७० प्रतिशत तेल कटौती


काठमाडौं, २४ जेठ । नेपाल आयाल निगमले पेट्रोलियम आपूर्तिमा ७० प्रतिशत कटौती गरेपछि निजी पेट्रोलपम्पले उपभोक्ताको चाप धान्न नसक्ने भएका छन् । भारतीय आयल निगम (आइओसी) लाई तिर्नुपर्ने बक्यौता रकम बढी भएको तथा पेट्रोलियम खरिदमा लागि रकम अभाव भएको भन्दै निगमले आपूर्ति कटौती गरेपछि यस्तो अवस्था देखिएको हो ।
पेट्रोलियम पदार्थको अभाव चर्केपछि मंगलबार नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनले पत्रकार सम्मेलन गरी तेल आपूर्तिको अवस्था नाजुक भएको बतायो । एसोसियसनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले अहिले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति चुस्त हुन नसकेको बताए । उनले मागका ३० प्रतिशतसम्म पनि आपूर्ति हुन नसकेकाले चाप धान्न नसक्ने  अवस्था आएको दावी गरे ।
बिक्रेताले पाएको ३० प्रतिशत पेट्रोलियम पदार्थ पनि शान्ति सुरक्षा तथा बिक्री स्थलमा हुने अत्यधिक चापले बिक्रीवितरण गर्न नसकिने स्थिति पैदा भएको उनको भनाइ छ । यही अवस्था रहे निजी बिक्रेता पम्प बन्द गर्न बाध्य हुने उनले बताए । निगममा भएको राजनीतिक हस्तक्षेपकै कारण निगमको घाटा अत्यधिक भएको तथा पेट्रोलियम आपूर्तिमा समस्या आएको प्रधानको भनाइ छ ।
एसोसियसनका महासचिव विश्वप्रसाद अर्यालले सरकराले पेट्रोलियम बिक्रेता र पम्पलाई डिजेल उपलब्ध गराउन नसकको बताए । उनले यस्तो अवस्था जारी रहे मुलुकमा थप संकट सिर्जना हुने दाबी गरे । एसोसियसनका अनुसार आयल निगमको थानकोट डिपोले मंगलबार अहिलेसम्मकै कम परिमाणमा डिजेल र पेट्रोल वितरण गरेको छ । थानकोट डिपोबाट मंगलबार २० किलो लिटर डिजेल र ५८ किलो लिटर पेट्रोल वितरण भएको छ । यसमध्ये नेपाली सेना र प्रहरीको पम्पलाई आठ किलोलिटर र सशस्त्र प्रहरीको पम्पलाई चार किलोलिटर दिएको व्यवसायीले बताए । निजी पम्पले भने तेल नै नपाएको एसोसियसनले जनाएको छ ।
पेट्रोलियम पदार्थमा अत्यधिक मात्रामा कर लगाउँदै आएको, खरिद मूल्यभन्दा बिक्रीमूल्य कम भएपछि आइओसीको बक्यौता रकम अत्यधिक वृद्धि भएको व्यवसायीको भनाइ छ । लोडसेडिङका कारण इन्धनको एकमात्र विकल्प पेट्रोलियम पदार्थको अभावले कृषि क्षेत्र, विकास निर्माणका कार्यका साथै दैनिक सवारीसाधन सञ्चालनमा तथा अत्यावश्यक सेवामा प्रयोग हुने जेनेरेटरलगायत सबै कार्य सञ्चालनमा समेत समस्या भएको अध्यक्ष प्रधानले बताए ।
यता आयल निगमले समेत बक्यौता तिर्न सरकारले उचित व्यवस्था नगरिदिएका कारण आपूर्तिमा गम्भीर समस्या आएको जनाएको छ । उसले आइओसीको बक्यौता बढी भएकाले उधारोमा तेल ल्याउन नसक्ने जनाउँदै आएको छ । बिक्री मूल्यभन्दा खरिद मूल्य बढी भउकाले निगमको घाटा बढ्दै जाँदा बक्यौतासमेत बढेकाले सहज आपूर्तिमा समस्या भएको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले बताए । निगमको घाटा विगत महिनाभन्दा कमी भए पनि आइओसीलाई तिर्नुपर्ने बक्यौता भने बढ्दै गएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र पेट्रोलियम पदार्थको आपूर्ति कटौतीले नेपाल आयल निगमको मासिक घाटामा केही कमी आएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य गिरावट, भारतीय आयल निगम (आइओसी) लाई बक्यौता रकम पठाउन नसक्दा आपूर्तिमा भएको कटौती तथा खपत घटेपछि अघिल्लो महिनाभन्दा निगमको मासिक घाटामा ४४ करोड कमी आएको निगमले जनाएको हो ।

प्रतिक्रिया