स्टसर र इरानी सेमिफाइनलमा


एजेन्सी, २४ जेठ । सामन्था स्टसर र सारा इरानी फ्रेन्च ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेश गर्ने क्रममा मंगलबार भएको खेलमा स्टसरले डोमिनिका सिबुल्कोभालाई ६–४, ६–१ ले पराजित गरिन् । स्टसरसँगै इरानीले पनि सेमिफाइनल यात्रा तय गरिन् । इरानीले जर्मनीकी एन्जेलिक केल्बरलाई ६–३, ६–१ ले पराजित गरिन् । सेमिफाइनलमा यी दुई खेलाडी नै भिड्नेछन् ।
युएस ओपन च्याम्पियनसमेत रहेकी २३ वर्षीय स्टसरले खेलपछि प्रतिद्वन्द्वीबारे भनिन्, ‘छरितो खेलाडी सिबुल्कोभासँग खेल्नु साँच्चै कठिन हो ।’ प्रेmन्च ओपनमा यी दुवै खेलाडीले पछिल्ला केही वर्ष राम्रो प्रदर्शन गर्दै आएका थिए । सन् २०१० मा स्टसरले फाइनलको यात्रा तय गरेकी थिइन् । उनी इटालीकी फ्रान्सेस्का साचियभोनसँगै पराजित हुँदै उपाधिविमुख भएकी थिइन् । गत वर्ष सिबुल्कोभा सेमिफाइनलमा पराजित भएकी थिइन् ।
पुरुषतर्फ कीर्तिमानी खेलाडी राफेल नाडाल क्वार्टरफाइनलमा प्रवेश गरे । नाडालले अर्जेन्टिनी खेलाडी हुवा मोनाकोलाई ६–२, ६–०, ६–० ले पराजित गरे । क्वार्टरफाइनल प्रवेश गर्ने नाडाल तेस्रो स्पेनिस खेलाडी हुन् । यसअघि निकोलास अल्मागारो र डेविड फेरर क्वार्टरफाइनल प्रवेश गरिसकेका छन् । फेरर स्पेनकै मार्सेल ग्रोनल्सलाई ६–३, ६–२, ६–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए । अल्मागारोले सर्बियाका जान्को टिपर्सेभिकलाई ६–४, ६–४, ६–४ ले पराजित गरे ।
फ्रान्सका रिचर्ड गास्केटलाई १–६, ६–४, ६–१, ६–२ ले पराजित गर्दै एन्डी मर्रे पनि क्वार्टरफाइनलमा प्रवेश गरे । स्कटिस खेलाडी मर्रेले सेमिफाइनल प्रवेशका लागि फेररसँग खेल्नेछन् भने नाडाल र अल्मागारोबीच खेल हुनेछ । क्वार्टरफाइनलमा जो वेलफ्रेड सोंगा र अर्जेन्टिनाका हुवा मार्टिन डेल पोर्टो पनि प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया