युरोकप–२०१२ र प्रसंगहरू

पोल्यान्ड–रुस समर्थकहरूबीच झडप
वार्सा : युरोकप–२०१२ मा मंगलबार पोल्यान्ड र रुस भिड्नुअघि यी दुई देशका समर्थकबीच झडप भएको छ । आफ्नो देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा हजारौं रुसी समर्थकले युरोकपको खेल आयोजना गरिरहेका सहरमध्येको एक पोल्यान्डको वार्सामा र्‍याली निकालेका थिए । वार्सा पुलदेखि वार्सा रंगशालासम्म रुसी समर्थकले र्‍याली लैजाने कार्यक्रम थियो । तर सो मार्गका बीचतिर पोल्यान्डका समर्थक ढुकेर बसेका थिए । सुरुमा पोल्यान्डका समर्थकले रुसी समर्थकलाई आक्रमण गर्ने प्रयास गरेको र यसैबाट तनावपूर्ण स्थिति सृजना भएको थियो ।
दुवै टोलीका गरी सयौं समर्थक भिडेका थिए । हातले, बोटलले, धातुका हतियारहरूको प्रयोग गरी झगडा भएको थियो । प्रहरीले स्थिति नियन्त्रणका लागि रबरका गोली र अश्रुग्यास पनि चलाउनुपरेको थियो । पोल्यान्डका खेलकुदमन्त्री जोआन्ना मुचाका अनुसार घटनामा संलग्न भएको आरोपमा १ सय ८४ जना नियन्त्रणमा लिइएको छ । मुचाले उक्त घटना ‘स्तब्धपूर्ण’ भएको बताएका छन् ।
प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार १ सय ५७ जना पोल्यान्ड र २४ जना रुसी समर्थक पक्राउ गरिएको छ । यस घटनामा ५० भन्दा बढी मानिस घाइते भए । त्यसमध्ये २४ जना विदेशी छन् । घाइते हुने विदेशीमा १४ रुसी तथा एक/एक पाकिस्तान, जर्मनी र अमेरिकी छन् । अन्यको राष्ट्रियता पहिचान नभएको जनाइएको छ । घाइतेको स्थिति सामान्य छ ।
उक्त घटनाबारे तत्कालै प्रतिक्रिया जनाउँदै युरोपियन फुटबलको सर्वोच्च संस्था युएफा र विश्व फुटबल महासंघ (फिफा) ले अनुसन्धान गर्न निर्देशन दिएको छ । पोल्यान्डको प्रहरी, युरोकप–२०१२ का सुरक्षा प्रमुखहरू र दुवै देश (पोल्यान्ड र रुस) का ‘एन्टी हुलिगानिज्म एजेन्सी’ का प्रतिनिधिले सयुंक्त रूपमा अनुसन्धान थालेका छन् । झडपको सम्भावनालाई मध्यनजर गरी वार्सामा ६ हजार प्रहरी परिचालन गरिएको थियो । यी दुई देशबीच लामो समयदेखि सम्बन्ध राम्रो छैन । पोल्यान्डले रुसको शासन व्यवस्थालाई घृणापूर्वक हेर्ने गरेको छ । रुसले पोल्यान्डमाथि करिब एक सय वर्ष शासन गरेको थियो । शीतयुद्धका क्रममा सोभियत संघका रूपमा रुसद्वारा पोल्यान्ड शासित थियो । रुसी विपक्षी पार्टीले आफ्ना देशका नागरिकले पोल्यान्डले निकालेको र्‍यालीको आलोचना गरेको छ । पोल्यान्डले रुसी नागरिकलाई र्‍याली गर्ने अनुमति दिएको थियो ।

आवश्यक व्यवस्था मिलाउन आग्रह
रंगभेदी क्रियाकलाप न्यूनीकरण गर्न युरोपियन फुटबल महासंघ
(युएफा) ले युरोकप–२०१२ आयोजना गरिरहेका सहरहरूलाई सम्बन्धित प्रशिक्षणस्थलमा प्रशस्त सुरक्षाकर्मी पठाउन आग्रह गरेको छ । केही दिनअघि नेदरल्यान्ड्सले प्रशिक्षण गरिरहेका बेला पोल्यान्डमा टिमका अश्वेत सदस्यलाई लक्ष्य गरी रंगभेदी व्यवहार भएको थियो । यस घटनालगत्तै रंगभेदी व्यवहारको चर्को आलोचना भइरहेको छ भने सहभागी टिमले यसविरुद्ध आवाज उठाइरहेका छन् । युएफाले पोल्यान्डका खेलकुदमन्त्री र सम्बन्धित सहरका मेयरलाई पत्र लेखेर रंगभेदी व्यवहार नियन्त्रणका लागि सुरक्षा उपस्थितिसहित आवश्यक सम्पूर्ण व्यवस्था गर्न भनेको छ । रंगभेदी व्यवहार गर्ने जोकोहीलाई पनि तत्काल रंगशालाबाहिर निकाल्न र आपराधिक क्रियाकलापमा मुद्दा चलाउन भनी युएफाले निर्देशन दिएको छ । यसैबीच आयोजकमध्येको एक युक्रेनले आफ्नो देशमा रंगभेद नभएको दाबी गरेको छ । युक्रेन राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ओलेग ब्लोखिनले भने, ‘रंगभेदबारे म केही बोल्न चाहन्न । युक्रेनमा रंगभेद छैन ।’ युरोकपमा देखिएको रंगभेदी व्यवहारले यतिबेला युएफामा मात्र होइन युरोपियन युनियनमा समेत तहल्का मच्चिएको छ ।

तीन पोलिस खेलाडी घाइते
चेक गणतन्त्रविरुद्धको पहिलो चरणको अन्तिम खेलमा पोल्यान्डका तीन खेलाडी चोटका कारण अनुपस्थित रहनेछन् । रक्षक डानियल पक्र्युस, मिडफिल्डर युगान पोलान्सकी र डारिसस डुड्काले चोटका कारण खेल गुमाउनेछन् । पोलान्सकीको घँुडामा लागेको र डुड्काको मांसपेसीको चोट गम्भीर रहेको छ । क्वार्टरफाइनल प्रवेशका लागि पोल्यान्डले ग्रीसलाई पराजित गर्नु अनिवार्य रहेको छ । फ्रान्सेली क्लब सोउच्वाक्सबाट खेल्ने क्रममा लागेको पक्र्युसको चोट प्रतियोगितामा बल्झिएको हो । पोलान्सकीले पनि रुससँगको खेल सकिन १० मिनेट बाँकी रहँदा मैदान छाडेका थिए । ग्रीससँगको खेलमा घाइते भएका २८ वर्षीय एयुक्सरेका मिडफिल्डरले रुससँगको खेलमा ७३आंै मिनेटमा मैदान छाडेका थिए । (एजेन्सी)

प्रतिक्रिया