कसैले यति वर्षदेखि मरेर लेखेको लेखेकै छु भन्दछन्, कसैले आफ्ना कृतिका संख्याहरू हार लगाएर रिँगटा चलाउने दृश्य बनाउँछन् । म यी तीनवटैमा विश्वास गर्दिनँ किनभने ती लेखाइ मूल्यांकनका भौतिक मापन मात्र हुन् । मलाई लाग्छ– मैले २०३१ सालदेखि निरन्तर लेखिरहेकै छु । तर, धेरै लेखन घाँसपरालजस्तै कम महत्त्वको थियो होला । काम लाग्ने लेखन अत्यन्त थोरै छ । त्यसभित्र निबन्धसंग्रह–५, उपन्यास–४, अनुवाद–६ अंग्रेजीमा सम्पादन आदि पर्दछन् । अब मलाई लाग्न थालेको छ– बल्ल अलिक बुझेर लेख्न सक्ने भएँछु, अलिक बुझाएर लेख्न सक्ने भएँछु त्यसकारणले सबै कुरा त्यागेर म बाँकी दुई दशक लेखनमै समर्पित हुन चाहन्छु ।
तपाईं कसका लागि लेख्नुहुन्छ, आफ्ना लागि कि पाठकका लागि ?
सर्वप्रथम त लेखन भन्नु नै आत्मप्रकाशन हो । त्यसको पाठक पनि आफैँभित्र हुन्छ । त्यसकारणले सिर्जनाको गर्भमै आफैँभित्र लेखक/पाठक अथवा सर्जक/समालोचक दुवै सँगसँगै हुन्छन् । लेखक ता एक प्रकारले अर्धनारीश्वरजस्तै हो । त्यो प्रकट भइसकेपछि अथवा प्रकाशित भइसकेपछि पनि पाठककै लागि गरिएको जस्तो कर्म लाग्दछ, हो पनि किनभने पाठकले मलाई भेटेर भन्ने गर्दछन्– तपाईंको फलानो रचना/कृति पढेँ र मलाई यस्तो भयो । लेखक सधैँ पाठककै तिर्खामा, पाठककै प्रेममा हुन्छ र पाठकले नै बाँचेको हुन्छ । तिनैबाट प्राप्त हुने ऊर्जाका लागि ऊ लेखिरहेको हुन्छ ।
तपाईंको लेखनमा ‘हृदय’ हाबी हुन्छ कि ‘दिमाग’ ?
यसरी एउटा लेखकको ‘भावना’ बाट ‘मस्तिष्क’ लाई अलग्याउनु असम्भवजस्तो लाग्दछ किनभने सबै लेखन मूलत: हृदयको आग्रह नै हो तर त्यसलाई सुसंगत बनाउने, तार्किक बनाउने, शिल्पयुक्त बनाउने शक्तिको आर्जन भएको छैन भने त्यो पठनीय हुन सक्तैन । हृदयले लेखन उत्प्रेरित गर्छ मस्तिष्कले ऊर्जा र मार्ग । त्यहाँ दुवै पक्षको सन्तुलन आवश्यक हुन्छ जस्तो लाग्छ र म पनि त्यसैमा पर्दछु । तर, कहिलेकाहीँ हृदयले नै अथवा भावनाले नै ज्यादा उद्वेलित क्षणमा सिर्जना हुँदो रहेछ । जस्तो गौरी र सुलोचना । मलाई अनुभव भएको छ एउटा लेखकको परिवेश अध्ययन, शिक्षा, चिन्तन आदि बढ्दै जाँदा उसको लेखन ज्यादा मस्तिष्क सञ्चालित हुँदो रहेछ । म ठान्छु मेरो ‘मुगलान’ (२०३१) भावनाले अधिक सञ्चालित क्षणमा वा उमेरमा लेखेको रहेछु त्यो हृदय अहिलेका सुकरातका पाइला अथवा सुकरातको डायरी लेखनको कुरा होइन, पठन मात्र पनि असमर्थ हुन्छ होला ।
मिडियामा सधैँ छाइरहनु हुन्छ, मिडियामा ‘प्राध्यापक गोविन्दराज भट्टराई छाएको हो कि, ‘साहित्यकार प्राध्यापक गोविन्दराज भट्टराई ?
