युवा खेलाडीले इंग्ल्यान्डलाई जिताए, स्विडेन पनि बाहिर

किभ, ३ असार । डेनी वेलब्याकले निर्णायक गोल गरेपछि युरोकप २०१२ को पहिलो चरणको आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डले स्विडेनलाई ३–२ ले पराजित गरेको छ  । २–१ ले पछि परेको इंग्लायन्डलाई जित दिलाउने क्रममा थियो वाल्कटको लो क्रसलाई उपयोग गर्दै ७८औं मिनेटमा वेलब्याकले निर्णायक गोल गरे । जितपछि इंग्ल्यान्डले क्वार्टरफाइनलमा प्रवेश गर्न अन्तिम खेलमा युक्रेनसँग बराबरी मात्र गरे पनि पर्याप्त हुनेछ ।
अर्को खेलमा प्रभावकारी प्रदर्शन गरेको फ्रान्सले युक्रेनलाई २–० ले पराजित गर्‍यो । २००६ को विश्वकप फाइनलपछि फ्रान्सले ठूला प्रतियोगितामा हात पारेको यो नै ठूलो जित हो । पराजयपछि युक्रेन तीन अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ । चार अंक भएको फ्रान्स शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा छ । दुई खेलमा कुनै अंक नजोडेको स्विडेन प्रतियोगिातबाट बाहिरिएको छ । जितपछि फ्रान्सले प्रशिक्षक लरें ब्लाँको नेतृत्वमा अपराजित यात्रा २३ खेलसम्म लम्ब्याएको छ ।
रे हड्सनको इंग्ल्यान्डलाई जिताउने क्रममा तीन युवा खेलाडीले सानदार प्रदर्शन गरे । २३ वर्षीय एन्डी क्यारोलले पहिलो हाफमा इंग्ल्यान्डका लागि गोल गरे  । दोस्रो हाफमा इंग्ल्यान्ड २–१ ले पछि परेको अवस्थामा वैकल्पिक खेलाडी २३ वर्षीय थियो वाल्कटले गोल गरे । २१ वर्षीय म्यानचेस्टर युनाइटेडका फरवार्ड वेलब्याकले विजयी गोल गरे ।
२३औं मिनेटमा अग्रता लिएको इंग्ल्यान्डका ग्लेन जोन्सनले ४९औं मिनेटमा आत्मघाती गोल गरे । ५९औं मिनेटमा उल्फ मेलबर्गले स्विडेनलाई अग्रता दिलाए । जेम्स मिलनरलाई प्रतिस्थापन गरेका वाल्कटले ६४औं मिनेटमा इंग्ल्यान्डका लागि बराबरी गोल गरे । प्रशिक्षक हड्सन आफ्ना खेलाडीको प्रशंसा गर्न चुकेनन् । ‘सेट पिसमा उत्कृष्ट रहेको स्विडेनसँग कम ब्याक गर्नु चानचुने कुरा होइन,’ हड्सनले भने ।
स्विडेनका प्रशिक्षक एरिक हमारा आफ्ना खेलाडीले उत्कृष्ट खेल खेले पनि प्रतियोगिताबाट बाहिरिएकोमा दु:ख व्यक्त गरे  । इंग्ल्यान्डको कुनै पनि प्रतियोगितामा स्विडेनमाथिको यो पहिलो जित हो । खेलमा कप्तान स्टिफन जेरार्डले आफू किन उत्कृष्ट मिडफिल्डर भएको भन्ने पुष्टि गर्न बाँकी राखेनन् । इंग्ल्यान्डलाई अग्रता दिलाउने क्रममा जेरार्डले गरेको ‘पिन प्वाइन्ट डायगनल क्रस’मा क्यारोलले हेड गरेका थिए । क्यारोलको हेड रोक्न स्विडेनका गोलरक्षक एरिक्सनले कुनै मौका नै पाएनन् ।
इब्राहिमोभिकले प्रहार गरेको फ्रिकिकमा मेलबर्गले हेड गरेपछि त्यसलाई रोक्ने प्रयासमा जोन्सनले आत्मघाती गोल गरेका हुन् । सेबास्टिन लार्सनको घुमाउरो फ्रिकिकमा मेलबर्गले ५९औं मिनेटमा गोल गरे । अनावश्यक फल प्रहार गर्दै स्विडेनलाई दोस्रो गोलको अवसर दिएका मिलनरलाई प्रतिस्थापन गरेपछि इंग्ल्यान्ड खेलमा फर्केको थियो ।
फ्रान्सका लागि जेरेमी मनेज र योहान काबावाले गोल गरे । फ्रान्सेली प्रशिक्षक लरें ब्लाँले मेनेजको खुलेर प्रशंसा गरे । युक्रेनका प्रशिक्षक ओलेग बुलेकिनले आफ्नो टोलीले दोस्रो हाफमा एकदम कमजोर प्रदर्शन गरेको बताए । खेलको अन्त्यमा त हाम्रा खेलाडी एकदमै कमजोर देखिए,’ बुलेकिनले भने । समूहका अन्तिम खेलमा फ्रान्सले स्विडेनसँग र इंग्ल्यान्डले युक्रेनसँग खेल्नेछ । वर्षाका कारण चार मिनेटपछि ५७ मिनेट स्थगित भएको खेलमा करिम बेन्जिमाले दुवै गोल गरे । एजेन्सी

प्रतिक्रिया