दीपेश एसियन युथ च्याम्पियनसिपमा

काठमाडौं : चीनको डंगाउमा हुने बिएसी ट्रेनिङ क्याम्प र कोरियामा हुने यु–१९ एसियन च्याम्पियनसिपमा सुदूरपश्चिमका ब्याडमिन्टन खेलाडी दीपेश धामीको सहभागिता रहने भएको छ । १५ वर्षको उमेरमै राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेर सनसनी फैलाएका धामी छैटौं राष्ट्रिय खेलकुदको प्रतिस्पर्धात्मक फाइनलमा विकास श्रेष्ठसँग पराजित भएका थिए ।
नेपाल ब्याडमिन्टन संघको पहलमा अवसर पाएका धामी सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनी ह्वाइटगोल्ड इन्टरनेसनल उच्च माविमा कक्षा १२ मा अध्ययनरत छन् । धामीलाई २०६८ सालदेखि मात्रै सञ्चालनमा आएको ह्वाइटगोल्डले कक्षा ११ देखि नै पूर्ण छात्रवृित्त प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य हर्क सिंह धामीका छोरा दीपेशका लागि यसअघि अन्य भारतीय क्लब र प्रशिक्षक केन्द्रले पनि चासो देखाएका थिए । ‘उसको खेल देखेर थुप्रै प्रस्ताव नआएका होइनन् । तर, मैले उसले यहीँ पनि राम्रो गर्ने देखेर यहीँ राखेको हँु,’ छोरा दीपेशकै बारे हर्कसिंहको भनाइ छ । दीपेश नेपाली एपिएफ क्लबमा आबद्ध छन् । दीपेशसँगै महिला खेलाडी शिक्षा श्रेष्ठ पनि त्यसतर्फ लागेकी छन् । दुवैले सिंगल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । जुनियरमा दुवै शीर्ष वरियताका हुन् । (सौस)

प्रतिक्रिया