मिडियासँग सधैँ कुनै जिज्ञासा हुन्छ, कोही नवीनताको खोजी हुन्छ, त्यसकारणले नै मलाई तपाईंहरूले त्यहाँ स्पेस दिनुभएको होला । तर, त्यो मेरै तृष्णाको परिणाम होइन । अर्काे कुरा प्राध्यापक र साहित्यकार बीचमा म फरक देख्तछु । प्राध्यापक भनेको विश्वविद्यालय सेवामा काम गर्दै जाँदा केही फारमहरू भरेपछि आफैँ हुँदै जाने प्रक्रिया हो तर त्यसरी साहित्यकार हुन सकिँदैन । कुनै विश्वविद्यालयमा ‘साहित्यकार’ जन्माउने पाठयक्रम आजसम्म बनेको छैन । नेपालमा प्राध्यापक पद प्राप्त गर्ने व्यक्तिको संख्या पाँच सय नाघेको छ तर तीमध्ये पच्चीसजना पनि साहित्यकार छैनन् होला । साहित्यको क्षेत्रमा मेरो नामको अघि कसैले पनि ‘प्राध्यापक‘ वा ‘डाक्टर’ नलेखिदिए हुन्थ्यो जस्तो मान्दछु । म केवल साहित्यकार गोविन्दराज भट्टराई हुन पाऊँ । यहाँ प्राध्यापक पसेर आफ्नो विद्वताको आडम्बरी भारी नबिसाओस् । कुनै पदले अलंकारले, विभूषणले साहित्यकार हुइँदैन ।
तपाईं आफैँलाई ‘प्राध्यापक गोविन्दराज भट्टराई’ बेजोड लाग्छ, कि ‘साहित्यकार गोविन्दराज भट्टराई’ बेजोड लाग्छ ?
बेजोड त मलाई दुवै लाग्दैन किनभने मेरो उमेरमा कति प्राध्यापक विश्वप्रसिद्ध भएका छन् । कति साहित्यकार विश्वप्रसिद्ध भएका छन् । आफ्नो सानो परिवेशमा आफैँलाई मात्र बेजोड ठान्ने अहंकार ईश्वरले मलाई नदिऊन् भन्ने ठान्दछु । दिएको छ भने पनि त्यो फिर्ता गरून् भन्ने प्रार्थना गर्दछु । प्रध्यापक, विश्वविद्यालयले उपहार गरेको एक अलंकार मात्र हो । साहित्यकार कसैको कृपाले हुन सक्तैन त्यहाँभित्र ईश्वरकै बास हुनुपर्छ जस्तो लाग्छ ।
तपाईंलाई अंग्रेजीमा लेख्न सजिलो हुन्छ कि नेपालीमा ?
मलाई दुवैमा उस्तै लाग्छ । तर २०६३ भदौको गरिमामा प्रकाशित अन्तर्वार्तामा मैले भनेको छु– ‘म अरूका बैसाखी टेकेर धेरै हिँडे, कुदेँ तर अहिले मलाई थाहा भएको छ एउटा सगरमाथा चढ्नलाई बैसाखीले नहुँदो हरेछ मेरा आफ्नै पाइताला उपयुक्त छन्, पर्याप्त छन्’ । वास्तवमा मैले त्योबेलासम्म अंग्रेजीमै ज्यादा लेखेँ होला । त्यसपछि अघिकांश रूपले म नेपालीमै लेख्न मनपराउँछु । मलाई यही वाङ्मयको सगरमाथा चढ्ने रहर छ ।
तपार्इं नेपालीमा सोच्नुहुन्छ कि, अंग्रेजीमा ?
