रामसार सूचीमा ताल थप्ने प्रक्रिया रोकियो

काठमाडौं, ८ असार । संरक्षण गर्ने निकाय नतोकिँदा कास्कीका नौ ताललाई विश्व रामसार सूचीमा समावेश गर्ने प्रक्रिया सात महिनादेखि रोकिएको छ ।
पोखरा उपमहानगरपालिका दुई र लेखनाथ नगरपालिकाका सात ताललाई रामसार सूचीमा समावेश गर्ने प्रस्ताव सात महिनाअघि राष्ट्रिय ताल संरक्षण विकास समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पठाएको थियो ।
सन् ००९ मा समितिले कास्कीका नौओटै तालको विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो । तर, प्रस्तावमा ती तालको संरक्षण गर्ने जिम्मेवारी लिने निकाय नतोकिएकाले विश्व रामसार सचिवालयमा प्रस्ताव पठाउन नसकिएको सचिवालयका लागि नेपालको आधिकारिक निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
‘अरू सबै प्रक्रिया पुगेको छ, संरक्षण गर्ने निकाय नतोकिएकाले विभागमै प्रस्ताव अड्केको हो,’ विभागका वरिष्ठ इकोलोजिस्ट डा. महेश्वर ढकालले सौर्यसँग भने, ‘निकाय नतोकिई प्रस्ताव सचिवालय पठाउँदा राम्रो हुन्न ।’
उनले नतोकीकन प्रस्ताव पठाउँदा सूचीकृत हुने सम्भावना भए पनि संरक्षण गर्ने निकाय नतोकिँदा पछि कसैले पनि संरक्षण नगरेर अस्तव्यस्त भए रामसार सूचीबाट हट्ने खतरा रहने बताए । ‘त्यसैले अपूरो प्रस्ताव पठाएर भोलि नराम्रो हुनुभन्दा अहिले प्रस्ताव पूरा आओस् भनेर रोकिएको हो,’ उनले भने ।
निकुञ्ज विभागका अनुसार संरक्षित क्षेत्रभित्रका रामसार सूचीमा सूचीकृत क्षेत्रको विभागले नै संरक्षणको जिम्मेवारी लिन्छ । अन्यको सम्बन्धित जिल्ला वन कार्यालय वा अन्य स्थानीय निकायले संरक्षणको जिम्मेवारी लिनुपर्छ । तर, कास्कीका प्रस्तावित नौ ताल संरक्षित क्षेत्रबाहिर रहेकाले जिल्ला वन कार्यालय कास्की, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका वा कुनै निकायले तिनीहरूको संरक्षणको जिम्मेवारी लिनुपर्ने हुन्छ ।
सात महिनाअघि राष्ट्रिय ताल संरक्षण विकास समितिले पोखरा उपमहानगरपालिकाका फेवा र कमलपोखरी तथा लेखनाथ नगरपालिकाका बेगनास, रूपा, दिपाङ, मैदी, गुँदे, खास्टे र न्युरेनी ताललाई रामसार सूचीमा समावेश गर्न प्रस्ताव पठाएको थियो । रामसार सूचीमा सूचीकृत क्षेत्र विश्वस्तरकै उत्कृष्ट, पर्यटकीय आकर्षणको केन्द्र, जलचर एवं पक्षीहरूको वासस्थान र अलग्गै पहिचान भएको क्षेत्र मानिन्छ । त्यसैले जुन देशका जति धेरै क्षेत्र रामसार सूचीमा सूचीकृत हुन्छन्, त्यति नै ती क्षेत्रका अन्तर्राष्ट्रिय पहिचान र पर्यटक आकर्षण दुवै बढ्छ र ती क्षेत्र संरक्षणका लागि वैदेशिक सहयोगको बाटो खुल्छ ।
देशभरका ताल संरक्षण गर्ने निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग आफैँ भएकाले प्रस्तावमा संरक्षण गर्ने निकाय नतोकिएको राष्ट्रिय ताल संरक्षण विकास समितिले जनाएको छ । ‘निकुञ्ज विभाग नै संरक्षक भएकाले प्रस्तावमा अरू नतोकिएको हो,’ समितिका कार्यक्रम अधिकृत मधुकर खड्काले सौर्यसँग भने, ‘केन्द्रीय निकाय हुँदाहुँदै अर्को स्थानीय निकाय तोक्न आवश्यक नपर्ने हो,’ उनले यी सबैबारे निकुञ्ज विभागसँग छलफल गर्ने बताए ।
अहिलेसम्म नेपालका रारा, गोक्यो, गोसाइँकुण्ड, से–फोक्सुन्डो, माईपोखरी, घोडाघोडी, बीसहजारी, कोसीटप्पु र जगदीशपुर बाँध रामसार सूचीमा सूचीकृत भइसकेका छन् । समितिले सन् ००९ मा कास्कीका नौओटै ताल रामसार सूचीमा समावेश गर्न सकिने/नसकिनेबारे तालहरूको सम्भाव्यता अध्ययन गरेको थियो ।
सिमसार संरक्षणसम्बन्धी रामसार महासन्धिअनुसार कुनै पनि सिमसार विश्व रामसार सूचीमा सूचीकृत गर्न नयाँ सिमसारको जैविक विविधता अलौकिक र महत्त्वपूर्ण खालको हुनुपर्छ । त्यहाँ अनौठो प्रकारका वा एकै प्रकारका २० हजारभन्दा बढी जलपक्षीको बसोबास भएको हुनुपर्छ । त्यसैगरी, पक्षीहरूले सहजै रूपमा ओहोरदोहोर गर्न सक्ने र प्रजननका लागि सुरक्षित वातावरण भएको सिमसार क्षेत्रलाई मात्र विश्व सूचीमा सूचीकृत गर्न सकिने मापदण्ड छ ।
सन् १९७१ मा इरानको रामसार भन्ने ठाउँमा सम्पन्न सिमसार सम्मेलनलाई विश्व रामसार सम्मेलन मान्दै त्यसयता विश्वभरका जैविक विविधताका महत्त्वपूर्ण सिमसारलाई सूचीकृत गरिँदै आइएको छ । अहिलेसम्म विश्वमा करिब १९ करोड ३३ लाख ९८ हजार एक सय ६२ हेक्टर जमिन रामसार सूचीमा सूचीकृत भइसकेको छ भने विश्वका दुई हजार २७ ओटा क्षेत्र सूचीमा सूचीकृत छन् । रामसार महासन्धिसँग सम्बन्धित देश एक सय ६२ ओटा छन् ।

प्रतिक्रिया