युरोकपमा हेर्नलायक प्रशिक्षक


पेरिस, २५ जेठ ।  फुटबल टिम गेम हो । टिम रणनीति बनाउने र राम्रो योजना बुन्न सक्ने  प्रशिक्षककै कारण फुटबलको परिणाम निर्भर रहने गर्छ  । यसैकारण फुटबललाई ‘कोचगेम’कै रूपमा परिभाषित गर्नेको पनि कमी छैन । आसन्न युरोकप फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा पाँच प्रशिक्षक यस्तै चर्चामा रहेका छन् । यसरी चर्चामा रहने प्रशिक्षकमा जर्मनीका जोचिम लोउ पनि छन् । दुई वर्षअघिको विश्वकपमा उनले जर्मनी इतिहासकै सबैभन्दा कम उमेरका खेलाडीको टोली बनाउँदै चर्चामा रहेका थिए । उनले जोखिम मोलेको आरोप लागे पनि जर्मनी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेपछि सबै आश्चर्यमा परेका थिए ।
सन् २००६ को विश्वकपको लगत्तै  जर्गेन क्लिन्सम्यानले छाडेपछि लोउले जर्मनीको टोली हेर्ने जिम्मेवारी पाएका थिए । त्यसपछि आक्रामक फुटबलको पर्याय बनेको जर्मनी २००८ को युरोकपको फाइनलमा प्रवेश गर्नाका साथै २०१० विश्वकप सेमिफाइनलमा प्रवेश गरेको थियो । हाल यो टोली जर्मन इतिहासकै उत्कृष्टमध्येको एक टोली रहेको प्रतिक्रिया पनि बाहिर आइसकेको छ ।
ग्रुप अफ डेथमा बारम्बार डच टोलीलाई माथ खुवाउने गरेका जर्मनी र पोर्चुगल समावेश भएपछि नेदरल्यान्ड्सका प्रशिक्षक बर्ट मान मर्जविकले यसपटक इतिहास फेरिने चेतावनी दिइसकेका छन् । सन् २०१० को विश्वकप फाइनलमा प्रवेश गर्नाका बाबजुद मर्जविकको टोलीको खेल्ने शैलीको आलोचना भएको थियो । एकसेएक प्रतिभाशाली खेलाडी उपस्थित भएका कारण मर्जविकको टोली उपाधिको दाबेदार रहेको छ । तर, त्यो प्रतिभालाई उपाधि यात्रामा प्रयोग गर्नु उनका लागि ठूलो. चुनौती पनि बनेको छ । सन् १९८८ मा रुड गुलिटसहितको टोलीपछि यसपटक नेदरल्यान्डस सफल हुने सम्भावना व्यक्त गरिनामा इंग्लिस प्रिमियरसिपका शीर्ष गोलकर्ता रोबीन भान पर्सीको फर्म पनि रहेको छ ।
एकसेएक खेलाडीसहितको स्पेनलाई महत्त्वपूर्ण उपलब्धि दिलाएका कारण स्पेनका भिसेन्टे डेल बोस्क्यु पनि चर्चामा छन् । बार्सिलोनाको झँै ‘टीका टीका’ स्टाइलमा खेल्ने स्पेनको शैलीले सबैलाई आकर्षण गर्ने नै छ । ४–३–३ र ४–५–१ दुवै फर्मेसनमा खेल्ने स्पनेको टोलीमा जाभी र जाभी अलान्सो आक्रमणका सूत्रधार हुनेछन् । विंगमा आन्द्रेइ इनेस्टा, डेबिड सिल्भा, पेड्रो र हुवा माटाको उपस्थितिले स्पेनलाई आक्रमणको कुनै चिन्ता छैन । स्पेनलाई विश्वकप उपाधि दिलाउनुअघि नै रियल म्याड्रिडलाई घरेलु लिगका साथै च्याम्पियन्स लिग उपाधि दिलाइसकेका डेल बोस्क्युका लागि युरोकपको उपाधि रक्षा गर्नु नै अहिलेको ठूलो चुनौती बनेको छ ।
२०१० को विश्वकपमा पहिलो चरण नै पार गर्न नसकेपछि फ्रान्सेली टोली अत्यन्त आलोचित मात्र भएन, घरेलु विवादमा समेत मुछियो । यस अवस्थामा टोलीलाई पुन:संगठित गर्न र आत्मबल प्रदान गर्न पूर्व विश्वकप विजयी कप्तान लाउरेन्ट ब्लान्क उपयोगी साबित भए । बोर्डेक्सका पूर्वप्रशिक्षक ब्लान्कले प्रतिभाशाली खेलाडीलाई एउटै मियोमा बाँध्दै फ्रान्सलाई समूहमा पहिलो स्थान दिलाउँदै युरोकपमा छनोट गराए । २०१६ को युरोकप जित्ने लक्ष्य सावर्जनिक गरेका ब्लान्कको टोलीलाई छनोट स्पर्धाको पूर्वसन्ध्यामा अन्डरडग टोलीका रूपमा हेरिएको थियो । उनको टोलीले २१ खेलको अपराजित यात्रा गरेपछि फ्रान्सेली राष्ट्रपतिले समेत ब्लान्कको खुलेर प्रशंसा गरेका छन् ।
इङ्ल्यान्डका प्रशिक्षक रे हडसनका लागि वर्तमान समय त्यत्ति सहज छैन । रियो फर्डिनान्डलाई टोलीमा समावेश नगर्नु र स्टेफन जेरार्डलाई कप्तान घोषित गर्ने निर्णयलाई समेत पुष्टि गर्ने दायित्व पनि उनीमाथि थपिएको छ । टोटनहामका प्रशिक्षक बन्न इच्छुक हडसन गत महिना फाबियो कापेलोलाई प्रतिस्थापन गर्दै इंगल्यान्डका प्रशिक्षक भएका थिए । टोलीका तीन प्रमुख खेलाडी गेराथ बेरी, फ्रान्क लाम्पार्ड र गेरी काहिललाई चोटका कारण गुमाउनु परेपछि उनीमाथि झनै ठूलो आपत्ति परेको छ । उनको सबैभन्दा धेरै भरोसा भने गोलरक्षक जो हर्टमाथि छ । विवाद र संकटका बाबजुद हडसन युरोकप–२०१२ मा चर्चा गर्नलायक प्रशिक्षकका रूपमा छन् ।

प्रतिक्रिया