मैले नेपालीमै जानुपर्छ भनी धेरैअघि निर्णय गरेको रहेछु । मेरो ‘मुगलान’को तेस्रो संस्करण (२०४५ मा मैले भनेको छु ‘दिनभरि अंग्रेजीमै बरबराए पनि अंग्रेजीमै खोके पनि, म रातको सपना कहिल्यै अंग्रेजीमा देख्दिनँ सारा सपना नेपालीमै देख्छु ।’ यसका दुईवटा अर्थ हुन सक्छन्– मेरो नेपाली भाषाप्रेम (एकप्रकारको कट्टरता) र अंग्रेजीबाट यता आउने मेरो अकांक्षा । तर, त्यति मात्र होइन, मेरो पालाको अंग्रेजी मुस्किलले, रहरल,े बल गरेर, ठूलो प्रयत्नले पेसाका लागि सिकेको कुरा मात्र थियो ममा पूर्ण द्वैभाषिकताको अभाव छ, पूर्ण द्वैसांस्कृतिकताको अभाव छ । सायद केही दशक व्यवसायले आह्वान गर्दा अंग्रेजी विषयको शिक्षक भएको नाताले, जान्ने भइटोपलेर मैले अंग्रेजीमा ज्यादा बल गरेँ होला, त्यसपछि मैले स्वाभाविक र सहज हुन चाहेँ । त्यसैले म सधैँ नेपालीमा छु । तर, मेरो पठनचाहिँ अधिकांश अंग्रेजीमै हुन्छ । किनभने उताको ज्ञानरसले म नेपाली खेत भिजाउन चाहन्छु ।
नेपालका बौद्धिकहरूको बौद्धिकता बढी कक्षाकोठा र होटलका सेमिनारमा मात्रै सीमित भयो, लेखनमा आएन भनिन्छ नि, ठीकै हो ?
म यसमा तपाईंसँग पूर्णरूपले सहमत छु वास्तवमा संसार नै यस्तै छ । गम्भीर स्रष्टाको तुलनामा बौद्धिकता प्रदर्शन गर्ने प्राध्यापक वा अन्य व्यक्ति–पहलमानहरूको संख्या धेरै ठूलो छ । म ठान्छु यी दुईलाई मिसाउनु हुँदैन किनभने बौद्धिकता एक प्रकारको मलिलो व्यवसाय हो । सिर्जना व्यवसाय होइन, केवल मनोग्रस्ति अथवा अब्सेसन हो ।
सधैँ विदेशका साहित्यिक कार्यक्रममा गइरहनुहुन्छ, त्यस्तो आकर्षण के छ तपाईंसँग ?
हो, म वर्षमा तीन–चार पल्ट विदेशका साहित्यिक कार्यक्रममा गइरहन्छु तर त्यो गमन मसँग कुनै आकर्षण भएको कारणले भन्दा पनि बाह्य मुलुकमा पुगेर, अनेक डायस्फोरामा छरिएका नेपाली बन्धु बान्धवहरूको प्रेमले हो । मेरो प्रमुख लक्षचाहिँ डायस्फोरिक नेपाली साहित्य, नेपाली संस्कृतिको अध्ययन गरी उनीहरूको कर्मको मूल्यांकन गर्नु, ती कर्मलाई नेपाली वाङ्मयको मूलधारसँग जोड्नु नै हो । किनभने अहिले सम्पूर्ण विश्व नै डायास्पोरा स्टडिजअन्तर्गत अनेक विषयको अध्ययन र अनुसन्धानमा समर्पित छ । नेपालीको ध्यान त्यसतर्फ पुगेको छैन । नेपाली समालोचनामा, नेपाली साहित्यको इतिहासमा तिनीहरूलाई आवश्यक स्पेस दिलाउने चिन्तामा म समर्पित छु । मेरा केही विदेशयात्रा अन्य विषयका बौद्धिक र प्राज्ञिक प्रस्तुति पनि रहेका छन्
तपाईंले नलेख्दा तपाईंलाई बढी घाटा हुन्छ कि पाठकलाई ?
