बहुउद्देश्यीय कभर्डहलमा लगानी, बालुवामा पानी


बाग्लुङ, ३२  जेठ । निर्माण थालिएको एक दशक पुग्न लागे पनि बाग्लुङ नगरपालिका–१ बाङ्गेचौरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहल अलपत्र परेको छ ।
सरोकारवाला निकायले चासो नदिंदा कभर्डहल निर्माणका लागि बनाइएका पिलर र त्यसमा प्रयोग गरिएका फलामे डन्डी (रड) हरूसमेत जीर्ण बन्न थालेका छन् । तर भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको बाग्लुङ नगरपालिका, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र जिल्ला खेलकुद विकास समिति भने अलपत्र कभर्डहल निर्माण योजनाको सम्बन्धमा एकअर्कामा दोष खन्याउँदै आफू पन्छिने गरेका छन् ।
२०६२ सालमा निर्माण थालिएको भवनमा १२ लाख ५० हजार रुपियाँ खर्च भइसकेको छ । कुल ७२ लाख रुपियाँको लागतमा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन नौ वर्ष बितिसक्दा पनि पाँच प्रतिशतसमेत काम भएको छैन । पाँच सयजना अटाउन सक्ने क्षमताको उक्त कभर्डहल निर्माण हुन सकेमा ब्याडमिन्टन, वर्षाको समयमा विभिन्न खेलअभ्यास, सांस्कृतिक कार्यक्रम, गोष्ठी, सेमिनार, सम्मेलनलगायत कार्यक्रम गर्न सकिनेछ ।
तत्कालीन भौतिक योजनामन्त्री नारायणसिंह पुनले रुद्रेपीपलमा कभर्डहल बनाउने भन्दै राष्ट्रिय योजना आयोगमार्फत सुरुमा साढे चार लाख रुपियाँ प्रदान गरेका थिए । तर तत्कालीन नगर प्रमुख विदुर खड्काले रुद्रेपीपलमा पोखरी भएकोले कभर्डहल बनाउन नदिने बताएपछि बाङ्गेचौर खेलमैदानको छेउमा कभर्डहल बनाउन सुरु गरिएको थियो । ‘लगातार दुई–तीन वर्षसम्म साढे १२ लाख रुपियाँ लिएर काम गरियो,’ कभर्डहल निर्माणका पहलकर्ता तथा पूर्वखेलाडी राजेन्द्र शाक्यले भने, ‘अहिले सम्बन्धित निकायले बेवास्ता गर्दा हलको निर्माणकार्य अलपत्र छ ।’
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भने स्थानीयस्तर र नगरपालिकाबाट १०/१० प्रतिशत रकम संकलन गर्नुपर्ने सर्त रहेकोले उक्त सर्त पूरा नगर्दा योजना अलपत्र परेको बताएको छ । ‘हामीले त प्राविधिक सहयोग मात्र गर्ने हो,’ कार्यालयका इन्जिनियर रामबाबु उप्रेतीले भने, ‘स्थानीयस्तरमा उपभोक्ता समिति गठन गरेर दस प्रतिशत रकम संकलन नगर्दा योजना अघि बढ्न सकेको छैन ।’
नगरपालिकाले भने कभर्डहल बन्ने निश्चित भए १० प्रतिशत रकम लगानी गर्न आफू तयार रहेको बताएको छ । नियमानुसार व्यहोर्नुपर्ने रकम दिएर साझेदारी गर्न तयार रहेको नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ‘तर ७२ लाखको योजनाको दश प्रतिशत रकम संकलन गर्न स्थानीय खेलप्रेमी र खेलाडी तयार देखिएका छैनन्, स्थानीयहरू सर्त पूरा गर्न तयार नहुँदा अहिलेसम्म गरिएको लाखौंको लगानी बालुवामा पानीजस्तो हुने सम्भावना बढेको छ,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुलाल शाक्यले भने, ‘सरकार र सम्बन्धित कार्यालयले पनि चासो नदिएकाले अब योजना अघि बढ्न सक्ने सम्भावना म देख्दिन ।’ उनले बरु रुद्रेपीपलमै खेलाडी र सरकारी निकायका प्रमुखहरूको पहलमा स्वत:स्फूर्त सहयोग गरेर कभर्डहल निर्माण गर्न लागेको बताए ।

प्रतिक्रिया