श्रेया लामो समयसम्म पौडिने


काठमाडौ,२५  जेठ । किशोरी पौडीवाज श्रेया धितालले पौडी खेललाई लामो समय निरन्तरता दिने सोच रहेको बताएकी छन् ।
आसन्न लन्डन ओलम्पिकको तयारीको क्रममा रहेकी धितालले बुधबार सौर्यसँग कुराकानी गर्दै भनिन्, ‘म लामो समय यस खेलमा रहन्छु ।’ १ सय मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाइकी राष्ट्रिय कीर्तिमानधारी धिताल फागुनमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा आठ स्वर्णपदक जितेकी थिइन् । १ सय मिटर फ्रिस्टाइलमा १ मिनेट १० सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी धितालको लक्ष्य ओलम्पिकमा यही कीर्तिमान भंग गर्नु नै हो ।
यसअघि रोम र चीनमा गरी दुईपटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाएकी श्रेया ओलम्पिक सहभागी हुन पाउँदा अत्यन्त उत्साहित भएको तर नेपालमा तीन महिना मात्र प्रशिक्षणको अवसर पाएको कारण आफूहरू विदेशीको तुलनामा कमजोर रहेको बताउँछिन् ।
नौ महिनाको उमेरमै आमा अनिता धितालले दुई छोरी श्रेया र अदितीलाई कुण्डलिनीको स्विमिङ पुलमा लगेर खेलाएपछि यिनको पौडी खेलजीवनको सुरुआत भएको थियो । ६ वर्ष हँुदा पौडी खेल्न पोख्त श्रेया चार वर्षअघि उमेरसमूहमा मात्र नभई खुलातर्फ पनि प्रतिस्पर्धा गर्नलायक भएकी थिइन् ।

प्रतिक्रिया