अघि भनेँ, लेखक र पाठक दुई अन्तरंगी भएकाले गर्दा दुवैलाई ठूलो नोक्सान हुन्छ । त्यसमाथि समर्पित लेखक ता एक क्षण पनि नलेखिरहन सक्तैन । दिवंगत हुनुभन्दा सात दिनअघि कृष्णचन्द्रसिंह प्रधानले लेख्नुभएको एउटा निबन्ध प्रकाशित भएको छ ।
विश्वविद्यालयको कक्षाकोठामा प्रोफेसर भएर पस्दा या विद्याार्थी भएर बस्दा कुनचाहिँ बढी आनन्दमयी लाग्यो तपाईंलाई ?
प्राध्यापन पेसाको उत्कर्ष नै प्रोफेसर पद हो । राम्रो अध्ययन गरेर कक्षा कोठामा पस्न पाउनु अथवा सक्नु अतुलनीय भाग्यको, आनन्दको कुरा हो ।
तपाईं आफूलाई उत्तरआधुनिकताको उत्तराधिकारी ठान्नुहुन्छ रे नि ? आरोप सत्य हो ?
सत्यचाहिँ के हो भने उत्तरआधुनिकताको स्थापना र संस्थागत विकासमा मैले २०४८ सालदेखि प्रवेश गरेको हुँ । यो २१ वर्षमा उत्तरआधुनिकताभित्र पर्ने साइबर संस्कृति, डायास्पोरा लेखन, इको लेखन, अभिघात सिद्धान्त, एथ्निक लेखन, अनुवाद र बहुलतावादी लेखनजस्ता विश्व लेखन, चिन्तन र समालोचनाका उदारतावादी स्कुलहरूलाई नेपाली जगत्मा स्थापना र प्रयोगतर्फ उन्मुख गराएँ । यसमा अन्य अनेकौँ विचारकहरूको पनि सहयोग छ । यस्तो ठानिदिएकामा म त खुसी मान्छु मेरो कर्मको मूल्यांकन हुने रहेछ भन्ने ठान्छु ।
तपाईं बढी भूमिका लेखनमा रमाउनुहुन्छ भन्छन्, तपाईंलाई ‘भूमिकाराज सर’ भन्नेहरूलाई तपाईंको उत्तर के छ ?
हेर्नाेस्, नयाँ लेखनमा डायास्पोरा, एथ्निसिटी, साइबर संस्कृति, लैंगिक चेतना, अनुवादजस्ता विश्वप्रभाव देखिन थालेको निकै भयो । ती विषयको व्याख्या गर्ने, विश्लेषण गर्ने, समालोचकको अभाव छ । कि रूढ छ कि शास्त्रीय वा संरचनावादी, त्यसो त सबै रूढ हुन् । लेखनमा, समालोचना सिद्धान्तमा प्रतिमान परिवर्तित भइसकेको छ भन्ने कुरा हाम्रा स्रष्टालाई पनि अवगत छ । त्यसका साथै अहिले नेपाली साहित्य सिर्जना अनेक भूगोलबाट, अनेक जाति र संस्कृतिबाट अकल्पनीय रूपले फैलिएर आएको छ यसलाई संरक्षण गर्ने प्रेमले पनि म भूमिकातिर लागेको हुँ । त्यो लेखन पनि मेरो भूमिका नभएर नवीन समालोचकीय दृष्टिकोण नै हो । कहाँकहाँदेखि सम्झेर आउँछन् उनीहरूलाई प्रोत्साहित  गर्नु मेरो प्रथम कर्तव्य हो । मैले अस्वीकार गरेँ भने उनीहरूलाई कसले बुझिदेलाजस्तो लाग्छ । तर, यस्तो लेखन मेरो निमित्त बाध्यात्मक पनि हो । म केवल सिर्जनामा रमाउने व्यक्ति हुँ । नयाँ समयले पालो दिन थालेपछि म सिर्जनामै हुनेछु ।
प्रस्तुति : राजेश राई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय